ऊर्जा मन्त्रीद्वारा जलविद्युतमा लगानी गर्न बेलायतलाई आग्रह


काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले नेपालको जलविद्युत र सौर्यऊर्जामा लगानीका लागि बेलायतसँग आग्रह गरेका छन्।

सिंहदरबारस्थित ऊर्जामन्त्रालयमा सोमबार ब्रिटिस संसदीय प्रतिनिधिमण्डलले गरेको भेटवार्तामा मन्त्री पुनले नेपालमा स्थायी सरकार बनेकाले अब जलविद्युत र सौर्यऊर्जामा लगानी भित्र्याउने सरकारको योजना रहेको बताए।

भेटमा उनले आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने योजना रहेको ब्रिटिस संसदीय प्रतिनिधि मण्डलको टोलीलाई सुनाउँदै ‘उक्त लक्ष्य पूरा गर्न निजीसँगै विदेशी लगानीकर्ताको जरुरी रहने’ बताएको मन्त्री पुनका प्रेस संयोजक रोशन खड्काले जानकारी दिए।

बेलायती सांसदहरू डेभिड मोरिस, विरेन्द्र शर्मा, केरी मेकर्थी, लोर्ड बाल्फे र लोर्ड ढोलकिया सम्मिलित टोलीले जलविद्यतुसँगै सौर्यऊर्जामा लगानीको चाहाना देखाएका थिए।

मन्त्री पुनका प्रेस संयोजक खड्काले हाकाहाकीसँग भने, ‘बेलायती सांसदहरूले नेपालको जलविद्यु्तसँगै सौर्यऊर्जामा सरकारको नीति र योजना, जलविद्युतको अवस्था, जलविद्युतले वातावरणमा पारेको असर र त्यसको रोकथामका लागि सरकारले अघि सारेका कदमबारे बढी चाँसो राख्नुभएको थियो। मन्त्रीज्यूले ती क्षेत्रमा अधिकतम लगानी भित्र्याउने सरकारले नीति अबलम्बन गरेको बताउनुभयो।’

भेटमा बेलायती सांसद निजेल इभान्सले नेपालको विकासमा बेलायत सहयोग गर्न तयार रहेको धारणा राखेका थिए।

तस्बिर सौजन्य : ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनको निजी सचिवालय