Wednesday, October 23, 2024

पत्रपत्रिकामा वातावरण समाचारः अवैध क्रसर उद्योगको दबदबा

काठमाडौं । आजका दैनिक पत्रिकाले अवैध क्रसर उद्योग, हनुमन्ते सफाइ क्रममा ४ डोको कन्डम भेटिएको, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई मध्यनजर गर्दै सरसफाइलाई तीव्र पारिएको लगायतका समाचार प्रकाशित गरेका छन् ।
‘अवैध क्रसर उद्योगको दबदबा’ शीर्षकमा नागरिक दैनिकमा खबर छापिएको छ । विसं २०६६ अघि दर्ता अनुमति पाएका बाँकेका अधिकांश क्रसर उद्योग नवीकरण भएका छैनन्, नयाँ उद्योगले त झन् दर्ता अनुमानित नै पाएका छैनन् । तर जिल्लामा क्रसर उद्योगको दबदबा यथावत छ । यो खबर अर्जुन ओलीले नेपालगञ्जबाट समाचार लेखेका हुन् ।
‘चीनलाई दिइने गैंडा नियन्त्रणमा’ शीर्षकको समाचार चितवनबाट सविता श्रेष्ठले लेखेकी छिन् । छिमेकी मुलुक चीनलाई उपहार दिन बिहीबार चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्र सुखीभारबाट बिहान पोथी गैंडा नियन्त्रणमा लिएको हो ।
सविता श्रेष्ठले नै ‘बाघलाई बाघकै डर’ शीर्षकमा अर्काे समाचार लेखेकी छन् । बाघ र गैंडाका यी समाचार अन्य पत्रपत्रिकाले यसअघि नै प्रकाशित गरिसकेका छन् ।
यसैगरी मलेखु नजिकै त्रिशुली नदीमा एक साताअघि पल्टिएको ग्यास बुलेटबाट ग्यास चुहिना थालेको खबर पनि नागरिक दैनिकमै छ । ‘जुम्लामा व्यावसायिक टर्कीपालन’ शिर्षकमा डिबी बुढाले जुम्लाबाट लेखेको समाचार नागरिकको आर्थिक पृष्ठमा छापिएको छ ।
राजधानी दैनिकमा ‘हनुमन्ते सफाइ क्रममा ४ डोको कन्डम भेटियो’ शीर्षकमा समाचार प्रकाशित भएको छ । बलराम प्यासीले लेखेको समाचारमा, ललितपुर महालक्ष्मी नगरपालिका इमाडोल, काठमाडांै नरेफाँट र भक्तपुर लोकन्थली सीमास्थित हनुमन्ते नदी सफाइ क्रममा ‘सिल ’ नखोलिएको करिब ४ डोको कन्डम फेला परेको जनाइएको छ ।
यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिकाले सरसफाइलाई तीव्र बनाएको छ । सडक छेउको पेटीमा रंगरोृगन र सडक आसपासको धुलो सफा गर्ने काम भइरहेको छ । यसैगरी जनकपुरधाममा पनि सफाइ अभियान तीव्र पारिएको छ । आउने बैशाख २८ गते मोदीले जनकपुरबाट नेपाल भ्रमण सुरु गर्नेछन् ।
यसैगरी वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतसँग वन तथा वातावरण क्षेत्रका समसामयिक विषयमा गरिएको कुराकानीलाई राजधानीले पृष्ठ ७ मा प्रकाशित गरेको छ । पत्रकार सविन शर्मासँग गरिएको अन्र्तवार्तामा मन्त्रले वन तथा वातावरण क्षेत्रका सिन्डिकेटका पनि तोडिने बताएका छन् ।
कान्तिपुर दैनिकमा ‘विषादी प्रयोगले किसान ,माटो र उपभोक्तामा असर’ सम्बन्धी समाचार छ । रुपन्देहीको सुर्यपुराको खबरलाई अमृत अनमोलले लेखेकी छिन् । केरा फँड्ेमाथि कारबाही गर्ने कृषिमन्त्री चक्रपाणी खनालले बताएको खबर पनि कान्तिपुरमै छ ।
विभिन्न हिमाल आरोहण क्रममा राज्यकोषमा जम्मा भएको करोडौँ धरौटी रकम पर्यटन विभागले एनजीओको सिफारिसमा फिर्ता दिने गरिएको खबर अन्नपूर्णपोष्टमा छेटु शेर्पाले लेखेका छन् ।
‘बर्दियाका कृष्णसार जोगाउन उच्चस्थली निर्माण’ शीर्षकमा यज्ञप्रसाद सापकोटोले लेखेको समाचार नयाँ पत्रिकामा प्रकाशित छ । यसैगरी बाग्लुङको सदरमुकामका धाराबाट लेदो पानी आउँदा उपभोक्ता मारमा परेको खबर पनि छापिएको छ । जसलाई नारायण रिजालले लेखेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार