अहिले राजधानीलाई चिसोले छोपेको छ । हुन त मंसिरदेखि माघसम्मको राजधानीको चिसो यहाँका बासिन्दाका लागि सम्झनलायक नै हुन्छ । तर, यसपालिको चिसो विशेष रह्यो । एकातिर ओरालो लाग्दो तापमान, अर्कोतिर आवश्यक चिजबिज अभाव । मधेस आन्दोलनलाई कारण देखाउँदै भारतले गरेको अघोषित नाकाबन्दीका कारण राजधानीमा पेट्रोलियम पदार्थ अभावले जनजीवन कष्टकर बन्यो । इन्धन अभावले गाह्रो बनाएको दैनिकी बढ्दो प्रदूषणका कारण बढेको चिसोले झनै धेरै प्रभावित बन्यो । यसै सन्दभैमा निशा ओलीले राजधानीवासीलाई चिसोका कारण उत्पन्न समस्या र त्यसबाट बच्ने उपायबारेमा सोधेकी थिइन् ः

बदलिँदो वातावरणका कारण जीवन कष्टकर
बूढापाका भन्ने गर्थे, ‘मान्छेलाई उम्केको माछो र यसपालिको जाडो जहिल्यै ठूलो लाग्छ रे !’
अझ यसपालि त अहिलेसम्मकै सबैभन्दा बढी जाडो भएको आमगुनासो पनि सुनिने गरेको छ । मौसमविद्का अनुसार यो वर्ष जाडो अरू वर्षको भन्दा साँच्चिकै अलि बढी नै छ । र, यो बढ्ने सम्भावना पनि अत्यधिक छ । तर, पुसको मध्यमा आएर फेरि तापक्रम घट्नुको सट्टा बढ्नुलाई आश्चर्यजनक रूपमा हेरिएको छ ।

जाडोमा अति जाडो, गर्मीमा अति गर्मी अहिले हामी भोग्दै आइरहेका छौं । यसरी बदलिँदो वातावरणको कारणले गर्दा हुने उतारचढावले गर्दा जीवन कष्टकर हुँदै गइरहेको छ । चिसोको कारणले गर्दा मृत्यु हुनेको संख्या प्रत्येक वर्ष बढिरहेको छ । मृत्यु हुनेमा प्रायः जसो बालबालिका र बूढापाका हेका छन् । यो वर्ष त अझ भुइँचालोले गर्दा यो संख्या अझ बढ्ने अनुमान गरिएको छ । तराईमा शीतलहर र पहाडमा हिमपातले गर्दा जाडोबाट प्रभावित हुनेहरू बढिरहेका छन् ।

यसरी बदलिँदो वातावरणले हाम्रो स्वास्थ्यमा प्रतिकूल असर पनि पारिरहेको छ । अस्पतालका अनुसार गत वर्षभन्दा यस वर्ष जाडोको कारणले बिरामी हुनेको संख्या बढ्दो छ । बिरामीको संख्या अझै बढ्न सक्ने पनि बताइएको छ । बिरामी हुनेमा मुख्यतः नाबालक, सुत्केरी महिला र बूढापाका पर्ने गर्छन् । यो चिसोले गर्दा नवजात शिशुलाई दीर्घकालीन असर पर्ने पनि बताइन्छ । सानै उमेरमा बिरामी हुने बच्चाको रोगसँग लड्ने इम्युनिटी पावरमा कमी आउँछ । अझ गर्मीमा भन्दा जाडोमा बच्चाहरू बढी बिरामी हुन्छन् । त्यसैले शिशु स्वास्थ्यमा ध्यान पु¥याउनु जरुरी छ । रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बुद्धिमानी हो । त्यसैले चिसोबाट जोगिनको लागि हामीले प्रयास गर्नुपर्छ ।

