क्यान्डिडा बेभेरिज
घना तथा सुन्दर वनले ढाकिएको भुटानको हिमाली क्षेत्रमा पर्ने दुर्गम गाउँ छेन्देब्जी । यो गाउँमा कहिलेकाहीँ बाघ, हिमचितुवा र जंगली बँदेल घुमिरहेका भेटिन्छन् । सात वर्षअघिसम्म पनि यो गाउँ निर्जर थियो । गाउँमा बिजुली आउनुअघि केटाकेटीलाई पढ्न सुविस्ता थिएन । उनीहरू जसोतसो गरेर दिउँसो केही समयका लागि स्कुल त पुग्थे । तर, मट्टीतेल किन्ने पैसा नहुँदा साँझ परेपछि विद्यार्थीले पढ्ने कुरा असम्भवजस्तै थियो । बिजुली आएपछि गाउँ निक्कै फेरिएको छ ।

घाँस–दाउराका लागि पहाडको भिरालो भागमा कहिलेकाही पञ्जाको अनौठा छाप देख्दा गाउँका मानिसको मुटु चिसो हुन्थ्यो । उनीहरूको होसहवास नै उड्थ्यो । ‘म नौ वर्षकी हुुँदा स्याउला लिनका लागि लेकतिर जाँदा अनौठो दृश्य देखेँ,’ ८० वर्ष पुग्न लागेकी पेमा दोर्जी चाउरिएको अनुहारमा मुस्कान छर्दै भन्छिन् । नौ रात अनवरत हिउँ परेर सामान्य रूपमा आकाश खुल्नासाथ पेमा त्यस क्षेत्रमा गएकी थिइन् । ‘हिउँबाट बच्नका लागि यती उच्च हिमाली क्षेत्रबाट तल झरेको हुनुपर्छ, मैले त्यहाँ यतीले छाडेको पञ्जाको अनौठो छाप देखेँ,’ उनी भन्छिन् । यो घटनाको ६० वर्ष बितिसक्दा पनि उनी अनौठो दृश्यले मनमा उब्जिएको त्रास अझै सम्झिन्छन् । ‘त्यस्तो अनौठो छाप देखेपछि म त्यहाँ केही क्षण पनि बस्न सकिनँ । हतपत्त दौडिएर घरतिर भागेँ,’ उनी सम्झिन्छन् । खाना पकाउने चुलोको वरिपरि झुम्मिएका केटाकेटी पेमाको कथा चाख मानेर सुनिरहेका थिए । बाहिरपट्टि दुईतल्ले गाईवस्तुको गोठ छ । सूर्यास्तपछि यो बस्तीमा विस्तारै अँध्यारो छाइरहेको छ । गाउँका बूढापाकाले यो समयमा यती, जसलाई स्थानीय भाषामा ‘मिगोई’ भनिन्छ, को कथा सुनाउने परम्परा छ ।

‘जब म स्याउला नल्याइकन खाली हात घर फर्किएँ, मेरा बुबाआमा निरास भए । मैले उनीहरूलाई यतीको पञ्जाको छाप देखेको कुरा बताए । छाप ताजै भएकाले यती केही समयअघि हिँडेको हुनुपर्छ भन्ने मेरो आँकलन थियो । यो देखेर म ज्यादै डराएको कुरा पनि सुनाएँ,’ उनी भन्छिन् । पेमाको पछाडिपट्टि बसेको केटो उनका प्रत्येक शब्द सुनेर चकित परिरहेको थियो । उसले विस्फारित आँखा घुमाउँदै उत्तेजित हुँदै सोध्यो, ‘त्यो छाप अरू जंगली जनावरको पनि हुनसक्छ नि !’ त्यसपछि पेमाले मुन्टो हल्लाएर यो घटनालाई अझै विस्तृत रूपमा बताउन थालिन् । ‘मैले आफूले देखेको पञ्जाको छापबारे बुवालाई सुनाएँ, उहाँले यतीको खुट्टा मान्छेको भन्दा ठिक उल्टो हुने बताउनुभयो । मैले देखेको पञ्जाको छाप बुवाले भनेअनुसारकै थियो । यसबाट म त्यो छाप यतीकै हो भन्नेमा ढुक्क भएँ,’ उनी भन्छिन् ।

