सुरेश किरण
माघ संक्रान्तिलाई आ–आफ्नै तरिकाले मनाउने विभिन्न समुदायहरू छन्, नेपालमा । खस पर्वतीयहरू मकर संक्रान्ति मनाउँछन्, थारूहरू माघी मनाउँछन् । काठमाडौं खाल्डोका नेवारहरू भने ‘घ्यःचाकु संल्हू’ मनाउँछन् । नेवार समुदायका अधिकांश पर्वहरू चन्द्रमास अनुसार मनाइने गरिन्छ । सौर्यमास अनुसार मनाइने थोरै मात्र पर्वहरूमध्ये घ्यःचाकु संल्हू पनि एक हो । यो हरेक वर्ष माघ १ गते नै मनाइन्छ ।

नेवार समुदायका केही पर्वहरू यस्ता पनि छन् जसको नामाकरण देवीदेवताको नामबाट होइन विभिन्न खानेकुराका नामबाट राखिएका छन्, जस्तो क्वाँटी पुन्हि, योमरी पुन्हि आदि । यही क्रममा जोडिन आउने एउटा विशिष्ट पर्व हो घ्यःचाकु संल्हू । घिउ र चाकु दुवै खानेकुरा, खानेकुराको नाम नै पर्वको नाम । नेवारहरू यो पर्वलाई घिउ, चाकु, तरुल, तिलको लड्डु आदि जस्ता खानेकुराहरू खाएर मनाउने गर्छन् । माघ महिना अत्यन्त जाडोको याम । साथै भर्खरै मात्र कृषिकार्य समाप्त भएको कारणले शरीरलाई उर्जाको पनि आवश्यकता पर्ने समय । चाकुले शरीरलाई ताप दिन्छ, तरुलले भूलवस शरीर भित्र पुगेका रौंलाई पनि पगालेर बाहिर निकाल्ने काम गर्छ । शायद घिउ र चाकुको महत्व दर्शाउन पनि पर्वको नामनै घ्यःचाकु संल्हू (संक्रान्ति) राखिएको हुनुपर्छ ।

जहाँसम्म घिउ र चाकु दुई परिकारको सन्दर्भ छ, नेपाली समाजमा घिउ सबै ठाउँमा बनाउने चलन छ । तर चाकु भने टोखा मै मात्र बनाउने गरिन्छ । पाल्पाको करुवा र खोकनाको तेल भने जस्तै टोखाको चाकु देशैभरि प्रख्यात छ । चाकु जहाँसुकै बनाएको भए पनि त्यसमा ‘मेड इन टोखा’ को ट्याग राखिएन भने चाकुबाट गुलियो गायब भए जस्तै लाग्ने गर्छ । चाकु उत्पादन नै टोखाको पहिचान पनि हो । माघे संक्रान्ति आउने बेला भयो कि टोखाभरि चाकु उत्पादनको मेला शुरु हुन्छ ।

त्यसो त टोखालाई काठमाडौं उपत्यका छिर्ने ‘उत्तरी ढोका’ भन्ने चलन छ । कुनैबेला काठमाडौं–तिब्बत ब्यापारको एउटा चल्तीको नाका यो पनि थियो । तर चाकु उत्पादनले यो ठाउँको अनौठो भौगोलिक अवस्थितिलाई पनि दर्शाउँछ । चाकु मूलतः चिसो ठाउँमा खाइने परिकार हो । चाकु बनाउन उखु चाहिन्छ । तर उखु भने गर्मी ठाउँमा उब्जनी हुन्छ । टोखामा बनाइने चाकुको लागि उखुको खेती पनि टोखा मै हुन्छ । आजभन्दा ९० वर्ष अघिसम्म पनि त्यहीं उत्पादित उखुबाट चाकु बनाउने गरिन्थ्यो । त्यतिबेला टोखामा त्यस्तो कुनै घर हुन्नथ्यो जसको उखुबारी नभएको होस् । उखुलाई नेपालभाषामा ‘तु’ भनिन्छ । ‘तु’ उब्जनी हुने ठाउँ भएको कारणले नै यो ठाउँको नाउँ ‘तुख्यः’ बाट ‘टोखा’ भएको हो ।

