भारतको अघोषित नाकाबन्दीका कारण नेपालीको जीवन दिनानुदिन कष्टकर बनेको छ । नाकाबन्दीको प्रभाव अर्थतन्त्रदेखि लिएर घरको भान्सासम्म परेको छ । क्षमताभन्दा बढी जनसंख्या भएको काठमाडौं उपत्यकामा त यसको प्रभाव झन् व्यापक रूपमा परेको छ । अधिकांशको चुलो बल्न छाडेको छ भने धेरैले खाना बनाउन विभिन्न वैकल्पिक उपाय अपनाउन थालेका छन् । इन्धन नपाएर पैदल यात्रा गर्नेको संख्या पनि बढ्दो छ । यसपालिको जनसरोकारमा निशा ओलीले राजधानीका केही गृहिणी तथा विद्यार्थीसँग तपाईंको चुलो कसरी बलिरहेको छ भनेर प्रश्न गरेकी छन् । उनीहरूको प्रतिक्रिया यस्तो छ ः

माटोको हिटरमा खाना बनाउँछु
अहिले चुलोे बाल्न मात्र होइन, सबै काममा निकै गाह्रो भएको छ । ग्यास, पेट्रोलको अभावले गर्दा सर्वसाधारणले साह्रै कष्टका साथ दिन बिताइरहेका छन् । एक महिनाअघि नै ग्यास सकिएको र त्यसमा पनि घरमा दुईजना साना बच्चा र सुत्केरी भएकाले एकदमै समस्यामा परेका छौं । नानीहरूलाई बिहान खाना बनाएर स्कुल पठाउनुप¥यो, उनीहरूलाई खाजा बनाउनुप¥यो, केटाकेटी भएको घरमा त्यसै पनि गाह्रो नै हुन्छ ।

त्यसमाथि पनि स्कुलले पनि घरबाटै खाजा बनाएर पठाउनु भनेर चिठी पठाउँछ । फेरि अहिले त बाहिरका अधिकांश होटल बन्द छन्, त्यसैले घरबाटै खाजा पठाउनुपर्छ । ग्यास अभावले सुत्केरीलाई पनि गाह्रो भएको छ । नेपालको लोडसेडिङ यही हो, भनेको बेला तातो पानी पनि तताएर दिन पाइएको छैन । बिहानै उठेर लाइन हेर्ने बानी परिसक्यो, लाइन छ भने राइसकुकरमा खाना बसाउँछु, छैन भने त्यही हिटरमा पालो गर्नुपर्छ । काठमाडौँबाहिरका सबै ग्यास सिलिन्डर काठमाडौँ भित्रिएकाले गाउँमा पनि ग्यास पाउन समस्या छ रे, नत्र त गाउँबाटै मगाउँथें । आगोको चुलोेमा खाना बनाऊँ भने अर्काको घर, भर्खरै कलर गरेको छ भन्छन् । कहिलेसम्म यसरी चल्ने हो कुन्नि ! ठूलाबडाकोमा समस्या भए पो हाम्रो समस्या पनि बुझ्थे । साह्रै मर्कामा परियो । सरकारले पनि केही गर्न सक्छ जस्तो लाग्दैन । यसरी कति दिन चलाउनु भन्नुस् त ?

विद्युतमा सहुलियत दिए राहत हुन्थ्यो
घरमा बूढाबूढी हुनुहुन्छ, त्यसैले ग्यास पहिलेदेखि नै स्टक गरेर राख्ने गरेको थिएँ । देशको अवस्था यस्तो छ, कहाँ कतिबेला के हुन्छ भन्न सकिन्न । हामी त जसोतसो बाचौंला तर बूढाबूढी भएको घरमा निकै गाह्रो हुन्छ । दसैँअगाडि नै दुईवटा ग्यास स्टक गरेर राखेको थिएँ तर दसैंमा परिवार तथा आफन्त भेटघाट गर्दा ग्यास सकिन लागेको थियो । नेपाल ग्यासको लाइनमा पनि बसें तर पाउन सकिन । घरनजिकैको डिपोमा नाम लेखाएर सिलिन्डर र पैसा अग्रिम छोडेको थिएँ, पछि त्यहींबाट आधा सिलिन्डर पाएँ, अहिले त्यही चलाइराखेका छौं । एकदमै फारु गरेर चलाउँछु । भएसम्म खाना र दाल राइस कुकरमा पकाउँछु । पानी पनि इलेक्ट्रोनिक कित्लीमै तताउने गरेका छौं । अब त सहज होला नि भन्दै समाचार हेर्ने दिनचर्या नै बनेको छ । राइसकुकरको भात मिठो भएन भनेर बुबा गनगन गरिरहनु हुन्छ, के गर्नु मसँग पनि अरू केही उपाय नै छैन ।