भुटानभरि के विश्वास गरिन्छ भने यती पदयात्रीभन्दा ठ्याक्कै उल्टो हिँड्छ । तर, पेमाले बताएको कथाचाहिँ अलि फरक देखिन्छ । उनका अनुसार यतीको खुट्टाको अग्लो भाग अगाडिपट्टि हुन्छ । अर्को सामान्य विश्वास चाहिँ के छ भने यतीले आफ्नो शरीर निहुराउन सक्दैन । यतीसँग जोडिएका यस्ता थुप्रै प्रसंग सुन्न पाइन्छ । लेखक कुन्जाङ छोदेनका अनुसार अधिकांश भुटानीका परम्परागत घरको ढोका ज्यादै सानो हुन्छ, सुरक्षाका लागि नै उनीहरूले यसो गरेको हुनुपर्छ । छोदेनले आफ्नो ‘यतीको भुटानी कथा’ भन्ने किताबमा परम्परागत घरको दैलोको बारेमा व्याख्या गरेकी छन् । टाउको निहुराएर र हातखुट्टा मज्जाले नबंग्याइकन त्यस्ता दैलोबाट घरभित्र पस्न मुस्किल हुन्छ । शायद, यती घरभित्र सजिलै नपसोस् भन्ने उद्देश्यले भुटानका दुर्गम गाउँमा यस्तो दैलो र झ्याल बनाउने गरिएको हुनुपर्छ ।

७३ वर्षीय कर्मा छिरिङ आफ्नो खेतीपातीको छेउमा रहेको सयौं वर्ष पुरानो घरमा बस्छन् । घरको खम्बामा विभिन्न खालका काल्पनिक जन्तुको चित्र कुँदिएको छ, यसो गर्नाले घरभित्र नराम्रो आत्मा पस्दैन भन्ने विश्वास छ । उनी यतीको बारेमा आफूले जानेको कुरा बताउन राजी भए ।

‘मैले बुवाआमा तथा हजुरबुवा–हजुरआमाबाट सुनेको कथाको आधारमा यतीको शरीरको रौ बाँदरको जस्तै हुन्छ तर यसको खुट्टा–हातचाहिँ हाम्रो जस्तै र आकारचाहिँ अझै ठूलो हुन्छ । यतीको टाउकोमा लामो तथा बाक्लो कपाल हुन्छ र यो छातीसम्म आइपुग्छ,’ उनी भन्छन् । उनका अनुसार यतीको खोजीका लागि भुटानका तेस्रो राजाले अनुसन्धान टोली बनाउने भनेका छन् । यतीसँग जम्काभेट भयो भने ओरालो भएको ठाउँतिर भाग्नुपर्छ, ओरोलोतिर यती दौड्दा कपालले आँखा तथा अगाडिको भाग पूरै छोपिने भएकाले सामुन्नेको वस्तु देख्न सक्दैन । अग्लो स्थानतिर हिँड्दा भने यतीको कपाल पछाडिपट्टि जाने भएकाले अगाडिको वस्तु हेर्न सजिलो हुन्छ । त्यसले गर्दा सामुन्नेमा मान्छे भेटियो भने यतीले सजिलैसँग आक्रमण गर्छ । अहिलेसम्म गाउँका कसैलाई पनि यतीले आक्रमण नगरेको कर्माले सुनाए । भुटानको सुदूरपूर्वी क्षेत्रमा भने यतीले आक्रमण गरेको घटना आफूले सुनेको उनले जानकारी दिए ।

कर्माका अनुसार मानिसहरूको एउटा समूह हिमालमा विशेषखालको रुख हेर्न गएको थियो, त्यो रुखको काठबाट उनीहरू मुकुन्डो बनाउन चाहन्थे । त्यही बेलामा यती देखा परेर तिनीहरूलाई लखेट्यो । त्यहाँ गएकोमध्ये एउटा मानिस हरायो । ऊ एउटा सानो घरमा लुकेर त्यही ध्यान गर्न थाल्यो । तर, त्यहाँ यती आएर घर भत्कायो, पर्खाल सबै उप्कायो । यतीले त्यो मान्छेलाई खाएन तर निर्दयीपूर्वक मा¥यो । उसको शरीरको सबै भाग क्षतविक्षत पारेर मिल्काइदियो ।

त्यसपछि कर्माले मलाई वनको किनारा हुँदै भिरालो बाटोतर्फ लगे । टाढाको रुखबाट एउटा कोइलीले गीत गाइरहेको थियो । वनमा फुलेको पहेलो फूलबाट मीठो बासना आइरहेको थियो । कर्माले सानो चट्टानमा उभिएर हिमालतर्फको भञ्ज्याङ देखाए । ‘तिमीले हिमालको उच्चभागमा बादलको गुच्छा देखिरहेका छौ ? त्यहाँ चौपाया चर्नका लागि खुलाचौर छ । त्यो भागबाट हिँडेर अझै टाढा गएपछि मात्र यतीको खुट्टाको डोब देख्न सकिन्छ ।

