निशा ओली
घट्टेकुलोमा भेटिएकी सुनीता थापाले इलाममा उत्पादित अर्गानिक चिया मात्र पिउने गरेको बताइन् । स्वास्थ्यमा पनि असर नगर्ने र आफ्नै देशको उत्पादन भएकाले उक्त चिया पिउने गरेको उनको भनाइ छ । अर्गानिक चिया किन्नकै लागि घट्टेकुलोमा रहेको कायासपमा आएकी थिइन् उनी । इलाममा उत्पादन भएको शुद्ध सामान मात्र पाउने भएकाले कायासप धाउनु उनको दिनचर्या नै बनेको छ ।

उनीमात्र होईन अहिले थुप्रै गृहिणी तथा युवायुवतीको रोजाईमा अर्गानिक सामग्री पर्न थालेको छ । त्यसैले अर्गानिक मार्केटिङको शैली पनि फस्टाउँदै गएको छ । घरमै उत्पादन गर्न सकिने र स्वस्थकर पनि हुने हुनाले अहिले अधिकांश किसान यसतर्फ आकर्षित भएको पाइन्छ ।

अर्गानिक खेती यस्तो खाद्य उत्पादन गर्ने पद्घति हो, जसमा कुनै पनि रासायनिक मल र रासायनिक विषादी वा किटनाशक औषधि प्रयोग गरिँदैन । बोलीचालीको भाषामा यसलाई जैविक खेती (प्रांगारिक) पनि भन्ने गरिन्छ । यस प्रकारको खेतीले माटोको संरक्षण र उत्पादन शक्ति बढाउनुको साथै पशुपक्षी र मानव स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याएर स्वास्थ्य राख्ने गर्दछ ।

प्रांगारिक अर्थात अर्गानिक खेतीको मुख्य उद्देश्य भनेको पारिस्थितिक प्रणालीमा सन्तुलन, कम लागतमा गुणस्तरीय खाद्यवस्तु उत्पादन हो । यो हासिल गर्न सम्भव भए जति खेती प्रणाली, जैविक र यान्त्रिक उपायको खोजी गर्दै वनस्पति र जीवजन्तुको जैविक तथा वंशाणु क्षमताको अधिकतम प्रयोग गरिन्छ । अहिले आएर अर्गानिक खेतीको कुरा व्यापक रूपमा उठिरहेको छ । आममानिस आफ्नो स्वास्थ्य स्थितिप्रति सचेत भएको फलस्वरूप अर्गानिक खेतीको विकास भएको भन्नेमा कसैको दुईमत नहोला ।

नेपालका विभिन्न ठाँउमा अर्गानिक खेती सुरु भइसकेको छ । सुरुमा उत्पादन कम हुने भएकाले किसानमा नैराश्य देखिन्छ तर ३÷४ वर्षपछि पहिलेको अवस्थामा पनि सुधार ल्याई उत्पादन र गुणस्तरमा वृद्धि ल्याउँछ । त्यसैले दीर्घकालीन रूपमा हेर्दा फाइदा धेरै छ । रासायनिक मल र विषादीले तरकारी र फलफूलमा अचानक परिर्वतन ल्याइदिन्छ, जो आकर्षक लाग्छ तर यस्ता खाद्यसामग्री गुण स्तरहीन हुन्छन्, जसले हाम्रो स्वास्थ्यमा समेत नकारात्मक असर ल्याउँछ र विभिन्न रोगलाई निमन्त्रणा दिन्छ । त्यस्ता समस्याबाट मुक्ति दिनको लागि अर्गानिक खेती आवश्यक छ ।

पचास रूपैयाँमा अर्गानिक सामान किन्नुभन्दा २५ रूपैयाँमा सामान्य सागसब्जी किनेर खान्छु भन्ने अवस्था छ नेपालीको । यो अवस्थालाई चिर्ने काम भनेको सरकारको हो । चीन र भारतबाट १० रूपैयाँ प्रतिकिलो आलु आउँछ तर नेपालको आलुको मूल्य पर्न जान्छ २० रूपैयाँ प्रतिकिलो । अनि के गरुन् नेपाली जनता ? जान्छन् १० रूपैयाँ प्रतिकिलोतर्फ । यसो हुन नदिने काम सरकारको काँधमा नै आउँछ । त्यसैले कृषकलाई अनुदान दिएर कृषकको पसिनालाई उचित सम्मान दिनुपर्छ भन्ने गुनासो आममानिसले गर्न थालेका छन् ।

