चीनलाई उपहार दिने गैंडा खोज्न थालियो

काठमाडौं,७ वैशाख । चितवन राष्ट्रिय निकुञ्जले चीनलाई उपहार दिने एकसिंगे गैंडाको खोजी थालेको छ ।

एकदेखि डेढ वर्षसम्मका गैंडाको खोजी गर्न निकुञ्जले टोली खटाएको छ । टोलीले बिहीबारदेखि गैंडाको खोजी गर्ने थालेको हो । निकुञ्जका सुचना अधिकारी नुरेन्द्र अर्यालले चीनको वातावरणमा घुलमिल हुनसक्ने साना गैंडाको खोजी भैरहेको हाकाहाकीलाई वताए ।

‘ठुला गैंडा चीनको वातावरणमा धुलमिल हुनसक्दैन’ सुचना अधिकारी अर्यालले भने,‘एकदेखि डेढ वर्षका गैंडा अरु ठाउँको वातावरणमा पनि धुलमिल हुनसक्ने भएकाले साना गैंडाको खोजीमा टोली लागेको छ ।’उनले गैंडा एक हप्ता भित्रमा खोजी सक्ने जानकारी दिए ।

‘यो आर्थिक वर्षमा यी गैंडा पठाईसक्नुपर्ने भएकाले चितवनदेखि काठमाडौंसम्म लैजाने खोरको निर्माण समेत भैरहेको छ’ उनले भने । अर्यालका अनुसार चितवनदेखि ट्रकमा ती जोडी गैंडा काठमाडौं ल्याइने छ भने काठमाडौंदेखि चीनसम्मको गैंडा पु¥याउने जिम्मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले लिने छ ।

ओली नेतृत्वको सरकारले विसं २०७३ मा चीनलाई एकसिंगे गैंडा उपहार दिने निर्णय गरेको थियो तर ओली नेतृत्वको सरकार ढलेपछि त्यो प्रक्रिया अवरुद्ध भयो । भारतको पहिलो विदेश भ्रमणपछि यतिवेला प्रधानमन्त्री केपी ओली चीन भ्रमणको तयारीमा छन् ।

नेपालले सो प्रक्रिया अगाडी वढाएको जानकारी दिए लगत्तै चीनको एक सरकारी टोली आईसकेको छ । गैंडा समातेको हेर्नका लागि चिनियाँ टोली चितवन नै पुगेको छ । गैंडा चीनमा लगेपछि कसरी राख्ने तथा पालनपोषण गर्ने भन्ने जानकारीको लागि चिनियाँ टोली चितवन पुगेको हो ।