सुरेश किरण
बालाचतुर्दशी भर्खरै सकियो । बालाचतुर्दशी भन्नाले सबैले सम्झने विशेष संस्कृति हो– पशुपतिमा सत्बिज छर्ने । सञ्चार माध्यमले पनि विशेष प्रचार गर्ने यसैलाई हो । त्यसैले बालाचतुर्दशी यतिबेला पशुपतिमा छर्ने सत्बिजमा सीमित भएको छ ।

बालाचतुर्दशीकै रात काठमाडौंको लुति अजिमा (इन्द्रायणी) लाई दिइने सर्पको आहुति र दिनमा हुने उक्त देवीको जात्रा भने खास चर्चामा आउने गर्दैन । कुनै बेला यस्तो हुन्थ्यो कि बालाचः¥हे (बालाचतुर्दशी) भन्नेबित्तिकै काठमाडौंको माथिल्लो भेग (थँहिति–क्षेत्रपाटी) भीडले टनक्कै हुन पुग्थ्यो । अहिले जात्राको त्यो रौनक हराइसकेको छ । तथापि लुति अजिमालाई राति दिइने सर्पाहुति हेर्नेको भीड भने अझै कम भएको छैन ।

शोभाभगवतीको वारि अवस्थित लुति अजिमाको मन्दिरसामु यो सर्पाहुति दिने गरिन्छ । बालाचतुर्दशीको रात सो स्थानमा ठूलो होम गरिन्छ । होम गर्दागर्दै होमको आगोमै एक जोर फट्यांग्रा, एक जोर माछा, एक जोर परेवा, एक जोर सर्प र राँगाको एउटा टाउको आहुति दिने गरिन्छ । यसमा राँगाको टाउकोबाहेक बाँकी चारै जीवलाई जीवितै आगोमा हालिन्छ । होम गर्दा एक जोर माछा हातमा लिई एउटालाई आकाशतिर फालिन्छ भने अर्कोलाई आगोमा होमिन्छ । त्यस्तै फट्यांग्रा, परेवा र सर्प पनि एक एक जोर हातमा लिई एउटालाई आकाशतिर र अर्कोलाई आगोमा हालेर यज्ञ गरिन्छ । यसैलाई सर्पाहुति भन्ने गरिएको हो ।

यो सर्पाहुतिको कार्य जसले पायो उसले गर्न भने मिल्दैन । यो देवीको पुजारी वा पुरोहितले गर्ने पनि होइन । यो काम स्थानीय ‘थकू जुजु’ ले मात्र गर्न पाइन्छ । ‘थकू जुजु’ भनेका मल्ल राजा हुन् । मल्लकालमा काठमाडौंका विभिन्न स्थानमा कर उठाउने, शान्ति सुरक्षा कायम गर्ने आदि प्रयोजनका लागि स्थानीय प्रशासक नियुक्त गरिएका हुन्थे । तिनै प्रशासकलाई ‘थकू जुजु’ भनिन्थ्यो । तिनीहरू जुजु (राजा) नै त होइनन् तर राजाका प्रतिनिधि भएकाले तिनलाई पनि सर्वसाधारणले राजा (जुजु) नै भनेर सम्बोधन गर्थे । देशबाट मल्ल राजा विस्थापित भएर गए पनि त्यस्ता स्थानीय ‘थकू जुजु’ को अवशेष भने अद्यापि कायम रहेको पाइन्छ । तीमध्ये काठमाडौंको माथिल्लो क्षेत्रमा अस्तित्ववान रहेका थकू जुजुका पुस्ताले यो सर्पाहुति गर्दै आइरहेको छ ।

यो सर्पाहुति कार्यमा एउटा अर्को पनि अनौठो चलन रहेको पाइन्छ । त्यो के भने यसमा आहुति गरिने सर्प, माछा, परेवा र फट्यांग्रा चारै जीव अरू ठाउँबाट ल्याउन पाइँदैन । ती जीव सबै त्यही लुति अजिमा मन्दिर र त्यसको खोला छेउछाउबाटै टिपेर ल्याएको हुनुपर्छ । अहिले खोला पनि सुकेर गएकाले यी जीव पाउन मुस्किल हुँदै गएको बताइन्छ । तर, मुस्किल जति नै भए पनि सर्पाहुतिको यो परम्परा भने अद्यावधि चलि नै रहेको छ ।

जात्रामा सुँगुरको मासु
यो सर्पाहुति भएको भोलिपल्ट लुति अजिमालाई खटमा राखेर नगर परिक्रमा गराइन्छ । काठमाडौं नगरको माथिल्लो भेगमा चलाइने यो नै सबैभन्दा ठूलो खटजात्रा हो । यो खटजात्रा हुँदा स्थानीय थँहिति टोलका मानन्धर समुदायले अजिमाको प्रसाद स्वरूप ‘मरःजा’ ख्वाउने चलन छ । मरःजा भनेको तान्त्रिक विधिले पूजा गरी पकाएको एकखाले भात हो । भातसँगै विभिन्न दाल र तरकारी पनि दिने गरिन्छ । यो भात खाएपछि कुनै पनि प्रकारको रोगव्याधिले छुन सक्दैन भन्ने लोक विश्वास छ । तर, यतिबेला थँहितिका मानन्धर समुदायले खुवाउने यो ‘मरःजा’ को पनि अलग्गै विशेषता छ । त्यो के भने यो ‘मरःजा’ खुवाउँदा त्यसमा एक–एक टुक्रा सुँगुरको मासु पनि राख्ने गरिन्छ । अरू बेला मानन्धर समुदायले सुँगुरलाई छुनु पनि हुँदैन, छोएमा नुहाएर चोख्याउनुपर्छ । तर, लुति अजिमाको जात्रामा मरःजा खुवाउँदा भने सुँगुरकै मासु राख्नुपर्छ । त्यसैले थँहितिका मानन्धर समुदायलाई ‘सुँगुरको मासु खाने’ भनेर जिस्क्याउने पनि गरिन्छ ।

