Tuesday, October 22, 2024

नेपालकै अग्लो ह्यात्रुङ झरनामा पानी सुक्यो

तेह्रथुम – जिल्लाको फेदाप गाउँपालिका वडा नं ४ र ५ को सिमानामा रहेको नेपालकै अग्लो ह्यात्रुङ झरनामा पानी सुकेको छ । झरनामा खसिरहेको पानी आसपासका वनमा रहेका अलैँची बगानमा सिँचाइका लागि लगिएपछि झरना पानी विहीन भएको छ ।

झरना हेर्न र रमाउनका लागि पुगेकाहरु अहिले निराश भएर फर्कने गरेका छन् । ह्यातुङ पनि भनिने तीनसय ६५ मिटर अग्लो उक्त झरनाको अस्तित्व खतरामा परेको विषयमा विभिन्न समयमा चर्चा हुने गरेपनि झरनाको संरक्षणमा सम्बन्धित निकायको ध्यान पुगेको छैन । झरनाको अस्तित्व नै वर्षेनी पानी सुकेर संकटमा पर्दै गएको छ । हिउँद लागेपछि झरनामा पानी सुकेको फेदाप गाउँपालिका–४ का वडाध्यक्ष नवीन चोङ्वाङले बताए ।

झरना आसपासमा रहेको अलैँची बगानमा सिँचाइका लागि स्थानीयवासीले पानी लगेपछि झरना पानीविहीन बनेको हो । झरनामा पानी ल्याएर लगाउने विषयमा छलफल भइरहेको वडाध्यक्ष चोङ्वाङले बताए । “झरना पूर्णरुपमा सुकिहाल्ने अवस्था त हैन, तर आसपासमा सिँचाइका लागि पानी लगिएपछि अहिले झरनामा पानी खसेको छैन”, उनले भने । दक्षिण एशियाकै आकर्षक र अग्लो यो झरनामा आवश्यक पूर्वाधार विकास र प्रचारप्रसारमा लगानी गर्न राज्यले उदासीनता देखाउँदा अस्तित्व नै मेटिने खतरा बढेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । रासस

ताजा समाचार

सम्बन्धित समाचार