Tuesday, October 22, 2024

डडेल्धुरामा खानेपानीका मुहान सुक्दै

गर्मी मौसमसँगै डडेल्धुराका विभिन्न स्थानमा खानेपानीका मुहान सुक्न थालेका छन् ।

पर्याप्त वर्षाको अभाव र जथाभावी सडक निर्माणका कारण खानेपानीको मुहान सुक्न थालेको सरकारी अधिकारी र स्थानीयले जानकारी दिएका छन् । नवदुर्गा गाउँपालिका, भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिकाका केही वडामा पानीको मुहान सुकेपछि स्थानीय चिन्तित हुन थालेका छन् ।
जलवायु परिवर्तनका साथै विकासको नाममा जिल्लाका ग्रामीण क्षेत्रमा हेभी इक्युपमेन्ट (डोजर)को प्रयोग गरी सडक निर्माण हुने क्रम वढेसँगै पानीका मुहान सुक्न थालेका हुन् ।
केही वर्षयता डडेल्धुरामा पानी सतह कम हुँदै गइरहेको जिल्ला खानेपानी डिभिजन कार्यालय, डडेल्धुराका प्रमुख राजकुमार शाक्यले वताए । जंगलमा जथाभावी सडक निर्माण हुनु र हेभी इक्युपमेन्टको प्रयोगले पानीको मुहानमा असर गरेकाले पानीमो मुल सुक्न लागेको विज्ञहरुको भनाई छ ।
डडेल्धुराका विभिन्न स्थानमा रहेका पँधेरा सुकी सकेका छन् भने केही सुक्ने अवस्थामा रहेका छन् । केही वर्ष यता पानीका मुहान सुक्नुका साथै पानीको सतह घटेसँगै अधिकांश खानेपानीका धारामा पानी आउन छोडेको छ । पानीका मुहान सुक्न थालेसँगै खानेपानीको अभाव हुन थालेपछि स्थानीय बासिन्दा चिन्तित वन्न थालेका छन् ।
खानेपानीका मुहानमा पानीको सतह कम भएसँगै जिल्लामा निर्माणका लागि सर्वे भएका केही खानेपानी योजनाको निर्माण कार्य बन्द भएको छ । खानेपानीको अभावसँगै स्थानीय बासिन्दा घण्टौँको दूरीबाट खानेपानी ल्याएर खान बाध्य भएका छन् ।
समयमै खानेपानीका मुहानको संरक्षण नगर्ने हो भने भविश्यमा खानेपानीको हाहाकार हुने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । खानेपानीका मूल संरक्षण नहुने हो भने जिल्लाका विभिन्न ठाउँमा पानी अभावको झन वढ्न सक्ने खानेपानी डिभिजन कार्यालय डडेल्धुराले जनाएको छ । रासस

ताजा समाचार

सम्बन्धित समाचार