अहिले त उखु पेलेर रस निकाल्ने आधुनिक मेशिनहरू आएका छन् । तर टोखामा उखुबाट रस निकाल्ने आफ्नै मौलिक विधिहरू छन् । त्यसरी उखु पेलेर निकालिएको रसलाई ‘साखःति’ भनिन्छ । त्यही साखःति पकाएर चाकु बनाउने हो । चाकु बनाउने कारखानालाई ‘चाकु भुगाय्’ भनिन्छ । उखु पेल्नेदेखि चाकु बनाउनेसम्मको काम गर्न कम्तिमा ११ जना कामदार चाहिन्छ । चाकु बनाउन शुरु गरेको दिन र समाप्त गर्दाको दिन भोजै खुवाउने चलन छ । चाकु उत्पादन पनि टोखाको आफ्नै मौलिक उत्पादन विधि हो ।

तर अहिले उखु उब्जिने खेत जम्मै हाउजिङमा बदलिसकेको छ । चाकुका लागि चाहिने साखःति (सख्खर) पनि रानीनगर, कृष्णनगर, नुवाकोटबाट तयारी नै आउन थालेको छ ।
इतिहासकारहरू नेपालको इतिहास करिब दुई हजार वर्ष पुरानो भन्छन् । टोखाको इतिहास पनि दुई हजार वर्ष नै पुरानो छ । नेपाल जति पुरानो हो, टोखा पनि त्यति नै पुरानो मानिन्छ । यहाँ भेटिएका विभिन्न लिच्छवीकालीन अभिलेखहरूले यो कुराको पुष्टि गर्छ । ती लिच्छवी अभिलेखहरूमध्ये केहीमा कुलोको समेत चर्चा गरेको पाइन्छ । लिच्छबीकाल मै कुलो आइसकेको यो गाउँ त्यतिबेला बसिबसाउ नगर नै थियो भन्न हिच्किचाउनु पर्दैन ।

इतिहासका विभिन्न कालखण्डमा टोखाको नाम आइरहेको पाइन्छ । राजा प्रताप मल्लका नाति भूपालेन्द्र मल्ल काठमाडौंका राजा भएको बखत आफ्ना पिता पार्थिवेन्द्र मल्ललाई विष खुवाई मारेको भन्ने आरोप लगाई आफ्नै आमा ऋद्धिलक्ष्मी मल्ललाई यही टोखामा ल्याई नजरबन्द गरिएको थियो ।

धार्मिक रूपमा नेपाललाई तेत्तिसकोटी देवताको देश भनिन्छ । र, विश्वास के गरिन्छ भने नेपालमा ती तेत्तिसकोटी देवताहरू बस्ने ठाउँ चाहिँ टोखा हो । स्वस्थानी व्रतकथामा महादेव र सतीदेवीको प्रेम प्रसंग पनि आउने गर्दछ । सतीदेवीका पिता दक्ष प्रजापतिले यही ठाउँमा त्यो ठूलो यज्ञ आयोजना गरेको विश्वास गरिन्छ जसमा सतीदेवीले आफ्ना प्रेमि महादेवको निन्दा सुन्न नसकी आफैलाई होमेर प्राण त्याग गरेकी थिइन् । सांस्कृतिक दृष्टिले पनि टोखा अत्यन्तै धनी क्षेत्र हो । उपत्यकाका विभिन्न प्रमुख नगरहरूमा जस्तै यहाँ पनि जीवित देवी कुमारीको पुजा गर्ने परम्परा कायमै छ । टोखाको आफ्नै जीवित देवी कुमारी छन् जो यहाँका प्रमुख धार्मिक–सांस्कृतिक पर्वहरूमा उपस्थित हुन्छन् ।

