सुरेश किरण
करिब चालिसवटा तिहार गयो होला, हरेक तिहारमा काठमाडौं उपत्यकाभरि ‘न्हूदँया भिन्तुना’ गुन्जिन थालेको । यो नारा सुनेपछि धेरैलाई लाग्दो हो, काठमाडौं उपत्यकाको आफ्नै संस्कृति, सम्पदा र सभ्यता मात्र होइन संवत् पनि आफ्नै रहेछ जसलाई नेपाल संवत् भनिन्छ । नेपालमा नेपाल संवत्को नयाँ वर्षमा ‘न्हूदँया भिन्तुना’ भन्न थालिएको करिब ४० वर्ष भयो । नेपाल संवत् आफैँ सुरु भएको चाहिँ ११३६ वर्ष भयो । तर, ठीक यही दिन ‘नयाँ वर्ष’ मनाउन थालिएको भने त्यो भन्दा पनि धेरै वर्ष भयो ।

तिहारको म्हपुजाका दिन नेपाल संवत्को नयाँ वर्ष मान्ने चलन छ । तर, म्हपुजाका दिन नयाँ वर्ष मान्ने चलन भने नेपाल संवत् आफै भन्दा पनि पुरानो हो । म्हपुजा नेपाल संवत् सुरु भएको ऐतिहासिक कारणले मात्र होइन, काठमाडौं उपत्यकाको प्रकृति र काठमाडौंवासीले मान्ने संस्कृतिको कारणले पनि नयाँ वर्षको दिन हो । आजभन्दा ११३६ वर्षअघि काठमाडौंवासीले ‘न्हूदँया भिन्तुना’ भनेर होइन, म्हपुजा गरेर नयाँ वर्ष मनाउने गर्दथे ।

काठमाडौंवासी प्रकृति पुजक हुन् । प्रकृतिमा आफूलाई उपयोगी हुने हरेक वस्तु र जीवलाई उनीहरू पूजा गर्छन् । तिहारमा काग र कुकुरको पूजा गर्छन्, जनै पुर्णेमा भ्यागुतोको पूजा गर्छन्, नाग पञ्चमिमा सर्पको पूजा गर्छन् । यहाँसम्म कि आफ्नै शरीरको समेत उनीहरू पूजा गर्छन् । जसलाई ‘म्हपुजा’ भनिन्छ । ‘म्ह’ को अर्थ हुन्छ शरीर । अतः ‘म्हपुजा’ अर्थात् शरीरको पूजा । आफ्नो शरीरलाई आफैँले पूजा गर्ने यो अनौठौ परम्परा नेपालमा अरू कुनै जातिमा पाइँदैन ।

तर किन पूजा गरिन्छ त आफ्नै शरीर ? नेपाल अहिले पनि कृषिप्रधान मुलुक हो । काठमाडौं उपत्यका अहिले पनि कृषिका लागि सबैभन्दा उर्बर भूमि हो । नेपालको ७५ जिल्लामध्ये अहिले पनि धान बालीमा सबैभन्दा बढी उत्पादकŒव भक्तपुरमा भएको मानिन्छ । त्यसैले काठमाडौं उपत्यकाको जीवन शैली र यहाँ मनाइने सबैजसो संस्कृतिहरू कृषिचक्रमा आधारित छन् । हरेक वर्ष जेठतिर रोपाइँ सुरु हुन्छ । असारतिर सम्पन्न हुन्छ । रोपाइँ सकेपछि उपत्यकामा जात्रा र चाडपर्वको लहर सुरु हुन्छ । असोजतिर कटान सुरु हुन्छ । कटान सकिए लगत्तै नयाँ धान भित्रिएको खुसियालीमा ‘मोहनि’ जस्तो ठूलो चाड मनाइन्छ । मोहनि पर्वका बेला कृषि कार्यमा प्रयोग गरिने सम्पूर्ण औजारहरू (अन्य पेशाका भए उक्त पेशामा प्रयोग हुने ज्यावल) लाई पूजा गरिन्छ ।

