धान उत्पादन गत वर्षको तुलनामा १०.२२ प्रतिशत अर्थात् करिब ४ लाख ८९ हजार टनले घट््ने कृषि मन्त्रालयको अनुमान छ । गत वर्ष ४७ लाख ८८ हजार टन उत्पादन रहेकोमा यस वर्ष ४२ लाख ९९ हजार टन मात्रै हुने प्रारम्भिक अनुमान छ । गत वर्षको तुलनामा यस वर्ष ४३ जिल्लामा धान उत्पादन घटेको छ । अघिल्लो वर्षको तुलनामा दुई नम्बर प्रदेशमा पर्ने मध्य तराईका सबै जिल्लामा अघिल्लो वर्षको दाँजोमा उत्पादन घटेको छ । मधेस आन्दोलनले गर्दा यातायात प्रभावित भएपछि करिब ४० प्रतिशत किसानलाई रासायनिक मल बेलैमा उपलब्ध गराउन नसकेकाले उत्पादन घटेको कृषि मन्त्रालयले जानकारी दिएको छ । धान उत्पादन हुने कुल क्षेत्रफलसमेत यस वर्ष करिब ६१ हजार हेक्टरले घटेको छ, जुन १५ वर्षयताकै सबैभन्दा थोरै क्षेत्रफल हो । यस वर्ष १३ लाख ६२ हजार हेक्टर क्षेत्रफलमा मात्रै धान खेती भएको छ । धान उत्पादन र क्षेत्रफल मात्रै होइन, यस वर्ष प्रतिहेक्टरमा हुने उत्पादकत्वसमेत गत वर्षको तुलनामा ६.११ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष प्रति हेक्टर उत्पादन ३,३६० किलोग्राम पुगेकोमा यस वर्ष प्रतिहेक्टर ३,१५४ किलोग्राम धान फल्यो ।

बर्ष १४, अंक १०, पुस २०७२