Wednesday, October 23, 2024

मौसमविद् भन्छन् : मौसम खुल्न अझै केही दिन लाग्छ

काठमाडौं–सामान्यत प्रि–मनसुनका बेला सानो क्षेत्रमा वर्षा र हावाहुरी, चट्याङ र गड्याङगुडुङ हुन्छ । तर यो वर्ष केही दिनयता दैनिक बर्षा भइरहेको छ ।

छिनमै घाम लाग्ने अनि छिनमै वर्षाद् हुने क्रम जारी छ । जलवायु तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् सुजन सुवेदी यसअघिका वर्षभन्दा यसवर्षको प्रि–मनसुन अलि फरक देखिएको बताउँछन् । ‘छिनमै बदली हुने, वर्षा हुने अनि छिनमै घाम लाग्ने देखिएको छ,’ वरिष्ठ मौसमविद् सुवेदीले भने, ‘सामान्यतयाः प्रि–मनसुनमा मेघ गर्जनसहित पानी पर्छ तर अहिले मनसुनमा झै वर्षा भएको छ ।’

मौसमविद्हरूका अनुसार पश्चिमी वायुको प्रभावसँगै न्यूनचापिय क्षेत्रमा रेखा बन्ने क्रममा मौसममा परिवर्तन आएको हो । प्रि–मनसुनमा बंगालको खाडीको मौसमले विशेषगरी पश्चिमी वायुमा प्रभाव पार्छ । बिहीबार विहान काठमाडौं उपत्यकासहितका क्षेत्रमा वर्षा भएको थियो ।

सुवेदीका अनुसार मौसम खुल्न अझै केही दिन लाग्नेछ । ‘अबको एक–दुई दिनसम्म मुलुकभरका धेरै ठाउँमा मौसम बदली भइ पानी पर्ने देखिन्छ,’ उनले भने, ‘त्यसपछि मौसम खुल्ने आँकलन गरिएको छ।’

विभागकी मौसमविद् मञ्जु वासीका अनुसार मार्च, अप्रिल र मे महिनालाई प्रि– मनसुनको समय मानिन्छ । मनसुन जुन १० बाट सुरु हुन्छ । तर नेपलमा एक साता ढिलो गरी मात्र मनसुन सुरु हुने गरेको विभागले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार