शोभा मानन्धर
सप्तरीका वैद्यनाथ झा, मनिष प्रताप र काठमाडौंका अशोक भट्टराईको दिनचर्या हिजोआज काठमाडौं, स्युचाटारस्थित फार्ममा गड्यौले मल उत्पादन कार्यमा बित्ने गरेको छ ।
मनिष प्रताप आफ्नो उत्पादनको बजार बिस्तारमा व्यस्त छन् भने अशोक नयाँ कुरा र प्रविधिको अनुसन्धान तथा विकासमा मग्न हुन्छन् । अर्का साझेदार वैद्यनाथ भने फार्मको सम्पूर्ण रेखदेख गर्नमा व्यस्त हुन्छन् ।

उमेरले २५ कटेका तर ३० ननाघेका यी युवाले काठमाडौं विश्वविद्यालयबाट बायोटेक इन्जिनियरिङमा स्नातक गरेलगत्तै यो व्यवसायमा हात हालेका हुन् । प्रवेश लामासहित चारजना मिलेर तीन रोपनी जग्गा भाडामा लिई आजभन्दा करिब तीन वर्षअघि सञ्चालन गरेको यस व्यवसायले अहिले निकै ठूलो रूप लिइसकेको छ । जसको परिणाम उनीहरूले मागअनुसार आपूर्ति गर्न सकिरहेका छैनन् ।
सुरुका दिन निकै धेरै कठिनाइ सामना गर्नु परेको तीतो अनुभव पनि छ उनीहरूसँग । सबैभन्दा ठूलो समस्याको सामना घर–परिवार तथा छरछिमेकबाटै गर्नुपरेको थियो ।

‘त्यत्रो पढे–लेखेर फोहरमा काम गरेको भनी आफ्नै परिवारका सदस्यले प्रश्न गर्थे,’ वैद्यनाथ सम्झन्छन् । ‘किन यस्तो गर्नु प¥यो ? जागिर खाएको भए हुन्थ्यो, विदेश गएको भए पनि हुन्थ्यो ।’ उनीहरूका लागि बाहिर जान सजिलो नै हुन्थ्यो, अरू फिल्डभन्दा ।

चारैजनाको परिवारको आर्थिक पृष्ठभूमि पनि राम्रो थियो । उनीहरूसँगै अध्ययन गरेका धेरैजना उच्च शिक्षा अध्ययन गर्न र राम्रो अवसरको खोजीमा विदेश गए । विदेशमा बायोटेक पढेका विद्यार्थीको माग पनि अत्यधिक हुने गरेको छ । यसको विपरीत नेपालको परिप्रेक्षमा भने यो विषय पढ्न अत्यधिक पैसा खर्च गर्नुपर्ने तर अवसर पाउन पनि निकै कठिन पर्ने । यस्तो अवस्थामा प्राकृतिक चक्रको सहयात्री गड्यौलालाई लिएर व्यवसाय सञ्चालन गर्नु फरक मात्र थिएन, निकै चुनौतीपूर्ण पनि थियो । तैपनि यी युवा देशमै केही गर्न लागिपरे ।

सुरुमा उनीहरूले आफूलाई आवश्यक गड्यौला काठमाडौंबाटै जुटाएका थिए तर उनीहरूले आँटेको कामको स्केलअनुरूप गड्यौला काठमाडौंमै पाउन असम्भव देखेपछि गड्यौला खोज्दै भारतको जयपुरसम्म पुगे । जयपुरबाट काठमाडौंसम्म १०० किलो गड्यौंला ढुवानी गर्नु कम चुनौतीपूर्ण थिएन ।

यति हुँदाहुँदै पनि उनीहरूकोे ध्यान अन्य मानिसको जस्तो श्रम बेच्नमा मात्र केन्द्रित नभएर आफूसँग भएको सोच, सीप र सिर्जना बेच्नेतर्फ केन्द्रित थियो । उनीहरू अवसर खोज्नेभन्दा पनि अवसर सिर्जना गर्नेतर्फ केन्द्रित बने र अध्ययनमा सिकेको कुरालाई व्यावसायिक तरिकाले नेपालमै प्रयोग गर्न चाहे । जसको परिणाम अहिले उनीहरूको व्यवसाय सफलताका साथ तेस्रो वर्ष पूरा गरेर चौथो वर्षमा अघि बढिरहेको छ भने अर्कोतिर हिजो विरोध गर्ने समुदाय तथा घरपरिवारले पनि प्रशंसा गर्न थालेका छन् ।

‘अब क्षेत्र पनि विस्तार हुँदै गएको छ, कार्यक्षेत्र पनि बढ्दै गएको छ, हामीले ब्रान्च पनि खोलेका छौं,’ आफ्नो सफलताको वर्णन गर्छन् वैद्यनाथ, ‘सोसाइटी र हाम्रो परिवारको सोचाइमा पनि परिवर्तन आएको छ ।’

