Wednesday, October 23, 2024

मोदीलाई मौसमको कत्तिको चुनौती?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २ दिने नेपाल भ्रमणको क्रममा शुक्रबार प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा आइरहँदा सुरक्षाको चर्चा भइरहँदा मौसमले कत्तिको चुनौती देला भन्ने विषय पनि बाहिर आएको छ।

उनलाई स्वागत गर्न जनकपुरमा बनाइएका स्वागत गेटसहितका संरचना हावाहुरीले भत्काइदिनु र उनी जाने भनिएको मुस्ताङमा हिमपात पर्नुले मौसम अनुकुल नरहेको पनि विश्लेषण भइरहेको छ।

अहिले प्रि–मनसुमको समयमा वर्षा मात्र होइन नेपाल र भारतमा हावाहुरीका कारण कतिपयको ज्यान गइसकेको छ। यो अवस्थामा मौसम पूर्वानुमान नमिलेको भन्नेहरु पनि उत्तिकै छन्।

छिमेकी मुलकका प्रधानमन्त्री नेपालमा आउनै लाग्दा त्यो समयमा यहाँको मौसम कस्तो होला? चाँसोको विषय बनेको छ। यही प्रश्न हामीले जल तथा मौसम विज्ञानविभागकी मौसमविद् शान्ति कँडेललाई सोध्यौं। उनले भनिन्, ‘मौसममा क्रमिक सुधार भइरहेको छ। मौसम त्यति प्रतिकुल नरहला।’

मोदी नेपाल भ्रमणको क्रममा जनकपुर, काठमाडौं र मुक्तिनाथको भ्रमण गर्नेछन्।

जनकपुरमा शुक्रबार सामान्यतया मौसम सफा रही केही बेर आंशिक बदली हुने मौसमविद् कँडेलले बताइन्।

यसअघि बुधबार बिहानै आएको भिषण हावाहुरीले जनकपुर नगरक्षेत्रमा भारतीय मोदीको स्वागतका लागि बनाइएका अधिकांश स्वागतद्वार भत्काइदिएको थियो।

यस्तै नागरिक अभिनन्दनस्थलको मैदानलाई पनि प्रभावित गरेको थियो। सडकमा समेत पानी जम्दा सरसफाइ तथा व्यवस्थापनको काम प्रभावित भएको छ।

जनकपुरपछि मध्यान्ह काठमाडौंमा पुग्ने मोदीको यहाँ बसाइँको क्रममा आंशिक बदली भइ क्षणिक वर्षा हुने सम्भावना रहेको मौसमविद् कँडेलले बताइन्। ‘काठमाडौंमा आंशिक बदली भइ क्षणिक वर्षा हुने सम्भावना छ,’ उनले भनिन् ‘ मोदी आउँदा त्यस्तो धेरै मौसममा खराबी हुँदैन।’

काठमाडौं बसाइँपछि मोदी शनिबार बिहानै मुस्ताङको मुक्तिनाथको दर्शन गर्न जाने कार्यक्रम छ। मुस्ताङमा मंगलबार र बुधबार भारी हिमपात भएका कारण धेरैले यहाँको मौसमलाई चासोका साथ हेरिरहेका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार उपल्लो मुस्ताङमा हल्का हिमपात हुने सम्भावना भने कायमै छ । ‘मुस्ताङमा क्षणिक वर्षा र उपल्लो मुस्ताङमा हल्का हिमपातको सम्भावना छ,’ उनले भनिन्‘ तर त्यत्ति बाक्लो हिमपात र हावाहुरीको सम्भावना छैन।’

काठमाडौंमा पनि आंशिक बदली भई शुक्रबार र शनिबार पानी पर्ने संभावना रहेको विभागको पुर्वानुमान छ ।

मोदीको नेपालका रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गर्ने कार्यक्रम छ। जनकपुरको जानकी मन्दिरमा विशेष पूजाअर्चना गर्न प्रधानमन्त्री केपी शर्मा ओली र उनका समकक्षी मोदी जानेछन्। जानकी मन्दिरमा मोदीले करीब ३० मिनेट विशेष पूर्जाअर्चना गर्ने प्रदेश २ को सरकारले जनाएको छ। पूजा पछि ओली र मोदीले जानकी मन्दिर परिसरबाटै रामायण सर्किटको उद्घाटन गर्ने कार्यक्रम छ। त्यस लगत्तै मोदीलाई जनकपुरको रंगभूमि मैदानमा नागरिक अभिनन्दन गरिनेछ।

राजधानीको बसाइँका क्रममा उनलाई काठमाडौं महानगरपालिकाले अभिनन्दन गर्दैछ। उनले अभिनन्दनसँगै र सम्बोधन, अरुण तेस्रो जलविद्युत् तथा काभ्रेको पनौतीमा भारतीय सहयोगमा बन्ने प्रहरी प्रतिष्ठान शिलान्यास गर्ने कार्यक्रम छ । लैनचौरस्थित भारतीय दूतावासमा दिवाभोजसहित सम्मान, गार्ड अफ अनर, राष्ट्रपतिको दिवा भोजलगायतका कार्यतालिका छ।

ताजा समाचार

सम्बन्धित समाचार