लुजि अजिमाको कथा
कथा धेरैजसो अधवैशेंलाई थाहा छ । यो अहिलेसम्म पनि प्रचलित हाम्रो सामाजिक मूल्य मान्यतामाथि व्यंग्य गरिएको रोचक कथा हो । काठमाडौंमा धेरै अजिमा छन् । तिनीहरू जम्मै दिदीबहिनी हुन् । तिनका आमा हुन्– पशुपतिकी बत्सलादेवी । एकदिन आमा बत्सलादेवीले सबै छोरीलाई घरमा भोज खान बोलाइछन् । दिदीबहिनीमध्ये लुति अजिमा सबैभन्दा गरिब र सन्तान पनि बढी रहेछन् । उनी सबै छोराछोरी बोकेर माइती गइन् । तर, त्यहाँ पुग्दा त भोजै सकिइसकेको रहेछ । उनलाई कुनै पनि दिदीबहिनीले एकछिन पनि कुरेनन् । यसले गर्दा उनलाई ठूलो चोट लाग्यो । उनी छोराछोरी लिएर भोकै फर्किन् । काठमाडौंको फसिकेब (हाल रञ्जनापछाडि) पुगेपछि थकित छोराछोरी भोक लाग्यो भन्दै रुन थाले । लुति अजिमा अब उनीहरूलाई फर्सीको तरकारी भए पनि ख्वाउनुप¥यो भनी फर्सी टिपेर घर गइन् । घर पुगेर फर्सी काट्दा त्यसभित्र त सुनैसुन पो रहेछ । त्यसपछि भने लुति अजिमाको भाग्यले कोल्टे फे¥यो । उनी सबै दिदीबहिनीभन्दा सम्पन्न बनिन् ।

अर्को साल माइतीमा फेरि भोज आयोजना भयो । लुति अजिमा जिउभरि सुनको गहना लगाएर माइती गइन् । त्यो बेला उनलाई अत्यन्त सम्मान गरियो । दिदीबहिनी अगाडिपछाडि बसेर उनको गुण गाउन थाले । उनका लागि भनेर मिठामिठा परिकार तयार गरे तर लुति अजिमाले आफूलाई ल्याइएका खाना आफूले नखाई आफ्ना गहनालाई ‘ल खा ल खा, राम्ररी खा’ भन्दै ख्वाउन थालिन् । दिदीबहिनीले ‘ए, यो के गरेको ?’ भनी सोध्दा उनले जवाफ दिइन्, ‘तिमीहरूले आज यहाँ जो सम्मान देखायौ, त्यो मलाई होइन, मेरा यी गहनालाई देखाएका हौ । त्यसैले तिमीहरूले बनाएको खाना पनि यही गहनालाई ख्वाउन लागेकी ।’
दिदीबहिनीले लज्जाले शीर झुकाए । त्यसपछि उनी ‘लुँति’ अर्थात् ‘सुनको गहना लगाउने’ नामले प्रख्यात भइन् । नेपालभाषामा सुनलाई ‘लुँ’ भनिन्छ । त्यही ‘लुँति’ पछि लुति हुन गयो । लुति अजिमा रहेको ठाउँलाई अहिले लुति भनिन्छ ।

लुँति र शंखधर साख्वाःको सुन
नेपाल सम्वत्का प्रणेता शंखधर साख्वाःको कथामा बालुवा सुनमा परिणत भएको प्रसंग पाइन्छ । भक्तपुरका सिद्धवन्त नामक एक ज्योतिषले सुवर्णयोग पत्ता लगाई काठमाडौंको विष्णुमति नदीबाट बालुवा लिएर आउनु भनी दुई भरियालाई पठाएका रहेछन् । रातको समयमा भक्तपुरदेखि काठमाडौंको नदीमा किन बालुवा लिन आए त भनी शंखधर साख्वाःले त्यो बालुवा आफ्नो घरमा राखी भरियालाई अर्को बालुवा लिन पठाएका थिए । भोलिपल्ट उठेर हेर्दा आफ्नो घरमा राखिएको बालुवा सुनमा परिणत भएको र शंखधर साख्वाःले त्यही सुन बेचेर ऋणमा डुबेका सर्वसाधारण जनतालाई ऋणमुक्त गरेको भन्ने कथा बुनिएको छ ।
त्यसो त नदीको बालुवा एकै रातमा सुन बन्न पुगेको कुरा हावादारी नै लाग्न सक्छ । तर, उक्त कथामा जुन ठाउँबाट बालुवा ल्याइएको भनी बताइएको हो, त्यो यही लुति अजिमाको मन्दिरभन्दा केही सय फिट मात्रै तलतिरको खोला हो । माथि सुनसँग सम्बन्धित देवीको मन्दिर हुनु, तल सुनैसुनको बालुवा भेटिनु । केही त ‘कनेक्सन’ होला ! अरूका लागि यो अपत्यारिलो लागे पनि काठमाडौंको तान्त्रिक शक्तिमाथि विश्वास गर्ने स्थानीय जनता भने ‘यस्तो पनि होला र !’ भनी पन्छिरहेका छैनन्, न पन्छिन सक्छन् नै ।

बर्ष १४, अंक १०, पुस २०७२