वातावरणमा असर नपर्ने, माटोको उर्बराशक्ति बढ्ने र स्वास्थ्यको दृष्टिले मन पराइने भएकाले किसान अर्गानिक खेतीप्रति आकर्षित भएका छन् । केही वर्षअघिसम्म उनीहरू डढुवा, ढुसी, लाइ, पतेरो, गबारो आदिबाट तरकारी जोगाउन र थोरै जग्गाबाट धेरै उत्पादन लिन रासायनिक विषादी र मल प्रयोग गर्दथे । पछिल्लो समय तरकारी खेतीमा प्रयोग गरिएको रासायनिक मल–विषादीले मानव स्वास्थ्य र वातावरणमा असर गरेको गुनासो बढेपछि तथा अर्गानिक खेतीको महŒव बुझेपछि तिनको प्रयोगमा कमी आएको अध्ययनले देखाएका छन् ।

अर्गानिकको बजार
अहिले अर्गानिक मार्केटिङको शैली परिवर्तन भएको छ । किराना पसलदेखि लिएर कस्मेटिक पसलसम्म अर्गानिक सामानको प्रयोग गर्नेको संख्यामा वृद्धि भएको छ ।
घट्टेकुलोमा रहेको काया सपमा अर्गानिक सामान किन्नेको घुइँचो लाग्छ । उक्त पसलमा विशेषगरी घ्युकुमारीका सामग्री बिक्री हुने गरेको सञ्चालक माधव चौंलागाई बताउँछन् । कस्मेटिक सामान किन्न आउने पनि मेवा, च्याउ, सन्चो, टाइगर बामलगायत अर्गानिक सामग्री नै खोज्छन् । त्यसैले ग्राहकको ध्यानलाई मध्यनजर गर्दै अर्गानिक पसल स्थापना गरेको उनी बताउँछन् ।

बबरमहलमा भेटिएकी एन्जिला श्रेष्ठ आफू पपायाको मेकअप सामग्री प्रयोग गर्ने बताउँछिन् । ‘पहिले अर्गानिक सामान किन्नका लागि सीमित स्थानमा जानुपथ्र्याे तर अहिले कस्मेटिक पसलमा पनि अर्गानिक सामग्री पाउन थालेको छ,’ उनी भन्छन्, ‘अर्गानिक सामग्री प्रयोग गर्दा छालामा कुनै पनि साइड इफेक्ट नआउने हुनाले म यसतर्फ आकर्षित भएकी हुँ ।’ अहिले टोलैपिच्छे अर्गानिक सामग्री भनेर बेच्ने चलन बढेको हुँदा कुन सक्कली हो या कुन नक्कली, छुट्याउन गाह्रो हुन थालेको उनको अनुभव छ ।

काठमाडौंको सिनामंगल पेप्सीकोला क्षेत्रमा ठूलो लगानीमा स्वदेशमा उत्पादित तरकारी तथा फलफूल बजार सञ्चालन गरिएको छ । खोटाङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष रुद्र गिरीको नेतृत्वमा व्यवसायीले ‘हलेसी एग्रो मार्केट’ सञ्चालनमा ल्याएका हुन् । किसानबाट सिधै खरिद गरी सस्तोमा अर्गानिक तथा स्वदेशी तरकारी बिक्री गर्ने लक्ष्य राखिएको बजारमा २७ जनाले रोजगारी पाएका छन् । सो बजारको शाखा राजधानीका अन्य स्थानमा पनि चाँडै बिस्तार गरिने जनाइएको छ ।

त्यस्तै अर्गानिक उत्पादनको प्रवद्र्धन र बजार विस्तार गर्ने उद्देश्यका साथ केही समयदेखि मैतीदेवीमा अर्गानिक करेसाबारी सञ्चालनमा आएको छ । उपभोक्तालाई स्वस्थ खाद्यपदार्थ उपलब्ध गराउनु यसको मुख्य उद्देश्य रहेको सञ्चालक विक्रम पौडेल बताउँछन् । पछिल्लो समय विदेशी बहुराष्ट्रिय कम्पनीहरू खाद्यान्नमा एकाधिकार जमाउनेगरी अर्गानिकविरुद्ध लागिरहेको उल्लेख गर्दै उनले त्यसतर्फ पनि सचेत रहनुपर्ने बताउँछन् । तरकारी तथा अन्य खाद्यवस्तुमा विषादी र रासायनिक मल प्रयोगले मानव स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको भन्दै पौडेलले पहाडी र मध्यपहाडी क्षेत्रमा अर्गानिक खेती विस्तार गर्नुपर्ने बताए ।
अर्गानिक खेतीबिना रसायन नै गरिन्छ त भनेर सवाल उठिरहेको बेला किसानले उत्पादन गर्ने बालीको विवरणसहित एक महिनाअगावै प्राप्त निवेदनको आधारमा ओसिएन (अर्गानिक सर्टिफिकेसन नेपाल) ले सम्भव भएसम्म बाली अवधिमै प्रमाणीकरण गर्ने गरेको छ । ओसियनले तीनवटा मोडेलमा अर्गानिक प्रमाणीकरण गर्ने गरेको छ ।

