Thursday, September 19, 2024

जीर्ण बन्दै पचली भैरव मन्दिर

काठमाडौँ – काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित पचली भैरव मन्दिर संरक्षण अभावमा जीर्ण बन्दै गएको छ।

विसं २०७२ को भूकम्पले मन्दिरमा क्षति पुगेपछि मन्दिर तथा त्यस आसपास क्षेत्रमा जोखिम बढेको छ। लामो समयदेखि सामान्य मर्मत तथा जीर्णोद्धार हुन नसकेकाले मन्दिरको अस्तित्व अहिले ओझेलमा परेको हो। करीब दुई वर्ष अगाडि मन्दिरको मूर्ति चर्किएको र पुरानो भएर बिग्रिएपछि ललितपुरको प्रयाग पोखरीबाट नयाँ मूर्ति निर्माण गरी प्रतिस्थापन गरिएको थियो। उक्त मूर्ति निर्माण गर्न पूर्वराजा ज्ञानेन्द्र शाहबाट आर्थिक सहयोग प्राप्त भएको जनाइएको छ। मुलुकमा राजसंस्थाको अस्तित्व कायम रहेको समयमा राजाले पचली भैरवसँग खड्ग साट्ने परम्परासमेत थियो।

मन्दिरमा रहेको घ्याम्पो आकारको पचली भैरवको मूर्ति दैवी शक्ति सिद्ध गर्न, कुनै पनि शुभकार्य तथा बल प्रयोग गरिने कार्यलाई पूरा गर्न विशेष पूजा गर्ने प्रचलन छ ।विशेषगरी दशैँको समयमा मूर्तिलाई खटमा सजाएर जात्रा निकाल्ने गरिन्छ। मन्दिरबाट नजिकैको दूरीमा मचली भैरवको मन्दिर छ। पचलीको उत्तराधिकारीका रुपमा मचली भैरवलाई लिइएको छ।

कामपा–१२ का वडाध्यक्ष विकास डङ्गोलले स्थानीय क्षेत्रका प्राचीन र महत्वपूर्ण सम्पदाको संरक्षण गर्ने परम्परादेखि चलिआएका जात्रापर्वलाई निरन्तरता दिन आवश्यक खर्चको व्यवस्थापन गरिने बताउँदै उक्त मन्दिर चालु आवभित्र जीर्णोद्धार शुरु गरिने जानकारी दिए। रासस

ताजा समाचार

सम्बन्धित समाचार