प्रदूषण र चिसोले स्वास्थ्यमा प्रत्यक्ष असर
वातावरण र मानव स्वास्थ्य एक अर्कोसँग सम्बन्ध राख्ने विषय हो । कुनै पनि ठाउँका मान्छेको स्वास्थ्य कस्तो रहने भन्ने विषयमा उक्त ठाँउको वातावरणले पनि धेरै हदसम्म प्रभाव पारेको हुन्छ । मान्छेको रोगसँग लड्ने आन्तरिक क्षमतामा पनि वातावरणको प्रभाव पर्दछ ।

वातावरण प्रदूषण आजको विश्वको प्रमुख चुनौती बनिरहेका बेला यसले मानव स्वास्थ्यमा पनि गम्भीर प्रभाव पारेको देखिन्छ । अझ अविकसित र विकासशील राष्ट्रमा यो समस्या विकराल बनिरहेको पाइन्छ । प्रदूषित वातावरणका कारण अहिले विश्वका कैयौं देशका नागरिकको ‘स्वस्थ रहन पाउने’ अधिकार हनन भएको छ भन्दा अत्युक्ति नहोला । प्रदूषित पानी र खानाले जीवात्मा कैयौंथरि रोगको सिकार भएको युग हो यो । प्रदूषित वातावरणकै कारण आज कैयौँ मान्छेले क्यान्सर जस्तो भयानक रोग उपहार पाएका छन् । प्रदूषित पानीकै कारण आज कैयौं बालबालिका मृत्युको मुखमा पुगेका छन् ।

चिसोले वस्तुभाउ पनि रोगी
वातावरण प्रदूषण, चिसो र मानव स्वास्थ्य एक अर्कासँग सम्बन्धित विषय हो । मानिसको स्वस्थ जीवन बाँच्न पाउने अधिकारमा यी तीन कारक तŒवले प्रत्यक्ष असर गरिरहेको छ तर पनि यसको रोकथामको पहल अविकसित र विकासशील राष्ट्रमा कम भएको पाइन्छ, जुन दुःखलाग्दो कुरा हो र यसको परिणाम पनि भयावह नै देखिन्छ । त्यसैले विश्वका सबै स्वास्थ्यसँग सम्बन्धित निकायको यो समस्यामा ध्यान जानु जरूरी देखिन्छ ।

वातावरण प्रदूषणको कारण चिसो बढेको केही दिनअघि समाचारमा सुनेको थिएँ । चिसोले मलाई पनि प्रत्यक्ष–अप्रत्यक्ष रूपमा असर गरिरहेको छ । यो वर्ष चिसो सुरु भएदेखि नै रुघाखोकीले सताएको छ । टाउको दुख्ने र समय–समयमा पेट पनि दुख्छ । धुलोधुवाँ र चिसोले गर्दा गोडा फुट्ने पनि समस्या छ । चिसोको समयमा नै मेरो हातगोडा कठ्याँग्रिने, घरबाहिरका काम गर्न नसकिने जस्ता समस्या छन् । खेतीपातीका काम पनि दिउँसो नभई गर्न सकिएको छैन भने वस्तुभाउ पनि रोगी हुने गरेका छन् ।

प्रदूषण र चिसोले श्वासप्रश्वासमा असर
धुलो–धुवाँजस्ता कुराबाट वातावरण दिनानुदिन प्रदूषित भइरहेको छ । प्रदूषित हावाको गहिरो असर मानव स्वास्थ्यमा परेको छ । वातावरण प्रदूषणले चिसो बढाउने हुँदा यसको सिधा असर श्वासप्रश्वाससम्बन्धी समस्या बढ्दो छ । वातावरण प्रदूषण र चिसोका कारण मानिस दम, निमोनिया जस्ता रोगको सिकार बनिरहेका छन् । ‘स्वास्थ नै मानिसको धन हो’ भन्ने भनाइलाई मनन गर्दै वातावरण प्रदूषण तत्काल रोक्नु हामी चेतनशील प्राणीको कर्तव्य हो । वातावरण स्वस्थ रहँदा मौसममा समेत प्रभाव परी न्यानो हुन जान्छ, हावा, पानी मौसम नै मानव समाजको अनुकूल रहन्छ र स्वस्थ जीवनयापन गर्न सक्छौं ।