मोहनि लगत्तै उक्त वर्षको कृषिबाट आफूलाई प्राप्त भएको र अरूलाई दिनुपर्ने धानको हिसाब किताब राख्ने काम हुन्छ । साथै आफूसँग भएको धान बेचबिखन गर्ने र त्यसबाट प्राप्त हुने आम्दानीको हिसाब किताब पनि यही बेला तयार हुन्छ । लक्ष्मीपूजाका दिन आफ्नो आर्थिक कारोवारको अन्तिम ‘वासलात’ तयार गरिन्छ र हिसाब ‘क्लोज’ गरिन्छ । अनि आफूले मुनाफा गरेर संकलन भएको सम्पत्ति जो छ त्यसको पूजा गरिन्छ । लक्ष्मीपूजा मूलतः धनको पूजा हो । धनकी देवी लक्ष्मी भएकाले धनको पूजा गर्दा लक्ष्मीको चित्र पनि राख्ने गरिन्छ । तर, त्यो चित्र भारतमा छपाएर ल्याएको लक्ष्मीको फोटो भने होइन । लक्ष्मीपूजाका दिन काठमाडौंवासीले प्रयोग गर्ने लक्ष्मीको चित्र नेवार समुदायभित्रको चित्रकार (पुं) जातिले हातैले बनाएको महालक्ष्मीको चित्र हो, जसमा रातो वर्णकी देवी लक्ष्मीले दायाँ हातले ‘ज्वलान्हाय्कं’ र बायाँ हातले ‘सिन्हःमू’ समाएका हुन्छन् । ज्वलान्हाय्कं र सिन्हःमू दुवै नेवार संस्कारको सुखद् कार्यमा प्रयोग हुने सांस्कृतिक साधन हुन् । लक्ष्मीपूजाका दिन आफ्नो सम्पूर्ण कारोवारको हिसाब किताब ‘क्लोज’ गर्ने चलन अझै पनि केही व्यापारिक समूहमा कायमै छन् ।

यसरी लक्ष्मीपूजाका दिन त्यो वर्षको हिसाब किताब बन्द गरिसके पछि त्यसको भोलिपल्टै अर्को आर्थिक वर्षको लागि आफूलाई तयार गर्न म्हपुजा गरिन्छ । अघिल्लो वर्ष झैँ आउँदो वर्ष पनि धेरै काम गर्न सकियोस्, मेहनत र परिश्रम गर्न सकियोस्, आय आर्जन गर्न सकियोस्, शरीरलाई कुनै पनि रोगव्याधिले दुःख नदेओस् भन्ने कामना गरी आफ्नै शरीरलाई पूजा गर्ने काम हुन्छ । जसलाई म्हपुजा भनिन्छ । बितेको वर्षको सबै हिसाब किताब सक्याएर अर्को वर्षको लागि पुनः आफूलाई तयार गर्ने दिन भएकाले म्हपुजा सांस्कृतिक रूपले मनाउने एकखालको नयाँ वर्ष नै हो । कृषि कार्यको आरम्भ र अन्त्य गर्ने मौसम यही भएको कारणले प्राकृतिक रूपले पनि नयाँ वर्ष मनाउने समय यही हो । प्रकृतिको यो चक्रलाई सांस्कृतिक स्वरूप दिन म्हपुजा गरिएको हो । अतः म्हपुजासँग नयाँ वर्ष मनाउने प्राकृतिक र सांस्कृतिक आयाम त थियो नै, ११३६ वर्ष अघि शंखधर साख्वाले त्यसमा ऐतिहासिक आयाम पनि थपिदिए ।

कुनै पनि संवत्को नयाँ वर्ष निर्धारण हुने तीन कारण भनेका यी नै हुन्– प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक । नेपाल संवत्को नयाँ वर्षमा यी तीनवटै कारण समाविष्ट छन् । कृषि कार्यको सुरु र अन्त्य प्राकृतिक कारण, म्हपुजा गर्ने चलन सांस्कृतिक कारण, शंखधर साख्वालले ऋणमुक्त गरी नयाँ जीवन सुरु गराइदिएको दिन ऐतिहासिक कारण । प्राकृतिक र सांस्कृतिक रूपमा हजारौं वर्षदेखि मनाउँदै आइरहेको नयाँ वर्षमा ऐतिहासिक कारण थपिएको मात्रै ११३६ वर्ष भयो ।

