Thursday, September 19, 2024

सामुदायिक वनका पदाधिकारीले कर्मचारी कुटे

महेन्द्रनगर – कृष्णपुर नगरपालिकामा रहेको विशाल सामुदायिक वनका पदाधिकारीले वनका कर्मचारीमाथि कुटपिट गरेका छन् । सामुदायिक वनमा अवैध रुपमा भएको रुख कटानीको अनुगमनमा गएका कर्मचारीमाथि पदाधिकारीले कुटपिट गरेका हुन्।

सामुदायिक वनका अनुगमन संयोजक धनबहादुर ठकुल्ला र सह–सचिव रमेश बुढाले सव डिभिजन वन कार्यालय वाणीका वन रक्षक जोखनलाल कडरियालाई कुटपिट गरेको डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजन अधिकृत अजय बिक्रम मान्नधरले बताए । ‘सामुदायिक वनमा सालको रुख काटिएको थियो, त्यो रुख ठकुल्लाले वन कार्यालयसँग समन्वय नगरी काटेका थिए, त्यसको अनुगमनमा गएका वन रक्षकमाथि उनिहरूले कुटपिट गरेका हुन्,’ उनले भने,‘उनिहरूले वन रक्षकलाई सामुदायिक वनको कार्यालयमा कुटेका थिए ।’

कुटपिटबाट घाइते कर्मचारी

कुटपिट गर्ने व्यक्तिलाई कारबाहीको लागि अस्थायी प्रहरी पोष्ट वाणीमा उजुरी दिएको उनले बताए। उनीहरू अहिलेसम्म फरार रहेकोले प्रहरीले पक्राउ गर्न नसकेको उनको भनाइ छ।

वन कर्मचारीमाथि कुटपिट गर्ने पदाधिकारीलाई फौजदारी अभियोग लगाइने उनले बताए। कर्मचारी कुटिएको विषयमा प्रदेश वन निर्देशनालय सुदूरपश्चिममा समेत जानकारी दिएको उनी बताउँछन्।

‘यस विषयमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुर, कर्मचारीका संघ संगठनमा समेत जानकारी गराएका छौं,’ उनले भने।
सामुदायिक वनका पदाधिकारीको कुटपिटबाट वन रक्षक जोखनलाल कडरियाको छातीमा चोट लागेको डिभिजन वन अधिकृत मान्नधरले बताए । उनको अत्तरियाको एक अस्पातलमा उपचार भइरहेको छ। कुटपिट गर्ने सामुदायिक वनका पदाधिकारीको खोजी भइरहेको अस्थायी प्रहरी पोष्ट बाणीका प्रहरी सहायक निरीक्षक लायकराम कडरियाले बताए । ‘हामी उनीहरूलाई खोजी रहेका छौं, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र यहाँको टोलीले खोजी रहेको छ,’ उनले भने।

सामुदायिक वनका पदाधिकारीले काटे सालको ७ गोलिया काठ सव डिभिजन वन कार्यालय वाणीले बरामद गरिसकेको छ। वन रक्षक कडरिया सव डिभिजन वन कार्यालय वाणीमा कार्यरत छन् ।

ताजा समाचार

सम्बन्धित समाचार