वैशाख १ गते भक्तपुरमा जस्तै यहाँ पनि बिस्केट जात्रा मनाइन्छ । त्यही दिन यहाँको स्थानीय सपन तीर्थमा मेला लाग्छ । सपन तीर्थमा नुहाए पछि कुष्ठरोग निको हुने विश्वास गरिन्छ । सपन तीर्थ देशैभरि प्रख्यात तीर्थस्थल हो । चैत्र मसान्तमा यहाँ सात जना देवताका सात वटै खट नगर परिक्रमा गरी जात्रा गर्ने चलन छ । ती सात देवता हुन् ः मुस्कानेश्वर महादेव, गणेश, सरस्वती, मसानकाली, सपना तीर्थका गणेश, कोथु गणेश र चण्डेश्वरी । कुनै बेला टोखा निक्कै ठूलो नगर थियो । काठमाडौंको गोकर्णसम्म यो फैलिएको थियो । अहिले टोखालाई चण्डेश्वरी र सरस्वती दुई प्रमुख क्षेत्रमा विभाजन गरिएको छ । टोखाको चण्डेश्वरी बनेपाको प्रशिद्ध चण्डेश्वरीभन्दा पुरानो मानिन्छ ।

काठमाडौंमा विशेष रूपमा मनाइने इन्द्रजात्रा यहाँ पाँच दिनसम्म चल्छ । ती पाँच दिनमध्ये अन्तिम दिन एउटा रमाइलो चलन रहेछ । इन्द्रजात्राको त्यो अन्तिम दिन भनेको विशेषतः कुनै केटीलाई कुनै केटा मन प¥यो भने केटीले प्रेम प्रस्ताव राख्ने समय हो । नेपाली समाजमा सामान्यतयाः केटीले प्रेम प्रस्ताव राख्ने गरिँदैन । तर उक्त दिन केटीले आफूलाई मन परेको केटालाई बकैनाको गेडाले हान्ने गरिन्छ । यदि केटा हाँसे भने प्रेम प्रस्ताव स्वीकार भएको मानिन्छ, रिसाए भने अस्वीकार गरेको मानिन्छ । आधुनिकतासँगै प्रेम प्रकट गर्ने यो पुरानो चलन पनि हराइसकेको छ । अहिले काठमाडौंबासीको आवासको पहिलो छनौट जस्तै बनिसकेको टोखालाई प्रेम प्रकट गर्ने यो पुरानो चलन पछ्याउनु आवश्यकता छैन पनि होला ।

घ्यःचाकु संल्हूका दिन घिउ र चाकु खाने मात्र होइन, त्यो दिन आमाले आफ्ना छोराछोरीको टाउको, नाक र कानमा तेल हाल्ने चलन पनि छ । टोखामा उक्त दिन विवाहित महिलाहरू आफ्नो माइती जान्छन् भने पुरुषहरू मामाघर जान्छन्, ससुराली जाँदैनन् ।

टोखाका यी सबै मौलिक तथा ऐतिहासिक सम्पदा र संस्कृतिहरू जोगाउन यो क्षेत्रलाई अब विश्व सम्पदाको सूचीमा राख्नुपर्छ भन्ने आवाज पनि उठिरहेको छ । टोखाका स्थानीय बुद्धिजीवी र युवा वर्ग अहिले विभिन्न उत्सव र महोत्सवहरू सञ्चालन गरी यही अभियानमा लागिरहेका छन् । यदि टोखा विश्व सम्पदाको सूचीमा उल्लेख भयो भने त्यो हाम्रो अर्को उपलब्धी हुने त छँदैछ साथै यसले टोखाको चाकुलाई पनि पुनर्जन्म दिने पक्का छ ।

बर्ष १४, अंक ११, माघ २०७२