वातावरण प्रदूषणपछि मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने अर्को कारक हो चिसो । अझ मौसमी चिसो मानव स्वास्थ्यका लागि धेरै असरदायी हुने गरेको पाइन्छ । बाह्रै महिना चिसो हुने ठाउँको तुलनामा मौसमी चिसो हुने ठाउँका बासिन्दाको स्वास्थ्य अझ प्रभावित हुने गरेको पाइन्छ । विशेषतः वृद्ध र बालबालिका चिसो मौसममा धेरै बिरामी हुने गरेको पाइन्छ । सामान्य रूघाखोकीदेखि लिएर दम, निमोनियाजस्ता गम्भीर रोगसमेत चिसोकै कारण बढ्ने गर्दछ । चिसो मौसममा अस्पतालमा यस्ता बिरामीको चाप बढ्नुले पनि यस कुराको पुष्टि गर्दछ । चिसो मौसममा बच्चा र वृद्धवृद्धाको विशेष हेरचाह हुनु जरूरी देखिन्छ । त्यसैले वातावरण प्रदूषण हुनबाट रोकौँ र स्वस्थ जीवन बिताऊँ ।

सरसफाइमा ध्यान दिनु आवश्यक
नेपाल आफैँमा प्राकृतिक स्रोत, साधन र कृषिप्रधान देश हो । हरियो वन नेपालको धन भन्ने नारामा मात्र सीमित छ, सहरी भेग अहिले वातावरण प्रदूषणको चपेटामा परेका छन् ।
त्यसमा पनि प्राकृतिक प्रकोप भुइँचालोका कारण आर्थिक, सामाजिक, राजनीतिक अस्थितरताले गर्दा सहरी क्षेत्र खासगरी काठमाडौंको वातावरण मानवीय स्वास्थ्य प्रतिकूल बनिरहेको छ । ग्रामीण भेगमा भुइँचालोकै कारण मान्छेको धनजनको क्षतिका साथै आर्थिक स्थिति कमजोर भई लुगाफाटा, पौष्टिक आहार, शुद्ध पिउने पानीको अभावमा बाँच्नु परिरहेको छ, त्यसमा पनि यो चिसो मौसमले गर्दा स्वास्थ्यमा प्रत्यक्ष प्रतिकूल असर गरिरहेको छ । जाडो मौसमलाई राम्रो मौसमको रूपमा लिइए तापनि वातावरण प्रदूषण तथा प्राकृतिक प्रकोपले गर्दा महामारी फैलिने अवस्था छ । फेरि पनि लुगाफाटा, पौष्टिक आहार, शुद्ध पिउने पानी अभावमा केही मानिसले मृत्युवरण गरिरहेको समाचार सुन्नमा आएको छ ।

मलाई पनि चिसो मौसम एकदमै मनपर्छ तर बिहान हिँड्नु स्वास्थ्यका लागि खराब हुन्छ भन्ने समाचार पढेपछि बिहान क्याम्पस आउनै गाह्रो लाग्छ । त्यसमाथि पनि वायु र ध्वनि प्रदूषणले सहरलाई दूषित बनाएको छ । रुघाखोकी, ज्वरोलगायत सिजनल फ्लुले विभिन्न संक्रमण देखिने गरेको पाइन्छ । तसर्थ वातावरण सरसफाइमा ध्यान दिनु आजको आवश्यकता हो ।