आजसम्म दाउराको चुलोमा खाना बनाउने बानी छैन । दाउरा बाल्नका लागि ठाउँ पनि छैन । इन्डक्सन चुलो त किनेकी छुँ तर पनि विद्युतको नियमितता नभएकाले राम्रोसँग प्रयोग हुन सकेको छैन । माटोको हिटरले पनि बिजुलीको बिल धेरै उठाउँछ भन्छन्, त्यही पनि पाउन धेरै गाह्रो रहेछ । सरकारले यो बेला घरमा प्रयोग हुने विद्युत सहुलियत दरमा उपलब्ध गराइदिने हो भने धेरैले राहतको महसुस गर्ने थिए ।

इन्डक्सन चुलो धेरै सजिलो
डेरामा आगो बाल्न मिल्दैन, आफ्नै घर हुनेले त चुलोमा दाउरा बाल्न सम्भव होला तर भाडामा बस्नेले के गर्ने ? दुईवटै सिलिन्डरमा ग्यास सकिएको छ । बत्तीको भरमा खाना बनाउने रुटिङ चलेको छ । खाना पकाउँदा–पकाउँदै बत्ती जाँदा भने निकै समस्या खेप्नुपर्छ । खाना पकाउन इन्डक्सन चुलो चलाएका छौँ । डेढ बर्षकी नानी छ । उसलाई समय–समयमा दूध तताउनुपर्छ, लिटो, जाउलो बनाउनुपर्छ । भनेको समयमा बत्ती हुँदैन । कम्तीमा बिहान–बेलुका खाना पकाउने समयमा बत्ती दिए राहत हुन्थ्यो । तर, केही दिनयता चाहेको बखत बत्ती हुँदैन, भए पनि भोल्टेज कम हुन्छ । खाना पकाउन इन्डक्सन चुलो निकै सहज र उपयोगी लागेको छ । ग्यास सकिने चिन्ताले सधैँ पिरोल्थ्यो । इन्डक्सन चलाउन थालेदेखि त्यस्तो चिन्ताबाट मुक्त भएकी छु तर खाना पकाउने समयमा विद्युत आपूर्ति नहुँदा भने कुरेर बस्नुपर्ने अर्को बाध्यता आइलागेको छ । जलस्रोतको धनी राष्ट्र नेपालमा दीर्घकालीन ऊर्जाको वैकल्पिक उपाय जलविद्युत नै हो । हाम्रोजस्तो मुलुकका लागि विद्युत उत्पादन योजनाका साथै उपयोगलाई समेत बढावा दिने नीति राज्यले लिनुपर्ने देखिन्छ ।

