क्रसर उद्योग मापदण्ड विपरीत सञ्चालनमा

काठमाडौं उपत्यका र आसपासका जिल्लामा रहेका क्रसर उद्योगहरु वातावरणीय तथा अन्य मापदण्ड वितरीत सञ्चालन भईरहेको पाइएको छ ।

क्रसर सञ्चालन सम्बन्धी मापदण्ड २०७३ अनुसार नदी, खोलाको किनार र राजमार्गबाट ३०० मिटरभित्र क्रसर उद्योग राख्न पाइँदैन् तर सो मापदण्डको जताततै उल्लंघन भईरहेको छ । ‘सिन्धुपाल्चोकमा १०, धादिङमा २६, चितवनमा २, मकवानपुरमा १० र ललितपुरको लेले नल्लु क्षेत्रमा इजाजत नलिएका र नवीकरण नगरिएका समेत २० क्रसर उद्योग मापदण्ड विपरीत सञ्चालन भएको देखिन्छ,’ महालेखा परीक्षकको प्रतिवेदन २०७४ मा उल्लेख छ ।

यति मात्र होइन, सञ्चालनमा रहेका धेरै उद्योगहरुले समयमा नविकरण समेत गर्ने गरेका छैनन् । समयमा नविकरण गर्नुपर्ने कानुनी प्रावधान कार्यान्वयन हुन नसक्दा सरकारलाई लाखौं रुपयाँ राजश्व घाटा भईरहेको छ । घरेलु तथा साना उद्योग विभागले नवीकरण गर्न निर्देशन दिएपनि उद्योग सञ्चालक अटेर गरेर बसेका छन् ।

क्रसर उद्योग गर्दा प्रारम्भिक वातावरण परीक्षण प्रतिवेदनमा उल्लेखित सम्पूर्ण बुँदा अनिवार्य पालना गर्नुपर्ने, क्रसर मेसिनका लागि सेड राख्नुपर्ने, बफर जोनमा वृक्षारोपण गर्नुपर्ने, घनाबस्तीबाट कम्तीमा दुई किलोमिटर टाढा उद्योग स्थापना गर्नुपर्ने मापदण्डमा उल्लेख छ तर अनुगमनको क्रममा सो नपाइएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । उसो त सरकारी निकायले पनि क्रसर उद्योगहरुको प्रभावकारी अनुगमन गर्न सकेका छैनन् ।