जाडोमा जाडो र गर्मीमा गर्मी
पृथ्वीमा रहेका सजीव प्राणी, वनस्पती र निर्जीव बस्तु जति छन्, तिनै चिजको मिश्रण नै वातावरण हो । पृथ्वीमा जब मानवबस्ती बढ्दै गयो मानिसले प्रकृतिलाई जितेर आफ्नो अनुकूल बनाउँदै गयो । आफ्ना महŒवाकांक्षी आवश्यकता पूरा गर्न प्रकृतिमाथि हस्तक्षेप गर्दै गयो । यसको फलस्वरूप पृथ्वीको वातावरण प्रदूषित हँुदै गयो । कलकारखानाको धुवाँ धुलोको प्रदूषण, ध्वनि प्रदूषण आदिले वातावरण एकदम बिग्रिँदै गयो । धुवाँ धुलोले पृथ्वीको ओजोन तहमा असर गर्न थाल्यो र त्यसले जलवायुमा परिवर्तन ल्यायो ।

जाडोमा एकदम जाडो र गर्मीमा एकदम गर्मी हुन थाल्यो । यसले मानिसको स्वास्थ्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष असर गर्न थालेको छ । जलवायु परिवर्तनले गर्दा अचाक्ली चिसो बढेको छ । चिसोका कारण विभिन्न किसिमका रोगहरू लागिरहेको छ ।

हाम्रो देश गरिब छ, कलकारखाना त्यति चलाउन सकेको छैन । यो हिसाबले नेपाल वातावरण प्रदूषणकमा त्यति जिम्मेवार नहुनु पर्ने हो । बरु नेपालमा प्रशस्त वन जंगल भएकाले धुवाँ–धुलो र प्रदूषणलाई केही मात्रामा रोकिरहेको छ । विकसित देश, जसले धेरै कलकारखाना चलाएका छन्, ती कारखानाका धुवाँ–धुलोले वातावरण प्रदूषित गरेको छ । जसले गर्दा पूरै पृथ्वीकोे जलवायु परिवर्तन भएको छ । यसको असर नेपालजस्ता गरिब देशमा परिरहेको छ ।

प्रदूषण, चिसो र स्वास्थ्य पुरक हुन्
वातावरण प्रदूषणले हावा, पानी, जमिन आदिमा विभिन्न कारणले भौतिक तथा रासायनिक परिवर्तन आई तिनीहरूको गुणस्तर घट्ने प्रक्रियालाई जनाउँछ । वातावरणमा रहेका वा बसोवास गरेका जीवहरूकै कारण वातावरण प्रदूषित बन्दै गएको छ । ती जीवमध्ये पनि मानिसका विभिन्न क्रियाकलाप नै वातावरण प्रदूषणको मुख्य कारक भएको कुरालाई नकार्न सकिँदैन ।

विज्ञानले मानिसलाई कल्पना गर्नसक्ने क्षेत्रभन्दा बाहिर गएर विभिन्न सिर्जना गर्ने अवसर दिएको छ । ती सिर्जना मानिसका लागि वरदान सावित भए भने वातावरणका लागि अभिशाप । मानिसको सुविधाका लागि सिर्जित ती सिर्जनाले वातावरणमा भने नकारात्मक असर पारेको छ । यसमा यातायातका साधन अग्रपंक्तिमा आउँछन् । यातायातका साधनबिना अहिलेको व्यस्त जिन्दगी कल्पनासम्म पनि गर्न सकिँदैन । तर, ती यातायातले फाल्ने धुवाँ र धुलोले वातावरण नराम्ररी प्रदूषित तुल्याइदिएको छ । विशेषतः नेपालकै राजधानी काठमाडौंमा धुवाँ र ध्वनि प्रदूषण प्रखर मात्रामा रहेको तथ्यांकले देखाएको छ ।

एक अध्ययनअनुसार त दिउँसोको समयभन्दा बिहानी र बेलुकीपख वायु प्रदूषण हुने गरेको देखाएको छ । जसले गर्दा बिहान स्वच्छ हावा खान मर्निङवाक जाने गरेका उपत्यकावासी स्वस्थ हैन, झनै अस्वस्थ बनिरहेका छन् । यसका साथै एक अध्ययनले त वायु प्रदूषणले उपत्यकामा चिसो झनै बढाउने तथा यसले धेरै रोग निम्त्याउने खतरा बढेको छ । धुवाँ, धुलोलगायत प्रदूषणले सूर्यका किरण जमिनमा आउन रोकिएपछि यसले चिसो बढाउने र रोग पनि निम्त्याउने गरेको छ । चिसो मौसममा त झनै हावा नचल्ने भएकाले प्रदूषण एकै ठाउँमा जम्मा भएर बस्ने गरेको कुरा विज्ञले औँल्याएका छन् ।