यहाँ पाइँदैन, घरबाट मगाउने उपाय छैन
नाकाबन्दीले दैनिकी निकै कष्टकर बनिरहेको छ । अहिलेसम्म त चलाउने ग्यास थियो तर आज कि भोलि भएको छ । कलेज पढ्ने मान्छे ग्यासको लाइनमा गएर बस्न पनि सम्भव छैन । त्यही पनि पाउने–नपाउने टुंगो हुन्न । दाउरामा पकाउन पनि कता दाउरा खोज्न जानु ? त्यसमाथि पनि भाडामा बस्ने मान्छे, कसरी आगो बाल्न सम्भव होला र ! कलेज जान पनि समस्या छ, बसमा कोचिएर जानुपर्छ नाकाबन्दीले पढाइमा पनि असर गरेको छ । एसएलसी पास गरेर काठमाडौं आएको, भुइँचालो, दसैँ–तिहारमा घर गइरहनु परेकाले काठमाडौँमा अझै पनि नयाँ नै छु । नजिकैको डिपोबाट ग्यास बाँड्न न त बाँडेको छ तर म त नयाँ मान्छे, त्यसमा पनि सानो मान्छे, डिपोले पनि ग्यास दिँदैन । बुबाआमा हुनुभएको भए खोजेर भए पनि जोहो गरिदिनु हुन्थ्यो होला । हामीलाई त कसैले पत्याउँदैनन् । बहिनीलाई लिएर बसेको छु । बहिनी पनि एकदम चिन्तित छे, अब ग्यास सकिएपछि के पकाएर खाने, अबको विकल्प के भन्ने कुरा नै थाहा छैन ?

साथीहरूले त गाउँबाट मगाएर ग्यास ल्याएँ भन्छन् तर मेरो घर पर्वत हो, त्यहाँबाट ग्यास ल्याउन सम्भव नै छैन । गाडी चढ्ने ठाउँमा पुग्न तीन घन्टा पैदलयात्रा गर्नुपर्छ । घरमा पनि के दुःख दिनुझैँ लाग्छ । हामी त पढ्न बसेको मान्छे, हिटर पनि एकदम महँगो पर्छ । इन्डक्सन चुलो किनेर के गर्नु, लाइन नै हुन्न । सरकारले विद्यार्थीका लागि केही सहुलियत गरिदिए सजिलो हुने थियो । यो त मेरो मात्र समस्या भयो, काठमाडौंमा रहेका मजस्ता हजारौं विद्यार्थीले यस्तै समस्या सामना गरिरहेका छन् । सरकार हामीलाई भविष्यको कर्णधार भन्छ तर हाम्रो समस्याको साक्षी मात्र भएर बसेको छ । अब सरकारको मात्र भर परेर भएन, बहिनीलाई पनि दुःख दिनु भएन, लाइनको सेड्युल हेरेर खाना र दाल राइसकुकरमा पकाएर खानु पर्ला कि !

बिजुलीले साथ दिए इन्डक्सनमा खाना
भारतले गरेको अघोषित नाकाबन्दीका कारण बजारमा ग्यास अभाव भएपछि मैले करिब एक महिनादेखि इन्डक्सन चुलोमा खाना बनाइरहेको छु । मसँग एउटा नेपाल ग्यासको सिलिन्डर थियो, त्यसैबाट खाना पकाउँथे, त्यो सकिएको पनि एक महिना भइसक्यो । काठमाडौँमा दाउरा पाउन निकै कठिन छ, बल्लतल्ल दाउरा पाए पनि कहाँ खाना बनाउने ? घरबेटीले जहाँ पायो त्यहाँ पकाउन दिँदैन । त्यसैले मैले ६,००० रूपैयाँ तिरेर इन्डक्सन चुलो ल्याएको छ । त्यसैमा खाना पकाइरहेको छु । त्यही पनि बिहान–बेलुका खाना बनाउने समयमा बिजुली नै हुँदैन ।

