Thursday, September 19, 2024

चक्रपथमा एकैदिन ३ हजार बाेटबिरुवा रोपिने

काठमाडाैँ-वन तथा वातावरण मन्त्रालयले सङ्घीय राजधानीको बालकुमारी–कलङ्की चक्रपथ क्षेत्रमा हरियाली बनाउन बृहत् वृक्षरोपणको तयारी थालेको छ । मन्त्रालयको समन्वयमा वन तथा भू–संरक्षण विभागले चक्रपथका दुवै किनारामा गरी करीब तीन हजार ३०० राजवृक्ष, तेजपात, गिनको बाइलोलगायत बिरुवा रोप्न आवश्यक तयारी थालेको हो ।

असार १४ गते ‘राष्ट्रिय वृक्षरोपण दिवस’ का अवसरमा उक्त क्षेत्रमा उपलब्ध भएसम्म पाँच फिट अग्ला बिरुवा रोपिने विभागका उप–महानिर्देशक राजेन्द्र केसीले जानकारी दिए। ‘उपलब्ध भएसम्म सरकारी वनका नर्सरी र निजी नर्सरीबाट खरीद गरेर वृक्षरोपण गर्छौं, स्थानीय तह र सडक विभागसँग समन्वय गरी तयारी थालेका छौँ,’ उनले भने। चक्रपथ क्षेत्रको माटोमा ढुङ्गागिट्टीको मात्रा बढी भएकाले वृक्षरोपण गर्दा ५० सेन्टिमिटर चौडा तथा ५० सेन्टिमिटर गहिरो खाल्डो खनी सो खाल्डोमा प्राङ्गारिक मल र माटोले पुरेर मात्र वृक्षरोपण गरिनेछ ।

वृक्षरोपण गरिएका बिरुवाको संरक्षणका लागि स्थानीय तहका वडा कार्यालय, डिभिजन वन कार्यालय, सडक कार्यालय, स्थानीयवासी लगायतसँग समन्वय गरिने उप–महानिर्देशक केसीले बताउनुभयो । वृक्षरोपणलाई प्रभावकारी बनाउन विभागले यसअघि सरोकारवाला सङ्घसंस्थाका प्रतिनिधिसँग विभिन्न चरणमा छलफल गरिसकेको छ । सङ्घीय सरकारले आगामी आर्थिक वर्षलाई ‘वृक्षरोपण वर्ष’ घोषणा गरेकाले त्यसको पूर्वतयारीका लागि वृक्षरोपण गर्न लागिएको विभागले जनाएको छ । रासस

ताजा समाचार

सम्बन्धित समाचार