कृष्ण अधिकारी÷बर्दिया
निकुञ्ज र आरक्षमा समेत एकसिंगे गैंडा र पाटेबाघ देख्न गाह्रो भएका बेला समुदायले हुर्काएको बर्दियाको सूर्यपटुवास्थित शिव सामुदायिक वन क्षेत्र एकसिंगे गैंडा मात्र नभएर पाटेबाघको समेत वासस्थान बन्दै गएको छ ।

मानव बस्तीबाट मुस्किलले ३०० मिटर टाढाको सिमसार क्षेत्रमा सजिलैसँग गैंडा देख्न सकिन्छ । जैविक विविधता र वन्यजन्तु संरक्षणमा स्थानीय नै जुटेपछि खाता जैविकमार्गमा लोपोन्मुख दुर्लभ वन्यजन्तुको चहलपहल ह्वात्तै बढेको छ ।

जैविक विविधता संरक्षण तथा जीविकोपार्जनमा सुधार गरेर शिव सामुदायिक वनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै चर्चा पाएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतर्नियाघाट वन्यजन्तु आरक्षका दुर्लभ वन्यजन्तु ओहोरदोहोर गर्ने करिडोर क्षेत्र हो बर्दियाको डल्ला गाउँ ।

बर्दियाको उत्कृष्ट सामुदायिक वन पुरस्कारका अतिरिक्त अब्राहम कन्जरभेसन अवार्ड २०११ पाएको छ भने विश्वका १,००० भन्दा बढी संघसंस्थाबीच भएको ‘बिबिसी वल्र्ड च्यालेन्ज २०११’ प्रतियोगिताको अन्तिम १२ मा समेत परेको थियो ।

स्थानीय बासिन्दा संरक्षणमा सक्रिय हुन थालेपछि खाता जैविक मार्गमा पाटे बाघ र एक सिंगे गैडाको चहलपहल निकै बढेको छ । २०६७ भन्दा पहिले दुईवटा बाघ र एउटा एकसिंगे गैंडा ओहोरदोहोर गर्ने जैविकमार्ग क्षेत्रमा हाल १० वटा पाटेबाघ र आठवटा एकसिंगे गैंडा ओहोरदोहोर गर्ने गरेको शिव सामुदायिक वनका अध्यक्ष मंगल थारुले बताए ।

डल्ला गाउँका बालबालिकादेखि वृद्धवृद्धासमेत संरक्षणमा जुटेका छन् । बालबालिका इको क्लब, युवा चोरीसिकार नियन्त्रण दस्ता, सामुदायिक वनका उपभोक्ता र होमस्टे सञ्चालकको रूपमा उनीहरूले संरक्षणमा योगदान पु¥याउँदै आएका छन् ।

डल्ला गाउँलगायत खाता जैविकमार्ग क्षेत्रका हजारौँ युवा चोरीसिकार नियन्त्रण अभियानमा जुटेका छन् । उनीहरूले निकुञ्ज क्षेत्रमा हुने चोरीसिकार नियन्त्रणका लागि शंकास्पद व्यक्तिको निगरानी गर्ने, निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गस्ती गर्ने र निकुञ्जका कर्मचारी र सुरक्षाकर्मीसँग समन्वय गरेर संरक्षणको काममा सहयोग पु¥याउँदै आएको चोरीसिकार नियन्त्रण युवा परिचालन अभियान समन्वय उपसमिति, सूर्यपटुवाका सचिव निरज योगीले बताए ।

सिंगो गाउँ नै एकजुट भएर संरक्षणमा जुटेपछि बर्दिया राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तुको संख्यासमेत उल्लेखनीय रुपमा बढेको छ । छोटै अवधिमा पाटेबाघ दोब्बर भई ५० पुगेको छ भने २०६४ सालदेखि बर्दिया राष्ट्रिय निकुञ्जमा गैंडाको चोरीसिकार नभएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापाले बताए ।