तीन महिनाभन्दा लामो समय भइसक्यो, तराईको जारी आन्दोलन तथा भारतीय अघोषित नाकाबन्दीले नेपालीको दैनिकीलाई झन् कष्टकर बनाइरहेको छ । अहिलेसम्म त गाउँबाट ल्याएको दाल र चामल बत्ति आएको बेला इन्डक्सनमा पकाएर खाने गरेको छु । थाहा छैन यो संक्रमणकाल कहिलेसम्म हुने हो । यस्तै भइरह्यो भने त भोलिका दिनमा समस्याले विकराल रूप लिने छ र भोकै बस्नुपर्ने अवस्था आउँछ ।
मेरो विचारमा ग्यासको वैकल्पिक उपाय भनेको तत्कालका लागि दाउरा, बायोग्यास हुनसक्छ तर त्यो दीर्घकालीन हँुदैन । राजधानीलगायत आसपासमा खासै वनजंगल छैन, त्यसैले पनि दाउरा त केही दिनका लागि मात्रै विकल्प होला । अब छिटो नेपाल सरकारले भारतको मात्रै भर नपरी चीनसँग पनि व्यापारिक नाका खोलेर चीनबाट आवश्यक सामग्री ल्याउने तथा नेपाली जनताको समस्या समाधान गर्ने प्रयास गर्नुपर्छ । तर, आज भारतले जसरी घाँटी निमोठ्यो, पूर्णरूपमा चीनमा मात्रै भर पर्दा भोलि चीनले पनि हाम्रो कमजोरीको फाइदा नउठाउला भन्न सकिँदैन । त्यसैले पनि ग्यासको दीर्घकालीन उपाय भनेको देशको स्रोत–साधनलाई उपयोग गर्नु र आफैँ स्वाबलम्वी बन्ने कोसिस गर्नु हो । वास्तवमा ग्यासको दीर्घकालीन वैकल्पिक उपाय भनेको लोडसेडिङ अन्त्य गर्नु तथा पर्याप्त मात्रामा विद्युत उत्पादन गर्नु नै हो ।

भुइँचालोले भत्काएको घरको दाउरा प्रयोग
गत वैशाखमा भुइँचालोले हाम्रो घर पूर्ण रूपमा क्षति भयो । माटो र काठले बनाएको धेरै पुरानो घर थियो । त्यसपछि हामी अस्थायी घरमा बसेका छौं । दसैँअगाडि दुईवटा ग्यास सिलिन्डर बचत गरेर राखेका थियौैं, चाडपर्वका बेला दुवै सकियो । भुइँचालोले घर भत्काएपछि त्यहाँको काठपातबाट अहिले भान्साको जोहो भइरहेको छ तर केही दिनमा यो पनि सकिने अवस्था आएको छ । ग्यासमा पकाउने बानी परेका हामी सहरमा बस्नेलाई आगोको चुलोमा पकाउनुपर्दा निकै गाह्रो हुँदो रहेछ । हाम्रो परिवार ठूलो छ, माटोको हिटरमा पकाउन पनि गाह्रो पर्छ । फेरि भनेको बेला लाइन हुँदैन, काममा जानेलाई समयमै खाना दिनुप¥यो, यो मेरो मात्र नभएर सम्पूर्ण गृहिणीको समस्या हो । के गर्नु हामी सर्वसाधारणको पीरमर्का उच्च तहमा बस्नेले कहिले बुझ्ने होलान् ? ग्यास अभावले छोराछोरीलाई पनि स्कुल पठाउन गाह्रो भएको छ । पहिला–पहिला त दिनहुँ घरबाटै टिफिन बनाइदिन्थें, अहिले त्यही काम गर्न पनि धेरै गाह्रो छ, स्कुल क्यान्टिनको खाजा काँचै थियो भन्दै गुनासो गर्दै थिए छोराछोरी ।

सामुहिक भान्साले मन जोडेको छ
भारतको अघोषित नाकाबन्दीले हामीलाई धेरै दुःख दिएको छ । एउटा घरमा नौ परिवार एउटै परिवार जस्तै गरी बसेका थियौं । भुइँचालोको समयमा सबैजना ज्यान जोगाउन लागिपरेका थियौं, कोही आफन्तकोमा त कोही राजधानी छाडेर आफ्नो गाउँ लागेका थियौं । त्यो समयमा आफू भलो त जगत भलो भन्ने सोचाइ थियो तर अहिले नाकाबन्दीले त्यो भावना तोडिदिएको छ ।

