हामीले मंसिर २०७१ को हाकाहाकीमा ‘उफ् ! काठमाडौं’ शीर्षकमा आवरण कथा छापेका थियौं जसमा हामीले लेखेका थियौं – राजधानीमा बढ्दो वायु प्रदुषणका कारण सर्वसाधारणलाई सास फेर्नै सास्ती हुन थालेको छ । डेढ बर्षपछि आएर हामीले पुनः काठमाडौंको वायु प्रदुषणकाबारे यस अंकमा आवरण कथा तयार पारेका छौं किनभने राजधानीको वायु प्रदुषणको अवस्था सुध्रिनुको साटो झन्झन् खस्किँदो छ ।

त्यति बेला अमेरिकाको प्रतिष्ठित एल विश्वविद्यालयले १७८ देशमा गरेको वायु प्रदूषणको अध्ययनबाट काठमाडौं बंगलादेशको राजधानी ढाकापछि विश्वकै दोस्रो ठूलो प्रदूषित सहर भएको तथ्य सार्वजनिक भएको थियो । हालै मात्र पनि एउटा अध्ययनले काठमाडौंलाई तेस्रो प्रदूषित सहरका रुपमा चित्रित गरेको थियो जसलाई विज्ञहरु मान्न तयार छैनन् । बरु बिश्व स्वास्थ्य संगठनले पछिल्लो समय विश्वका २,९७३ शहरमा गरेको एक विस्तृत अध्ययनमा भने नेपाललाई २६१औं स्थानमा राखेको छ जुन विज्ञहरु आधिकारिक मान्छन् । तर, यसको मतलब काठमाडौंको वायु प्रदूषणको स्तर राम्रो छ भन्ने चाहिं होइन । हजारौं सा–साना शहरहरुको अध्ययनमा २६१औंमा पर्नु भनेको ठूला शहरमध्ये अहिले पनि काठमाडौं प्रदूषित शहर नै रहेको कुरामा दुईमत छैन ।

पछिल्लो समय सार्वजनिक भएका तथ्यांकहरुले काठमाडौंको नकारात्मक प्रचार भएको छ जुन सबैका लागि लाजमर्दो अवस्था हो । तर, यसलाई सत्य तथ्यका रुपमा ग्रहण गरी कसरी यो स्थितिमा सुधार ल्याउन सकिन्छ भनेर हामी सबैले सोच्नु नै अहिलेको आवश्यकता हो । नकारात्मक प्रचारलाई पाखा लगाउँदै वायुको स्तर सुधार्न सरकारलगायत सबै सचेत नागरिकले आ–आफ्नो क्षेत्रबाट योगदान पु¥याउनु पर्ने देखिन्छ ।

काठमाडौंमा वायु प्रदूषणका अनेक कारणहरु छन् । राजधानीमा अत्यन्त प्राणघातक बनिसकेको वायु प्रदूषणको प्रमुख कारण सडकको धुलो र सवारीसाधनबाट निस्कने धुवाँको मुस्लो नै हो । गएका दुई दशकमा राजधानी उपत्यकामा सवारीसाधनको सख्ंया तीनगुणा बढेको छ भने जनसंख्या पनि उही अनुपातमा वृद्धि भएको छ । तिनले निष्कासन गर्ने फोहोरमैला पनि बढेकै छ । उतिबेलाको तुलनामा सडक बढेको मात्र होइन सडकको अवस्था थप गएगुज्रिएको छ । त्यसबाहेक धुवाँधुलो निस्कासन गर्ने इँटाभट्टा, कलकारखाना, दाउरा बालेर निस्कने धुवाँको मात्रा पनि बढेको छ भने फोहोरमैला तह लगाउन बालिने आगोबाट समेत प्रदूषण झनै बढ्दो छ । त्यसबाहेक दिनको १२–१३ घन्टा हुने लोडसेडिङका बेलामा सहर बजार तथा उद्योगधन्दामा डिजेल, पेट्रोल र मट्टितेलबाट चलाइने जेनरेटरबाट निस्कने धुवाँको मुस्लो अतिरिक्त हो । राजधानीमा खपत हुने पेट्रोलियम पदार्थको दुई तिहाइ भाग जेनरेटर चलाउनमै खपत हुने गरेको अध्ययनले देखाउँछ । इन्धन प्रयोगले निस्कने धुवाँ सास फेर्दा सिधै जनसाधारणको फोक्सोमा परिरहेको छ । यसले मानव स्वास्थ्यमा कति गम्भीर असर पारिरहेको छ भन्ने थाहा पाउन देशका ठूला अस्पतालदेखि औषधिपसलमा लागेका बिरामीको लाम हेरे पुग्छ । रुघाखोकी, दम, छाती दुख्ने, रक्तचाप, मुटु, क्यान्सरलगायत स्वासप्रस्वासका रोग, एलर्जी, निमोनिया, ब्राेंकाइटिसले जनमानस आक्रान्त छन् जुन सम्बन्धित चिकित्सकहरु पनि स्विकार्छन् ।

बढ्दो सवारीसाधनले निष्काशन गर्ने धुँवाको स्तरको नियमित अनुगमन, र ठाउँठाउँमा राखिएका प्रदूषण मापन यन्त्रको नियमित संचालन गर्नुपर्ने आवश्यकता छ भने भुइँचालोपछि पुनर्निर्माणको क्रममा रहेका इँटाभट्टाहरुको अनुगमन गरी कम प्रदूषण हुने प्रविधि जडान गर्न बाध्यकारी नियमको जरुरी छ । जथाभावी रुपमा संचालनमा रहेका साना सार्वजनिक सवारीलाई विस्थापन गरेर दर्जनौंले एकैपल्ट प्रयोग गर्न सकिने ठूला बसहरुको संचालन पनि अहिलेको आवश्यकता हो । वायु प्रदूषणमा नेपालले कायम गरेको रेकर्ड सजिलै मेटाउन सकिँदैन । यसका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएर अगाडि बढ्नु जरुरी छ । अगाडि बढेको कागजपत्र बनाएर होइन, यसमा इमान्दारीको पनि उत्तिकै आवश्यकता देखिन्छ । सरकारको नेतृत्वमा बस्नेहरुले बेलाबेलामा बाँड्ने गरेको मेट्रो रेलको आश्वासन भन्दा पनि भएका साधनहरुको सहि उपयोगले पनि राजधानी काठमाडौंको वायु प्रदूषण कम गर्न सकिन्छ ।
वर्ष १५, अंक ४, असार २०७३