पुसभरि आंशिक बदलीको मौसम रह्यो
विभुति पोखरेल
सिनियर डिभिजनल मेनेजर, मौसम विभाग
पुसभरि चिसो मौसम भएकाले जनजीवन प्रभावित बनेको छ तर महिनाको अन्ततिर भने मानिसले केही मात्रामा भए पनि न्यानो महसुस गर्न पाएका छन् । महिनाको अन्ततिर वायुको प्रभावका कारण काठमाडौँ उपत्यकासहित पहाडी भेगको मौसम बदली हुँदा तापक्रममा केही सुधार आएको छ । उक्त वायुको प्रभावले उपत्यकाको तापक्रममा थोरै वृद्धि भई न्यानो महसुस भएको हो ।

डिसेम्बर २४ मा ० डिग्री सेल्सियसमा झरेको उपत्यकाको मौसम पछि ४ दशमलव ८ हाराहारीमा थियो । डिसेम्बर २४ सम्म केही दिन निरन्तर तापक्रम घटेर चिसो बढेको थियो तर पछि मौसम बदलीका कारण उपत्यकामा केही न्यानो महसुस भएको हो । हावा र बादलको मात्राले तापक्रम बढ्ने र घट्ने गर्दछ । आकाशमा बादल भएको बेला न्यानो महसुस हुन्छ । न्यूनतम तापक्रम बढे पनि उपत्यकामा पुसभरि चर्को घाम भने लाग्न सकेन । यस अवस्थालाई आंशिक बदलीको अवस्था भनिन्छ ।

समग्रमा भन्नुपर्दा २०१३ को मौसमभन्दा अहिले बढी न्यानो छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष जाडो नै हो तर कति दिन त्यो जाडो स्थिर रह्यो भनेर मापन गर्दा पुसको अन्ततिर न्यानो भएको देखिन्छ । मौसम मिनेट मिनेटमा परिवर्तन हुने हुनाले आँकलन गरिहाल्न गाह्रो छ ।

डिसेम्बर २४ सम्म बढदो वायु प्रदूषणसँगै स्थानीय स्तरमा उत्पन्न भएको बादलले चिसो वायु फ्याँकेका कारण राजधानीसहित देशभर तापक्रम घटेको थियो । वायु प्रदूषणले सूर्यको किरण वायुमण्डलमै रोकिदिएकाले त्यस्तो भएको हो ।

वातावरण पनि मौसमको एउटा पाटो हो, जसले गर्दा यी दुईबीच गहिरो सम्बन्ध रहेको छ । चिसो मौसम र वातावरण प्रदूषणको बढ्दो वृद्धिले जनजीवन अस्तव्यस्त बनाइदिएको छ । मौसमले पनि मानिसको दिनचर्यामा प्रभाव पार्ने भएको हुँदा यी दुईबीच सम्बन्ध गहिरो रहन गएको हो । चिसो मौसम र वातावरण प्रदूषणको प्रत्यक्ष असर स्वास्थ्यमा पर्छ । त्यसैले जाडो मौसमसँगै विभिन्न खालका स्वास्थ्य समस्या देखा पर्दछन् । त्यसैले जाडोको समयमा चिसोका कारण हुने विभिन्नखालका रोगबाट जोगिने उपायमा ध्यान दिनुपर्छ ।

