Monday, October 21, 2024

हलेसीमा ‘डिप बोरिङ’ बाट खानेपानी

लामो समयदेखि पानीको अभाव रहेको धार्मिक एवं पर्यटकीयस्थल खोटाङको हलेसीमा ‘डिप बोरिङ’ बाट खानेपानीको व्यवस्था गरिएको छ ।
सुख्खाग्रस्त क्षेत्रमा पर्नेे हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको संगमलस्थल हलेसीमा मंगलबारदेखि डिप बोरिङमार्फत खानेपानीको व्यवस्था शुरु गरिएको हो । बसाहागुफादेखि केही माथि ड्रिलिङ मेसिन जडान गरेर निकालिएको खानेपानी केही तल निर्माण गरिएको २० हजार लिटरको ट्याङ्कीमा जम्मा गरेर वितरण शुरु गरिएको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले जानकारी दिए । ‘करिब १४ लाखको लागतमा योजना सम्पन्न भएको छ,’ उनले भने, ‘अहिले प्रतिसेकेण्ड आठ लिटरका दरले पानी निकालेर जम्मा गर्ने व्यवस्था गरिएको छ ।’

लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका हलेसीवासीका लागि तत्कालका लागि डिप बोरिङमार्फत जमिनमुनिको पानी निकालेर वितरण गरिएको खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय खोटाङका प्रमुख विजय ठाकुरले जानकारी दिए ।
‘खानेपानी अभावमा काकाकुल बनेका हलेसी क्षेत्रका करीब ३५० घर परिवार यो योजनाबाट लाभान्वित हुने अपेक्षा गरिएको छ,’ उनले भने, ‘योजनाले हलेसी आउने आन्तरिक तथा बाह्य पर्यटक र दर्शनार्थीलाई समेत सहज हुनेछ ।’

सुख्खाग्रस्त क्षेत्रमा पर्ने हलेसीमा सुनकोशी नदीको पानी लिफ्ट गरेर बजार क्षेत्रमा तान्ने आयोजनाको काम समेत शुरु गरिएको छ । नदीको पानी तान्ने आयोजनासँगै विकल्पमा डिप बोरिङ शुरु गरिएको नगरपालिकाले जनाएको छ । बाह्रै महिना पर्यटक तथा दर्शनार्थीको घुइँचो लाग्ने हलेसीमा यसअघिसम्म वर्षामा परेको पानी छानामा पाइप जडान गरेर संकलन गरेको तथा नदीबाट बोकेर ल्याएको पानी प्रयोग गरिँदै आइएको थियो ।
यसअघि हलेसी मन्दिरभन्दा केही तलको पानी लिफ्ट गरेर निकालिए पनि मुहानमा पर्याप्त पानी नहुँदा उक्त योजना असफल भएको छ । रासस

ताजा समाचार

सम्बन्धित समाचार