Tuesday, October 22, 2024

प्रि–मनसुनको प्रभावः छिनछिनमै मौसम परिवर्तन

काठमाडौं– प्रि–मनसुनका कारण काठमाडौंसहित मुलुकका विभिन्न क्षेत्रको मौसम छिनछिनमै परिवर्तन हुन थालेको छ ।

स्थानीय वायुको प्रभावका साथै न्युनचापीय वायुमण्डलको प्रभावले छिनछिनमै मौसम परिवर्तन हुनुका साथै वर्षा समेत हुने गरेको मौसमविद्हरूले जनाएका छन् ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु वासीका अनुसार मार्च, अप्रिल र मे महिनालाई प्रि–मनसुन हुने समय मानिन्छ । बिहीबार काठमाडौं उपत्यकामा बिहानैदेखि घाम लागे पनि दिउँसो हल्का वर्षा भएको उनले बताइन् । विभागका अनुसार पोखरामा पनि वर्षा भएको छ ।

प्रि–मनसुनका कारण विशेषगरी बिहान र बेलुका मौसममा परिवर्तन आउने गर्छ । तर, बिहीबार दिउँसो काठमाडौंमा घाम लागिरहँदा एक्कासी एकैछिनमा बादल मडारिएको थियो ।

अहिले प्रि– मनसुन जारी रहेकाले मौसममा आएको फेरबदल आधादेखि २ घण्टासम्म मात्र रहने गरेको उनले बताइन् । मौसमविद् मञ्जुका अनुसार प्रि –मनसुनमा बंगालको खाडीको मौसमले पनि प्रभाव पार्छ । ‘बंगालको खाडीको मौसम परिवर्तनले नेपालमा विशेषगरी पश्चिमी वायुमा प्रभाव पार्छ,’ उनले भनिन् ।

मनसुन जुन १० बाट सुरु हुन्छ । तर, नेपालमा एक साता ढिलो गरी मात्र मनसुन सुरु हुने गरेको विभागले जनाएको छ । यस वर्ष मनसुन सुरु हुने मिति सार्वजनिक भइनसकेको उनले बताइन् । ‘हामी अध्ययनको क्रममा छौं, चाँडै नै मिति सार्वजनिक हुन्छ,’ मञ्जुले बताइन् ।

ताजा समाचार

सम्बन्धित समाचार