चिसोबाट बच्ने उपाय अवलम्बन गरौं
महेन्द्र श्रेष्ठ
प्रवक्ता, नेपाल स्वास्थ्य अनुसन्धान केन्द्र
भुइँचालोले अधिकांश मानिसलाई खुला आकाशमुनि बाँच्न बाध्य बनाएको छ । चिसो तथा प्रदूषित वातावरणले गर्दा उनीहरूको स्वास्थ्यमा प्रतिकूल असर परेको तथ्य आइरहेको छ । वातावरण प्रदूषण र चिसोको कारणले जनजीवनमा पारेको असरबारे स्वास्थ्य मन्त्रालय गम्भीर छ ।

भुइँचालोपीडित जिल्लामा सरकारले चिकित्सकको टोली खटाएको छ । २४ जना ठूला डाक्टर प्रभावित जिल्लामा गएर औषधि उपचार गरिरहनुभएको छ । ग्रामीण जिल्लाका सबै क्षेत्रको स्वास्थ्य चौकी सूचारु रहेका छन् । भुइँचालोले प्रभावित गरे तापनि त्रिपाल टाँगेरसमेत स्वास्थ्य सेवा दिइरहेकाले मानिसले अकालमा ज्यान गुमाउनु परेको छैन ।

चिसो मौसमले सबैको जनजीवन कष्टकर त बनाएकै छ, त्यसमा पनि चिसो मौसमले विशेषगरी बालबालिका र वृद्धलाई धेरै असर गरेको छ । सानो बच्चा तथा वृद्धवृद्धालाई चिसो लाग्यो भने ज्यान नै जान पनि सक्छ । त्यस्तै चिसो मौसममा रुघाखोकीको प्रकोप पनि त्यति नै हुने गर्छ । तसर्थ हामी सबैले सावधानी अपनाउन जरुरी छ । सतर्कता नअपनाए रुघाखोकीले सजिलै महामारीको रूप धारण गर्न सक्छ । बिरामीले छोएको वस्तु जस्तै रुमाल, भाँडा, झ्यालढोकाका ह्यान्डल आदि प्रयोग गर्दा र बिरामीको नजिक पर्दा नै बढी मात्रामा रुघाखोकी सर्न सक्छ ।

तसर्थ, बिरामीले प्रयोग गरेको रुमाल प्रयोग गर्नु हुँदैन र धेरै मानिसले छुने झ्यालढोकाका ह्यान्डल छुँदा टिस्यु पेपर वा ट्वाइलेट पेपर प्रयोग गरी खोल्ने–लाउने गर्नुपर्छ । बिरामीको नजिक बस्नु हुन्न र बिरामीले हाच्छ्युँ गर्दा आफूले सास तान्नुको सट्टा लामो सास बाहिर फाल्नुपर्छ । कतै बाहिरबाट घरमा आउनेबित्तिकै र कुनै पनि खाना छुनु र खानुभन्दा पहिले राम्रोसँग साबुनले हात धुने र मुख कुल्ला गर्ने गर्नुपर्छ । हात धुँदा पनि औंलाको टुप्पा, काप, हत्केलाको पछिल्लो भागमा बढी मिच्ने गर्नुपर्छ । हात नधोई खाना छुनुपर्ने अवस्थामा पनि दुवै हात बेसरी रगड्नुपर्छ । त्यसो गर्दा पनि धेरै भाइरस मर्छन् ।

त्यस्तै जाडोमा मुटुका बिरामी बढी हुन्छन् । धेरै मानिस उच्च रक्तचाप भएपछि औषधि खाने र बीचमा छाड्ने गरेका कारण पनि यस्तो समस्या बढी देखिएको छ । मुटुको समस्याबाट पुरुषलाई भन्दा महिला बढी प्रभावित हुने गरेको डाक्टरहरूको अनुभव छ । महिलामा हर्मोनका कारणले बढी रक्तचाप घटबढ भइरहने र परिवार नियोजनका साधन खाने र लगाउने महिलालाई पनि बढी मात्रामा यस्तो समस्या देखिएको छ ।

बर्ष १४, अंक ११, माघ २०७२