वास्तवमा नेपाली जनताले प्राकृतिक रूपले नयाँ वर्ष मनाउने कुनै उपयुक्त मौसम छ भने त्यो यही मौसम हो । घरमा नयाँ धान भित्रिएको छ । बालीनालीबाट एकछिन फुर्सद मिलेको छ । यतिबेला जति आनन्द अरू कुन बेला होला र ?

माथि पनि भनियो, म्हपुजाका दिन आफ्नो शरीरलाई आफैँले पुजा गरिन्छ । तर यो आफ्नो शरीरलाई आफै पूजा गर्ने चाहिँ कसरी ? काठमाडौंवासीले त्यसको पनि एउटा अनौठो विधि बनाएको छ । भगवानको पूजा गर्ने भनेर हामी सोझै भगवानलाई पूजा गर्न सक्दैनौं । पूजा गर्ने त भगवानको प्रतिविम्ब (मूर्ति वा तस्बीर) लाई हो । म्हपुजा गर्दा पनि सबैभन्दा पहिले मानिसको प्रतिविम्बलाई उनको आफ्नै सामू उतार्ने काम गरिन्छ । त्यो हो म्हपुजा गर्ने मानिसको मन्दः (मण्डल) बनाउने कार्य । आफू बसेको ठाउँमै त्यस्तो मन्दः बनाइन्छ । विभिन्न ठाउँमा विभिन्न आकार प्रकारका मन्दः बनाउने चलन छ । तर सबै ठाउँमा समान हुने एउटै कुरा हो– मन्दः बनाउँदा त्यसमा पाँचवटा वस्तु प्रयोग गरिएकै हुन्छ– पानी, तेल, चामलको पिठो (पोताय्), जौ (ताय्) र दियो (खेलुइताः) । यी पाँच वस्तु भनेको पञ्चतत्वका प्रतीक हुन्– जल, वायु, पृथ्वी, आकास र अग्नि । मानिसको शरीर पनि पञ्चतŒवले नै बनेको हुन्छ । पञ्चतŒवले बनेको शरीरको प्रतिबिम्ब स्वरूप पञ्चतŒव नै प्रयोग गरी बनाइएको मन्दःमा म्हपुजा गरिन्छ । म्हपुजामा गरिने सबैभन्दा महŒवपूर्ण कार्य भनेको ख्येँ सगं (सगुन) ग्रहण हो । साथै विमिरा समेत रहेको फलफूलको सगुन (सि सगं) ग्रहण पनि हो ।

म्हपुजा ‘म्ह’ अर्थात शरीरको मात्रै पूजा हो । आत्माको पूजा होइन । शरीर त भौतिक वस्तु हुन् । अतः शरीरको पूजा गर्दा ‘कसको शरीर ?’ भन्ने प्रश्न आउन सक्छ । यो त्यसको शरीर हो जो स्वयम् शरीर भित्रै बसेको छ । ‘म्ह’ भित्र एक जना ‘म’ बसेको छ । यो ‘म्ह’ त्यही ‘म’ को हो । ‘म्ह’ को पूजा गर्दा त्यहाँ ‘म’ भन्ने पनि कोही छ भन्ने आभास मिलिरहेको हुन्छ । ‘म्ह’ को पूजा गर्दै ‘म’ को स्मरण गर्ने यो अनौठो दर्शन हो । अध्यात्म दर्शनले ‘म्ह’ केही होइन, ‘म’ नै सबथोक हुँ भन्छन् । तर काठमाडौंका आदिवासी नेवार दर्शनले ‘म’ मात्र होइन ‘म्ह’ पनि केही हो भनेर सिकाउँछन् । हुन पनि, बिना ‘म्ह’ को ‘म’ के काम ?

बर्ष १४, अंक ९, मंसिर २०७२