यो समूहले युवाको मनोबल उच्च बनाउने प्रयत्न मात्र गरेको छैन, भविष्यमा नयाँ प्रविधि प्रयोग गर्दै, वैज्ञानिकीकरण तथा आधुनिकीकरण गर्दै, बजार बिस्तार गर्दै लानुको अतिरिक्त कृषि क्षेत्रमा युवा पुस्तालाई आकर्षित गर्ने लक्ष्य पनि लिएको छ ।

सानो क्षेत्रबाट सुरु भएको युवाको गड्यौले मल उत्पादन कार्यले अहिले पूरै तीन रोपनी जग्गा ओगटिसकेको छ । तीन सय किलो गड्यौलाको मल प्रति साइकल (दुई महिना) मा उत्पादन गर्ने पाइलट प्रोजेक्टबाट सुरु गरेको उनीहरूको व्यवसाय बढेर अहिले प्रति साइकल ४० टनजति मल उत्पादन भइरहेको छ । त्यसको बिक्रीबाट करिब ५,००,००० रूपैयाँ जति आम्दानी गरिरहेको बजार व्यवस्थापन हेरिरहेका मनिष प्रताप बताउँछन् ।

सुरुमा बजार खोज्नुपर्ने अवस्था थियो भने अहिले उनीहरूले मागअनुरूप आपूर्ति गर्न नसकेको अवस्था छ । यसले कुनै काम सुरु गर्ने आँट गरेमा सफलता आफैँ हात लाग्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ । तर, धेरै किसानको सोच स्वदेशीभन्दा विदेशी राम्रो भन्ने रहेकाले पनि यसको प्रवद्र्धनमा केही कठिनाइ रहेको अनुभव उनीहरूको छ । यसका लागि सबैभन्दा पहिला सरकारी निकायबाट नै स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने मनिष बताउँछन् ।

फोहर व्यवस्थापन तथा वातावरण संरक्षण
प्रारम्भ बायोटेकको स्थापनाले उच्च गुणस्तरको मल मात्र उत्पादन गरेको छैन, काठमाडौंको फोहोर व्यवस्थापनमा केही हदसम्म भए पनि सहयोगसमेत पुरयाएको छ ।
गड्यौलाका लागि आहार हुने खालका फोहोर उनीहरूले वरिपरिको घर तथा खेतबाट जुटाइरहेका छन् । जसमा कुहिने हरिया सागपातलगायत गाईको गोबर आदि छन् । यसले एकातिर स्थानीय जनताले आफ्नो खेर जाने वस्तुबाट आम्दानी गरिरहेका छन् भने सँगै प्रांगारिक मल प्रयोगबारे जान्नुका साथै यसबाट फाइदा पनि उठाइरहेका छन् ।

यतिमात्र होइन, उनीहरूले यस्तै व्यवसाय सञ्चालन गर्न चाहने युवाका लागि आवश्यक सरसल्लाह दिनुका साथै व्यवसाय सञ्चालन गर्न सहयोग पनि गरिरहेका छन् । आसपासका गाउँ अनि सहरका एक सयभन्दा बढी परिवारलाई घरेलु फोहर व्यवस्थापन प्लान्ट स्थापना गर्न सहयोग गरिसकेका छन् । उनीहरूको व्यावसायिक अभियानले वातावरण संरक्षण, विषादीरहित खाद्यान्न उत्पादन र माटो सुधारमा पनि प्रत्यक्ष–अप्रत्यक्ष रूपमा महŒवपूर्ण योगदान पुगेको छ ।

बजार र अवसर
नेपाल सरकारले प्रांगारिक मलसम्बन्धी कार्यविधि २०६८ पारित गरेपछि औद्योगिक रूपमा विभिन्न किसिमका अर्गानिक मल उत्पादन गर्ने क्रमले व्यापकता पाएको थियो । हाल नेपालमा दुई दर्जनभन्दा बढी संस्थाले व्यावसायिक रूपमा प्रांगारिक मल उत्पादन गरिरहेका छन् । जसमध्ये सातवटा गड्यौले मल उत्पादन गर्ने उद्योग छन् भने बाँकीले कम्पोस्ट मल उत्पादन गर्छ ।

रासायनिक मलमा सतप्रतिशत विदेशमा निर्भर हामी अर्गानिक मलमा पनि केही हदसम्म परनिर्भर नै छौं । नेपालमा अर्गानिक मल आयातमा एक दर्जन प्राइभेट कम्पनी सक्रिय छन् । उनीहरूले विभिन्न १६ थरि मल आयात गरिरहेका छन् । मुख्यरूपमा फिलिपिन्स, थाइल्यान्ड, स्पेन, भारतलगायत मुलुकबाट अर्गानिक मल भित्रिरहेको छ । वार्षिक ३,००० मेट्रिक टन मल नेपाल भित्रिरहेको छ । जसको औसत मूल्य ४० देखि ६० रूपैया प्रतिकिलो पर्छ । सरकारले तीन वर्षभित्र अर्गानिक मल प्रतिस्थापन गर्ने लक्ष्य लिएको छ । यो लक्ष्यमा युवाको मल उत्पादन गर्नेतर्फको लगावले महŒवपूर्ण भूमिका खेलेको छ ।

