Wednesday, October 23, 2024

यातायात समितिका ७१ जना पक्राउ

काठमाडौं – यातायात क्षेत्रमा हड्ताल गरेर कानुन उल्लंघन गरेको अभियोगमा प्रहरीले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलासहित ७१ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गृह मन्त्रालयको निर्देशनपछि सरकारले यातायात समितिका पदाधिकारीलाई धमाधम पक्राउ गर्न सुरु गरेको हो ।

रिपोर्टर्स् नेपालको साक्षात्कार कार्यक्रममा भाग लिन क्लबको कार्यालयमा पुगेका सिटौलालाई सादा पोषाकमा आएका प्रहरीले पक्राउ गरेका थिए । पक्राउ परेका सिटौलालाई महानगरिय प्रहरी परिसर टेकु राखिएको प्रहरीले जनाएको छ ।

त्यस्तै इलाका प्रहरी कार्यालय बुटवलले पश्चिम नेपाल बस व्यवसायी संघका उपाध्यक्ष र महासचिवलाई पक्राउ गरेको जनाएको छ । संघका उपाध्यक्ष जीवन बन्जाडे र महासचिव पदम गाहा मगरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

त्यसैगरी पक्राउ पर्नेमा हेटौंडामा टेम्पो तथा मझौला यातायात व्यवसायी संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, सदस्यहरु कृष्ण श्रेष्ठ र कृष्ण न्यौपाने रहेका छन् । प्रहरीले लमजुङ यातायात समितिका अध्यक्षसहित ५ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले लमजुङ कालिका यातायात संचालक समितिका अध्यक्ष कृष्णबहादुर अधिकारी, वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद घिमिरे, उपाध्यक्ष विश्वम्भर अर्याल, सचिव मृगेन्द्र घिमिरे र सदस्य रेशम दनाइँलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सार्वजनिक सवारी साधन संचालनमा रोक लगाएको भन्दै उनीहरुलाई बेंसीसहरको बजारक्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गृहमन्त्री थापाले अत्यावश्यक सेवा ऐन २०१४ अनुसार सार्वजनिक सवारी साधन सञ्चालन नगर्ने व्यवसायीलाई पक्राउ गर्न निर्देशन दिएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार