Monday, October 21, 2024

चौविसै घन्टा पानी उपलब्ध गराउने तयारी

बागलुङ नगरवासीलाई चौबिसै घण्टा खानेपानी उपलब्ध गराउन ‘लिफ्ट’ प्रणालीको आयोजना बन्ने भएको छ ।

स्थानीय काठे खोलाको पानीलाई विद्युतीय ऊर्जामार्फत तानेर बजार क्षेत्रमा पानी ल्याउन लागिएको हो । कूल रु ३२ करोड २५ लाखमा बन्ने सो आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ ।

दुई वर्षभित्रै आयोजनाको काम सक्ने गरी तयारी अघि बढाइएको छ । आउँदो साता आयोजना निर्माणका लागि बोलपत्र आह्वान हुने बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठले जानकारी दिए । ‘टेण्डर’ प्रक्रिया सक्नेबित्तिकै आयोजना निर्माण शुरु हुनेछ । काठेखोलाको पानीलाई ‘लिफ्ट’ प्रणालीबाट तानेर बागलुङ नगरपालिका–३ रात्माटामा पु¥याइने उनले जानकारी दिए ।

काठेखोलादेखि ७०० मिटर माथि रात्माटामा बन्ने पाँच लाख लिटर क्षमताको ट्याङ्कीबाट खानेपानी वितरण हुनेछ । कैलामपोखरीमा बन्ने प्रशोधन एकाइमा शुद्धीकरण भएको खानेपानी उक्त ट्याङ्कीमा जम्मा हुनेछ । आयोजनाबाट ६० हजार उपभोक्ता लाभान्वित हुने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख शेखरचन्द्र केसीले वताए ।

आयोजनाले नगरपालिकाका वडा नं १, २, ३ र ४ का उपभोक्तालाई चौबिसै घण्टा खानेपानीको सुविधा दिने लक्ष्य लिएको छ । बजार क्षेत्रबाहेकका गहते, बोक्से, सुल्डाँडा, रात्माटालगायत थप ९०० घरधुरीलाई खानेपानी उपलब्ध हुनेछ । हाल सञ्चालित आयोजनाबाट बजार क्षेत्रका तीन हजार २०० घुरधुरीले मात्र खानेपानीको सुविधा पाएका छन् । रासस

ताजा समाचार

सम्बन्धित समाचार