Tuesday, October 22, 2024

राम्चेमा सामूहिक चौँरीपालन

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–८ राम्चेका युवा र प्रौढहरुले सामूहिक चौँरीपालन गरेका छन् ।

गाउँमै रोजगारी र आयआर्जनको अवसर सिर्जना गर्ने उद्देश्यले त्यहाँका युवा र प्रौढ प्रगतिशील बाबा समूहमा आबद्ध भएर सामूहिक चौँरीपालन गरेका समूहका अध्यक्ष गमबहादुर पुर्जाले जानकारी दिए ।

समूहको कोषमा रहेको रु चार लाख २० हजार लगानीमा कास्कीको घान्द्रुकबाट विसं २०७० मा १२ वटा चौँरी ल्याएर पाल्न थालिएको थियो । हाल चौँरीको संख्या बढेर ३२ वटा पुगेको छ । आठ वटा याक छन् । बाह्र वटा चौँरी ब्याउने छन् । चौँरीको संख्या वृद्धि गरी ८० वटासम्म पु¥याएपछि चिज उत्पादन गर्ने लक्ष्य रहेको अध्यक्ष पुर्जाले जानकारी दिए

पर्यटकीयस्थल र अन्तर्रा्ष्ट्रिय बजारमा चौँरी गाईको दूधबाट बनेको चिजको राम्रो खपत हुने गरेको छ । चिजका साथै याकको मासुसमेत बजारमा माग अत्यधिक छ । हाल एकजना कर्मचारी राखेर चौँरीको रेखदेख गरिँदै आएको छ ।

राम्चेको कालीदह, तिनपोखरे, मोहरेडाँडा, ढुङ्गाडाँडाको जंगल क्षेत्रमा चौँरीलाई चरिचरन गराइँदै आएको छ । चौँरीको गोठ सुधार, खोपलगायत प्राविधिक सेवाका लागि गाउँपालिका, वडा कार्यालय र पशु सेवा शाखाले सहयोग गरेका छन् । रासस

ताजा समाचार

सम्बन्धित समाचार