हामी सबै एक हौं भन्ने भावना सिर्जना गराएको छ । म यो घरको अभिभावक हुँ, त्यसैले सबैलाई खानपिन गर्ने जिम्मा मेरो काँधमा आइलागेको छ । घरमा बस्ने धेरैजसो विद्यार्थी छन् । यस्तो संकटको बेला तिनीहरू छट्पटाएको देख्दा मन दुखिरहेको थियो । नौ परिवारमै ग्यास अभाव भएपछि सबैजना भेला भएर वैकल्पिक उपायबारे सोच्न थाल्यौं । लामो समयसम्म पालो पर्खंदा पनि ग्यास पाउने छाँटकाँट नदेखिएपछि हामी सामूहिक भान्सामा खाना खान थाल्यौं । जसले गर्दा भुइँचालोले भत्काएको हाम्रो मन फेरि एक भएको छ । हामीले गौशालाबाट प्रतिकिलो २० रूपैयाँका दरले दाउरा किनेरल्यायौं । अहिले त्यही दाउराबाट बिहान–बेलुकाको छाक टरेको छ । खाना बनाउने पनि तालिका बनाएका छौं । जसले गर्दा सबैको पालो आउँछ, मनमुटाव हुँदैन । ठूलो परिवार भएकाले विद्युतीय प्रविधिबाट चल्ने उपकरणबाट खाना बनाउन सम्भव छैन ।

स्टोभमा खाना पकाउँछौं
खै मोदीले ग्यास दिएन भन्छन्, हाम्रो जमानामा यस्तो केही थिएन । खोटाङमा जन्मेर त्यहीँ हुर्केको मान्छे हुँ । दिनभरि घाँस–दाउरा गर्न, स्याउला खोज्न गइन्थ्यो । बेलुका घर आउँदा दाउराको भारी बोकेर आइन्थ्यो । गोठमा ६ महिनालाई पुग्ने दाउराको हार बनाएर राखिन्थ्यो । यस्ता ग्यास, बिजुलीबाट चल्ने चुलाको नामोनिशान थिएन । चुलोमा बनाएको खाना त कति मिठो, मिठो । बाध्यताले गर्दा छोराबुहारीसँग काठमाडौंमा बस्नुपरेको छ । यहाँ त जताततै घर मात्र छन्, दाउरा बाल्ने ठाउँ कहाँ हुनु ? सहरमा बस्ने मान्छेले चुलो बाल्नु हुँदैन रे ! दाउरा बाल्दा इज्जत घट्छ रे ! ८० औं वसन्त पार गरेकी बूढीले पाँच दिनसम्म पानी र चिउरा खाएर गुजारा चलाएँ, अहिले बुहारीले स्टोभ ल्याएकी छ । त्यही स्टोभमा खाना बनाउँछे । मट्टीतेल पनि कति दिन लाइनमा बसेर ल्याएकी हो । अब यसरी कति दिन चल्ला ?

चुलोमा बानी परेकाले समस्या कम
म पेप्सीकोलाको सुकुम्बासीटोलमा बस्छु । स्कुल जाने दुई बच्चा छन् । नाकाबन्दी लागेदेखि केही मात्रामा समस्या भएको छ । सहर आएपछि ग्यासमा पकाएर खाने बानी परे पनि पहिले चुलोमा पकाएर खाने बानी परेको मान्छे भएकाले नाकाबन्दीको खासै असर परेको छैन । ग्यास अभाव भएर अधिकांश राजधानीवासीले दाउरालाई विकल्प बनाएपछि भने हामीलाई समस्या परेको छ । बिहान–बेलुका अरूको घरमा काम गरेर जीवन चलाउने गरेको छु । काम गर्न गएको घरबाट दाउरा लिएर आउँछु । अस्ति कोटेश्वरमा काम गर्न जाँदा ग्यास पाइन्छ रे भन्ने खबर सुनें । पाइन्छ भने किन नलिने त भनेर एउटा ग्यास लिने विचार गरें तर ६,००० रूपैयाँ पर्ने सुनेपछि अचम्ममा परें । त्यही पनि सिलिन्डर खाली भएपछि फिर्ता लगिदिनुपर्ने रे, कस्तो जमाना आयो ।

नाकाबन्दीपछि अहिले यो टोलमा चुलोको व्यवसाय फस्टाएको छ । थुप्रैले माटोको चुलो बनाउँदै बेचेर पैसा कमाउन थालेका छन् । एउटा माटोको चुलोको २०० रूपैयाँ पर्छ । अहिले त यहाँ माटोको चुलो किन्न आउने मान्छेको भिड नै लाग्ने गरेको छ ।

बर्ष १४, अंक १०, पुस २०७२