युवालक्षित अनुदान
कृषि विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०७१÷७२ मा कृषि व्यवसाय गर्न चाहने युवालाई ९५ करोड रूपैयाँ अनुदान बाँड्ने गरी बजेट निर्माण गरेको छ । युवा कार्यक्रममा १८ वर्षदेखि ५० वर्ष ननाघेका नागरिकले सहभागिता जनाउन पाउने छन् । चालु आर्थिक वर्ष २०७०÷७१ मा कृषिमा २१ अर्ब बजेट विनियोजन गरेको थियो भने युवालक्षित कार्यक्रमका लागि १२ करोड छुट्याइएको थियो ।

नेपाल सरकारका विभिन्न विभाग तथा मन्त्रालयका साथै निजी क्षेत्रबाट समेत कृषि क्षेत्रमा काम गर्न चाहनेका लागि विभिन्न अनुदान सहयोग व्यवस्था गरेको छ । माटो विभागले कृषि क्षेत्रमा लाग्ने युवाको प्रोत्साहनका लागि मेसिनरी औजारलगायत विभिन्न अनुदान दिँदै आएको छ ।

युवाले स्थापना गरेको प्रारम्भ बायोटेकलाई पनि स्थापना भएको तीन वर्षपछि माटो विभागले मेसिनरी औजार ल्याउन ५० प्रतिशत रकम सहयोगस्वरूप प्रदान गरेको छ । जसको सहायताले तयार भएको मललाई सानो टुक्रा पार्ने, छान्ने अनि प्याकेजिङसमेत मेसिनले नै गर्ने हँुदा समय पनि वचत भएको छ ।

काम सुरु गरिसकेपछि अवसरको ढोका आफै खुल्ने बताउँदै युवा पुस्तालाई कृषि क्षेत्रमा धेरै अवसर भएकाले अड्कलबाजी गर्नुभन्दा काममा लाग्दा घाटा नहुने र वातावरण पनि राम्रो हुने सुझाव उनीहरू दिन्छन् । नेपाल सरकारले कृषि क्षेत्र मात्र नभएर अन्य विभिन्न क्षेत्रमा केही गर्न चाहने युवाको लागि विभिन्न प्रकारका अनुदान व्यवस्था गरेको छ । यसका लागि युवा आफैँ सक्रिय भएर लाग्नुपर्ने र सरकारले पनि युवालाई आकर्षित गर्ने खालको नीति–नियम बनाउनु जरुरी छ ।

समस्या तथा चुनौती
युवालाई कृषि क्षेत्रमा आकर्षित गर्न नसक्नुमा प्रमुख समस्याका रूपमा नेपाल सरकारले कृषिका लागि छुट्टै पकेट क्षेत्र छुट्याएर लिजमा दिने व्यवस्था गर्न नसक्नु रहेको छ । अर्कोतर्फ अहिले धेरै युवा इजरायल, मलेसियालगायत विदेशी भूमिमा श्रम बगाइरहेका छन् । त्यहाँ उनीहरूले नयाँ तथा उपयोगी प्रविधि पनि सिकिरहेका छन् । कन्ट्रयाक्ट फार्मिङलाई सरकारले कानुनी रूपमा वैध बनाउने हो भने ती युवाले विदेशमा सिकेको सिपलाई यहीँ प्रयोग गरेर मनग्ये आम्दानी गर्न सकिने उनीहरू बताउँछन् ।

मल उत्पादन गर्ने विधि
मल कारखाना र वरिपरिबाट संकलन गरिएको गाईको गोबर अनि हरिया कुहिने फोहरलाई करिब एक महिनाजति छोपेर थुपारेपछि फोहर, गड्यौलालाई खुवाउन उपयुक्त हुन्छ । यसरी छोपेर राखिएको कच्चा पदार्थको तापक्रम ६० देखि ६५ डिग्री हुनुपर्छ । यति भइसकेपछि माटोको ड्याङमा रहेको गड्यौलाको माथिबाट डेढ फिट जति फोहोर हालिदिनुपर्छ । यसरी ड्याङमा हालेको फोहोर गड्यौलाले एकपटकमा आफ्नो तौल बराबर खाएर जाडोमा करिब तीन महिनामा र गर्मीमा ४५ दिनमै मल तयार गर्छ ।

ड्याङ अर्थात पिटको तापक्रम २० देखि ३० डिग्रीमा सन्तुलित गर्नु जरुरी हुन्छ । यसरी तयार भएको मललाई बिस्तारै झिकेर एक महिना जति छोपेर राख्नुपर्छ । यसले मलको गुणस्तर कायम राख्न मद्दत गर्छ । एक महिनापछि तयारी मललाई छान्न सजिलो होस् भनेर मेसिनको सहायताले सानो टुक्रा बनाइन्छ । छानिसकेपछिको मलमा किरा नलागोस् र गन्ध नआओस् भनेर केही माइक्रो अर्गानिज्म मिसाएर पाकेट बनाई बजारमा पठाइन्छ ।

बर्ष १४, अंक १०, पुस २०७२