‘तिमी फेरि त्यहाँ कहिले जान्छौं ?’ मैले सोधे ।
कर्मा हाँस्छन् । ‘म बूढो भइसकेँ । मलाई लाग्दैन कि अब म साना चुचुरा पनि उक्लिन सक्छु । मेरालागि अग्ला पहाड चढ्ने कुनै उपाय छैन, अहिले त्यो स्थानमा केही मानिस मात्र जान सक्छन्,’ उनले सुनाउँछन् । छेन्देब्जीका युवा किसान नोर्बुले यतीको प्रमाण देखेका छन्, उनी नै यतीको खुट्टाको छाप देख्ने पछिल्ला व्यक्ति हुन् । अहिले नोर्बु ३८ वर्षका भए । १८ वर्षको हुँदा उनी गाईवस्तु लिएर हिमालतिर गएका थिए । त्यसबेला उनले हिउँमा यतीको खुट्टाको ठूलो छाप र शरीरको चिनो देखेका थिए । कपालले अगाडिको भाग ढाकिएकाले गर्दा यतीले आसपासको केही चिज देख्न सकेन । यसको पाँच वर्षपछि नोर्बुले अस्वाभाविक स्थान पत्ता लगाए, जहाँ एउटा यस्तो अचम्मको गुफा र बाँसको लाठी थिए ।

‘यतीले बाँस भाँचेर त्यसलाई अर्धवृत्ताकार आकारमा ढाली त्यसको दुई छेउ जमिनमा गाडेको थियो । त्यसलाई गुफाजस्तो बनाएर ऊ भित्रपट्टि सुत्थ्यो । मैले त्यो ओडारभित्र यतीले छाडेका चिनो देखेको थिएँ,’ नोर्बु भन्छन् । नोर्बु गाउँभन्दा माथि रहेको गुफामा पुगेको खबर सबैतिर फैलियो । यसको दुई महिनापछि नोर्बु घर बनाउन काठ काटिरहेको थियो, त्यही बेला दुईजना मानिस आइपुगे । उनीहरूले नोर्बुलाई ओडार देखाइदिन आग्रह गरे । नोर्बु आफ्नो काम रोकेर उनीहरूलाई गुफा देखाइदिन सहमत भए । उनीहरू तीनैजना गुफा भएको स्थानतिर हिँडे । उक्त स्थान टाढा भएकाले तीनैजनाले यतीको गुफामा रात बिताउनुपर्ने भयो । यो यात्रा शान्तिपूर्ण तरिकाले सम्पन्न भयो । यो अन्तिमचोटि थियो, त्यसयता छेन्देब्जीका कोही पनि बासिन्दाले यतीको चिह्न देखेका छैनन् । नोर्बुका अनुसार अहिले मानिसहरू दाउरा खोज्न वा गाईवस्तु चराउनका लागि लेकतिर जानुपर्दैन । उनीहरूले खानेकुरा ग्यासले पकाउन थालेका छन् । खेती गर्ने तरिका पनि पहिले भन्दा परिवर्तन भएको छ ।

गाउँलेले आलु, तैलीयबाली जस्ता छिटो नगद कमाउन सकिने नगदेबालीमा आफ्नो समय लगाउन थालेका छन् । पहिले घाम डुब्नुबित्तिकै दिन सकिन्थ्यो । अहिले बिजुलीबत्ती भएकाले राति अबेरसम्म मानिसले घरमै बसेर कम्बल, सलजस्ता सामग्री बनाएर राजधानी थिम्पुमा रहेको बजारमा बेचबिखन गर्न सक्छन् । ‘धेरै तरिकाले मानिसको जीवनमा सुधार आएको छ तर नयाँ पिँढीलाई सुनाउने खालका कथा भने हराउँदै गएको छ,’ नोर्बु भन्छन्, ‘हामी दुई दशकभन्दा बढी समयदेखि हिमाल गएका छैनौं र अझै पनि हाम्रो हिमाली क्षेत्रमा यती छ भन्ने कुरामा हामी साँच्चिकै विश्वस्त छैनौं तर यसले केही फरक पार्दैन किनभने कतै न कतै त पक्कै यती छ नि !’

कसैले यतीलाई फेरि फेला पार्लान् भन्ने नोर्बुलाई लाग्दैन किनभने यो चलाख जनावर हो । यो एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सरिरहन्छ । ‘मैले यती भेटेको ठाउँमा केही मानिस मात्र जानसक्छन् तर उनीहरूले त्यहाँ यतीलाई भेट्छन् भन्ने कुनै निश्चित छैन । एउटा कुरामा भने म विश्वस्त छु – यसको अस्तित्वचाहिँ छ,’ नोर्बु निर्धक्कसाथ बताउँछन् ।
बिबिसी म्यागेजिन

बर्ष १४, अंक ९, मंसिर २०७२