अतिक्रमण हटाइएको क्षेत्रलाई हरियाली बनाइने

काठमाडौं – काठमाडौं महानगरपालिकाले अतिक्रमण हटाइएको क्षेत्रलाई हरियाली बनाउने भएको छ ।
महानगरले बुधबार मात्र तीनकुने पार्कका व्यवसायले पैदल मार्गमा राखेका फलामे डण्डी र इँटा हटाएको थियो । नगर प्रहरी नायव उपरीक्षक दीनेशकुमार अर्यालको नेतृत्वमा गएको प्रहरी टोलीले व्यवसायी आफैंलाई सामान उठाउन लगाएर अतिक्रमित सडक खाली गराएको थियो ।

काठमाडौं महानगरपालिकाका नगर प्रमुख विद्यासुन्दर शाक्यले सडकमा सामग्री राखेर प्रदूषण नगर्न व्यापारीहरुलाई आग्रह गरेका छन् ।

इँटा, सिमेन्ट, फलामे रड तथा सिमेन्टको धुलोले वातावरण प्रदूषण गरेको भन्दै महानगरले यस्ता सामग्री हटाउने अभियान थालेको नगर प्रमुख शाक्यले बताए ।

तीनकुने पार्कबाट मीन भवनतर्फ लाग्दाको सडक दायाँ भागमा आधा दर्जन बढी यस प्रकारका व्यवसाय सञ्चालनमा छन् ।