वातावरण संरक्षणका लागि उनीहरूले डल्ला क्षेत्रलाई प्लास्टिकमुक्त घोषणा गरेका छन् । सामुदायिक वनकै पहलमा गाउँमा विद्युतीकरण गरिएको छ भने संरक्षणमा बालबालिकालाई प्रेरित गर्न सामुदायिक वन आफैँले कक्षा आठसम्म अंग्रेजी माध्यममा विद्यालय सञ्चालन गरेको छ । ती बालबालिका नै भविष्यमा असल संरक्षणकर्मी (ग्रिन भोलेन्टियर) हुने सामुदायिक वनका अध्यक्ष थारुको भनाइ छ ।

शिव सामुदायिक वन उपभोक्ताले हुर्काएको वन हो । डल्ला क्षेत्रमा अहिले पनि वन्यजन्तुले स्थानीय बासिन्दालाई दुःख दिन्छन् । बाख्रा खाइदिने, सर्वसाधरणको खेतीबाली तथा घरमा नोक्सानी गर्ने र ज्यानै जानेगरी आक्रमण गर्ने घटना भए पनि वन्यजन्तुसँगको द्वन्द्व न्यूनीकरण गर्न स्थानीय प्रयासरत छन् ।

वन्यजन्तुले खेतीबाली खाइदिए पनि र पटक–पटक आक्रमण गरेर दुःख दिए पनि स्थानीयले आफ्ना खेतबारीमा वन्यजन्तुले हानि–नोक्सानी नपु¥याउने मेन्था, केमाइलजस्ता वैकल्पिक नगदेबाली खेती गरेर जैविक विविधता र वन्यजन्तु संरक्षणलाई निरन्तरता दिएका छन् ।

स्थानीयले एकसिंगे गैंडाका लागि सामुदायिक वन क्षेत्रभित्र पाँचवटा वाटरहोल अर्थात् आहाल खेल्ने पोखरी र ५० हेक्टर क्षेत्रमा घाँसेमैदान निर्माण गरिदिएका छन् । पछिल्ला दिन वन्यजन्तु र मानिसबीचको द्वन्द्वसमेत कम हुँदै गएको छ । बर्दियाका संरक्षणकर्मी भदै थारु भन्छन्, ‘विगतमा वन्यजन्तु मारेर दुई–चार जनाले कमाउँथे, अहिले संरक्षण गरेर गाउँका सबैले कमाइरहेका छन् ।’
दुर्लभ वन्यजन्तुको चहलपहल बढेसँगै जैविक मार्ग क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहलसमेत बढ्दै गएको छ ।

अवलोकन गर्न आउने बाह्य तथा आन्तरिक पर्यटकको सुविधाका लागि जैविकमार्ग क्षेत्रमै रहेको डल्ला गाउँका स्थानीय बासिन्दाले होमस्टे सुरु गरेका छन् । पर्यटकको स्वागत र सुविधाका लागि उनीहरूले खानपिन र बसोवाससँगै विविध साँस्कृतिक कार्यक्रम गरेर भरपुर मनोरञ्जनसमेत दिन्छन् ।

डल्ला गाउँका २० बासिन्दाले होमस्टेका लागि घरमा थप दुईवटा कोठा बनाएर ५२ जना पर्यटक गाउँमा बस्नसक्ने व्यवस्था मिलाएका छन् । सञ्चालनमा रहेका २० वटा होमस्टेमा शौचालय, स्नानघर र आरामदायी सुत्ने कोठा व्यवस्था गरिएको छ । पर्यटकहरू प्रतिदिन १५० रूपैयाँ तिरेर होमस्टेमा बस्छन् । होमस्टेमा बस्ने पाहुनालाई पारिवारिक वातावरणमा थारु परिकारको खाना तथा मनोरञ्जनका लागि झुमरा, सखिया, लट्ठीलगायत थारु संस्कृतिमा आधारित सांस्कृतिक कार्यक्रमसमेत देखाइन्छ ।

नेपालमै जैविकमार्ग क्षेत्रमा पहिलोपल्ट २०६७ फागुनमा होमस्टे स्थापना भएको थियो । होमस्टे सुरु भएको पाँच वर्षको अवधिमा स्वदेशी र विदेशी गरी करिब ५०,००० पर्यटक पुगेका छन् । उनीहरूले होमस्टेबाट संकलित रकममध्ये केही संरक्षणको काममा समेत लगाउने गरेका छन् ।

बर्ष १४, अंक ११, माघ २०७२