मोडेल–१ अन्तर्गत निर्यात गरिने कृषिवस्तुलाई अन्तर्राष्ट्रियस्तरको प्रमाणीकरण हुने गरेको छ । मुलुकमै खपत हुने कृषि वस्तुलाई मोडेल–२ अन्तर्गत व्यावसायिकस्तरको र साना तथा परम्परादेखि अर्गानिक खेती गर्दै आएका इमान्दार किसानको लागि मोडेल–३ अन्तर्गतको प्रमाणीकरण दिने गरेको हो ।

प्रमाणीकरण चाहनेले फार्मको वर्तमान अवस्था, क्षेत्रफल, लगाइने बाली, छिमेकमा लगाइएको बाली, उत्पादनका तरिका, बजार क्षेत्रसमेत उल्लेख गरेर निवेदन दिनुपर्छ । निवेदनको अध्ययनपश्चात् प्रमाणीकरण हुनसक्ने या नसक्ने परीक्षणका लागि फिल्डमा निरीक्षक खटाइने छ । यस्तो निरीक्षण सोझै र गोप्य तरिकाले (छड्के) समेत हुने गरेको छ, जसले गर्दा अर्गानिक बजारप्रतिको शैली र विश्वास बढ्दै गएको छ ।
अहिलेको बजारलाई ध्यानमा राखेर अर्गानिक एग्रो बजार पनि सञ्चालनमा आउन थालेका छन् । जहाँ तरकारी, मह, हर्बल उत्पादन, च्याउ, कफी, सिस्नु, खाद्यान्नलगायत सामग्री सहजै उपलब्ध हुन्छन् । प्रमाणीकरण भएको कृषिवस्तु सहजै उपलब्ध हुन थालेपछि उपभोक्तासमेत बढेकाले काठमाडौंमा अर्गानिक बजार बढेको छ । सुरुमा कान्तिपथस्थित १९०५ रेस्टुरेन्टमा मात्रै अर्गानिक कृषिवस्तुको बजार लाग्ने गरेकोमा अहिले बौद्ध, सानेपा, बालुवाटारलगायत विभिन्न स्थानमा दर्जनौंको हाराहारीमा यस्ताखाले अर्गानिक पसल खुलेका छन् ।

अर्गानिक वस्तुको माग बढ्दो छ
जगत अधिकारी
कृषक, व्यापारी
म आफू पनि खेती–किसानी गर्ने मानिस भएकाले अर्गानिक खेतीतर्फ आकर्षित भएको हुँ । आफूले लगाएको अर्गानिक खेतीको उपयुक्त बजार नपाउने भएकाले गर्दा आफ्नै लगानीमा उपयुक्त स्थान छनोट गरी पसल पनि सुरु गरेको छु । अहिले बजारमा यस्ता पसलको संख्या बढ्दै गएको छ । यसले आममानिसले अर्गानिक वस्तुको महŒव बुझेको सहजै अनुमान लगाउन सकिन्छ । तरकारी तथा अन्य खाद्यवस्तुमा विषादी र रासायनिक मल प्रयोग अधिक हुँदा मानव स्वास्थ्यमा प्रतिकूल असर पारिरहेकाले अर्गानिक मार्केट दिनानुदिन फस्टाउँदो क्रममा छ ।

काठमाडौंको रानीवनमा मेरो आफ्नै फार्म छ । यसबाट हरिया सागसब्जी, सिजनअनुसारका तरकारीका साथै केही जडीबुटी पनि उत्पादन हुँदै आएको छ । त्यहाँबाट उत्पादन भएका र स्थानीय बासिन्दाले करेसाबारीमा उत्पादन गरेका अर्गानिक सागसब्जी बालुवाटारमा रहेको अर्गानिक पसलबाट बिक्री गर्ने गरेको छु । चिया, छुर्पी, गहुँको पीठो, महलगायत सामग्री पूर्वी पहाडी जिल्ला इलाम, पाँचथरबाट आउने गरेका छन् । तर, अहिलेको अवस्थामा ती सामान यहाँसम्म ल्याइपु¥याउन निकै कठिन छ ।

मानव स्वास्थ्यमा प्रतिकूल असर नगर्ने हुनाले अर्गानिक सामानको मूल्य बढी हुन्छ । कतिपय मानिस सस्तो मूल्यको पछाडि लाग्दा आफ्नो अमूल्य जीवनमाथि पर्नेसक्ने असरबारे अनविज्ञ छन् । कालिमाटीमा सस्तो पाउने सागसब्जी यहाँ किन महँगो भन्दै मानिसहरू किन्न हिचकिचाउँछन् ।

बर्ष १४, अंक ११, माघ २०७२