Monday, October 21, 2024

महानगरको सोलारबत्ती जडानमा चरम लापरबाही

काठमाडौं महानगरपालिकाका विभिन्न स्थानका सडकमा सोलारबत्ती जडान गर्दा चरम लापरबाही भएको पाइएको छ ।

सार्वजनिक–निजी साझेदारी अवधारणा अन्तर्गत सोलार प्यानल जडानको जिम्मेवारी पाएको बिके ट्रेर्डसले सडकको संरचना बिगार्ने गरी एवं नाफालाई ध्यानमा राखेर सोलार बत्ती जडान गरेको जानकारी सरकारी अधिकारीहरुले दिएका छन् ।

लापरवाहीकै कारण म्याद सकिएको पाँच महिना वित्दा समेत काठमाडौं महानगरपालिकाले सो कम्पनीसँगको सम्झौताको म्याद थप गरेको छैन । सडकको मापदण्ड अनुसार सडकमा ३० देखि ५० मिटरको दूरीमा विद्युतीय पोल हुनुपर्ने हो तर मुख्य सडकमा २० देखि २५ मिटरको दुरीमा पोल गाडेको अनुगमनको क्रममा पाइएको छ ।

महानगरपालिकाका सहायक प्रवक्ता नमराज ढकाल त्रिपुरेश्वर–माइतीघर मण्डला सडकमा सोलार प्यानल १० देखि १५ मिटरको दूरीमा राखिएपनि केही ठाउँमा सोलार प्यानलको दूरी टाढा भएको र भत्काइएको फुटपाथ मर्मत नभएको गुनासो आएको छ । यो गुनासो महानगर प्रमुख विद्यासुन्दर शाक्य समक्ष पुगेपछि सो कम्पनीको म्यान नथपिएको हो ।

कमलपोखरी, ज्ञानेश्वर, डिल्लीबजार, मैतीदेवी लगायतका स्थानका सडकमा अव्यवस्थित रूपमा पोल गाडिएको भन्दै महानगरमा उजुरी परेको थियो । सडक संरचना नबिगार्न र फुटपाथ वा नालीमा नपर्ने गरी सोलार पोल जडान गर्न सडक डिभिजन कार्यालयले महानगरपालिकालाई पत्राचार गरेकाले पनि यो विषय थप पेचिलो वनेको छ । ढकालका अनुसारका यस सम्वन्धमा छिट्टै निर्णय लिइने छ ।

‘सम्झौताको म्याद थप भएन भने पनि आवश्यकता रहेको स्थानमा महानगरले आफैले सोलार प्यानल जडान गर्छ,’ उनले भने । काठमाडौं महानगरका नौ वटा सडकमा ८ कात्तिक २०७४ भित्र एक हजार दुई सय ८५ सोलार प्यानल जडान गर्ने सम्झौता भएको थियो । तर, आठ सय ६० वटा मात्र जडान भएका छन् । अझै चार सय ३५ सोलार प्यानल जडान गर्न बाँकी नै छ ।

बिके ट्रेर्डसका सञ्चालक रञ्जनदास श्रीवास्तवले फुटपाथ मर्मत भइसकेको र त्रिपुरेश्वर–माइतीघरमण्डला सडकमा सोलार प्यानलका पोल नजिक हुनुको कारण ‘विद्युत र टेलिकमका पोल, फुटपाथ नहुनु’ रहेको वताए ।

टे«र्डसले महानगरसँग गरेको अनुरोधपत्रमा ‘विद्युत प्राधिकरणको हाइटेन्सन लाइन, टेलिकमका खम्बा र केही ठाउँमा खम्मा गाड्न फुटपाथ नै नभएकाले तोकिएको अवधिभित्र सोलार प्यानल जडान गर्न नसकिएको’ उल्लेख छ ।

२४ करोड लगानी रहेको सोलारबत्ती जडान योजनाको लागत बिके टे«र्डसको रहेको र १० वर्षपछि महानगरलाई हस्तान्तरण गर्ने ढकालले बताए । एउटा सोलारबत्ती खम्बाको लागत एक लाख ९५ हजार रहेको छ ।

खम्बाको वार्षिक रोयल्टी ८ हजार ७ सय र बोर्डमा राखिएको विज्ञापनको वार्षिक कर ७ हजार २ सय रुपैयाँ राजस्व बिके ट्रेडर्सले काठमाडौं महानगरपालिकालाई बुझाउने सम्झौता छ । बाँकी विज्ञापनको रकम बिके टे«र्डसले असुल गर्नेछ ।

बिकेले कलंकी– त्रिपुरेश्वर– थापाथली चोक– माइतीघर चोकसम्म, केशरमहल, ठमेल– क्षेत्रपाटी चोकसम्म, सोह्रखुट्टे चोक– बालाजु चोक हुँदै नयाँ बस पार्कसम्म, दरबारमार्ग महेन्द्र सालिकबाट पूर्वतर्फ काठमाडौं प्लाजा– कृष्ण पाउरोटीसम्म सोलारबत्ती जडानको जिम्मेवारी पाएको थियो ।

यसैगरी, ज्ञानेश्वर चोक–मैतीदेवी चोक– डिल्लीबजार– पुतलीसडकसम्म, ज्ञानेश्वर चोक– मैतीदेवी– बत्तीसपुतलीसम्म, पुरानो बानेश्वर चोक– रत्न राज्यलक्ष्मी स्कुल– नयाँ बानेश्वर हुँदै शंखमुलसम्म, तीनकुने–कोटेश्वर– जडीबुटीदेखि–नरेफाँटसम्म र पुरानो बानेश्वर चोक–भीमसेनगोला– सिनामंगल चोकसम्मको सडकमा सोलारबत्ती जडानको सम्झौता भएको थियो ।

–यमबहादुर बम

ताजा समाचार

सम्बन्धित समाचार