Wednesday, October 23, 2024

असिनापानीले करोडौंको तरकारबाली नष्ट

पाल्पा । पाल्पामा असिनापानीले करौडौँको तरकारी बालीमा नोक्सानी पु¥याएको छ । तीन दिनअघि आएको ठूलो असिनापानीले कृषकले लगाएको मकैबाली, तरकारी, सुन्तला, काफल, लिची नष्ट पारेको हो ।

जिल्लाको मदनपोखरा, चिदिपानी, पोखराथोक, अर्गली लगायतका क्षेत्रका असिनापानीले बढी नोक्सान पु¥याएको छ । तानसेन नगरपालिका–१४ अर्गली बस्ने कृषक निर्मल रानाले २० रोपनी जमिनमा लगाएको काँक्रा, सिमी, करेला असिनाले हिर्काएर नष्ट हुँदा करीब ६ लाख बराबरको नोक्सानी भएको वताए ।

तानसेन नगरपालिका–९ का धुव्रराज भण्डारीले २३ रोपनी जमिनमा लगाएको तरकारी बाली असिनाले नष्ट गर्दा १० लाख बराबरको क्षति पुगेको दावी गरे । तानसेन नगरपालिका–७ कुन्सरेका अनिल थापाको २० रोपनीमा लगाएको खुर्सानी, टमाटर, काँक्रा नष्ट हुँदा रू आठ लाख बराबरको क्षति भएको छ । पन्ध्र वर्षयता ठूलो असिनापानी परेकाले यस वर्ष बालीनालीमा ठूलो नोक्सान पुगेको कृषकहरूको भनाई छ ।

तानसेन नगरपालिकाभित्र मात्र असिनापानीका कारण रू चार करोड ८० लाख बराबरको तरकारी क्षति भएको अनुमान छ । २०० हेक्टर क्षेत्रफलमा एक हजार ६०० मेट्रिक टन तरकारी असिनाले नष्ट गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन इकाई पाल्पाका वरिष्ठ कृषि विकास अधिकृत रामप्रसाद पाण्डेले जानकारी दिए । किसानले लगाएको ८० प्रतिशत तरकारी असिनाका कारण क्षति भएको प्रारम्भिक विवरण आएको छ ।

हालसम्म प्राप्त जानकारीअनुसार तानसेन नगरपालिका–९ दमकडामा ७० हेक्टरमा लगाएको तरकारी बाली नष्ट भएको छ भने वडा नं ७ सुन्दरगाउँमा ५० हेक्टर, वडा नं ८ को मदनपोखरामा २५ हेक्टर, वडा नं ६ को बर्तुङ्गमा २० हेक्टर, वडा नं १४ को अर्गलीमा १४ हेक्टर जमीनमा र अन्य वडामा गरी २०० हेक्टर क्षेत्रफलमा लगाएको तरकारी खेती नष्ट भएको छ ।

यसले कृषकलाई झण्डै चार करोड ८० लाख बराबरको क्षतिको विवरण आएको वरिष्ठ कृषि विकास अधिकृत पाण्डेले जानकारी दिए । कृषकहरुले विशेषगरी बेमौसमी काँक्रा, करेला, सिमी, लौका, भन्टा, टमाटर, खुर्सानी, बोडी, बन्दा काउली, प्याज र लसुनको व्यावसायिक खेती गर्दै आएका छन् ।

फल लाग्दै गरेका सुन्तला, आँप, काफलमा पनि असिनापानीले पूर्ण रुपमा नष्ट गरेको छ । अत्यधिक असिनाको कारण व्यावसायिक रुपमा सुन्तलाको खेती गर्दै आएका छहरा अमलावास, भुवनपोखरी, मुझुङ, पालुङ्गमैनादी, बतासे, जल्पा लगायतका किसानको करोडौँ नोक्सान हँुदा कृषक चिन्तित भएका हुन् । भर्खरै खेतबारीमा उम्रेका मकैमा पनि असिनापानीले क्षति पु¥याएको छ । रासस

ताजा समाचार

सम्बन्धित समाचार