काठमाडौँ– नेपाली सेनाले निर्माणाधिन कालीगण्डकी करिडोर अन्तर्गतको सडक खण्ड हस्तान्तरण गरेको छ ।
परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको एक विशेष कार्यक्रम बीच प्रधानसेनापति पूर्णचन्द्र थापाको उपस्थितीमा ईन्जिनियर विभाग प्रमुख प्राविधिक उपरथी रामधर सिंहबाट हस्तान्तरण गरिएको हो ।
कालीगण्डकी करिडोर आयोजना अन्तर्गत गुल्मीकोरुद्रवेनीदेखि अर्वेनीसम्म (२० कि.मि.) र बाग्लुङ्गको मालढुङ्गादेखि बलेवा एयरपोर्टसम्म (१० कि.मि.) सहित जम्मा ३० कि.मि. सडक डिभिजन कार्यालय पाल्पालाई हस्तान्तरण गरिएको सेनाले जनाएको छ ।
त्यसैगरी आज मंगलबार परराष्ट्रमन्त्री ज्ञवाली, राष्ट्रिय सभाका सदस्य दिनानाथ शर्मा, प्रधानसेनापति महारथी पूर्णचन्द्र थापालगायतको निरीक्षण भ्रमण टोलीबाट नेपाली सेनाद्वारा निर्माणाधिन कालीगण्डकी करिडोरको स्थलगत निरीक्षण पनि गरेका थियो ।
उक्त सडक हस्तान्तरण कार्यक्रममा आफ्नो मन्तव्य राख्दै मन्त्री ज्ञवालीले नेपाली सेनाले विकास निर्माणका जोखिमपूर्ण अवस्थामा कठिन कार्यहरु गर्दै गरेको साथै महत्वपूर्ण घडीमा समेत राष्ट्रलाई सहयोग गर्दै आएको बताए । यस कालीगण्डकी करिडोर पनि त्यसको ज्वलन्त उदाहरण भएको उनको भनाई थियो ।
कालीगण्डकी करिडोरलाई मित्रराष्ट्र चीन र भारतसँग जोड्ने सामरिक महत्वका योजनाका रुपमा रहेकोले मुलूकको आर्थिक सम्वृद्धिमा भाग्यरेखाको कार्य गर्ने विश्वास उनले व्यक्त गरे ।
‘अब हामीले दुई छिमेकी राष्ट्रको आर्थिक विकासबाट लाभ लिएर नेपालको आर्थिक उन्नतिमा लाग्नु पर्छ,’ उनले भने ।
सोही क्रममा प्रधानसेनापति थापाले आफ्नो मन्तव्यमा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्ने गहन जिम्मेवारी नेपालको संविधानले नेपाली सेनालाई प्रदान गरेको बताए ।
साथै विपद् व्यवस्थापन र राष्ट्र निर्माण लगायतका नेपाल सरकारले तोकेका कानुनसम्मत थप कार्यहरू समेत आफ्नो संवैधानिक जिम्मेवारीहरू रहेको बताए ।
उक्त कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्यहरू, भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्की, सडक विभागका महानिर्देशक केशव शर्मा, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरू, स्थानीय तहका जनप्रतिनिधिहरू, अन्य सुरक्षा निकायका स्थानीय प्रमुखहरू, विभिन्न मिडियाका सञ्चारकर्मीहरूलगायत स्थानीयहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।
नेपाल सरकारबाट २०७० वैशाख २० गते उक्त करिडोर अन्तर्गतको सडक निर्माणको जिम्मा पाएको सेनाले रिडिदेखि रुद्रवेनीसम्मको ७ कि.मि. सडक खण्ड ०७५ फाल्गुण १ गते सडक डिभिजन कार्यालय पाल्पालाई हस्तान्तरण गरेको थियो ।