जब कुनै समस्या उत्पन्न हुन्छ, तब राजधानीको अव्यवस्थित विकासको मुद्दा टड्कारो रूपमा अगाडि आउँछ । अहिले राजधानी काठमाडौंका वासिन्दा विभिन्न वस्तुको अभावै अभावले ग्रस्त छ । अव्यवस्थित विकास तथा अनियन्त्रित जनसंख्याको चाप अहिले चुनौतीको विषय नै बनेको छ । यसलाई समयमा नै उचित व्यवस्थापन गर्न सकिएन भने यसले विकराल रूप लिने निश्चित छ । यसबाट छुट्कारा पाउन के के गर्न सकिन्छ भनेर निशा ओलीले सर्वसाधारणसँग गरेको कुराकानी यसपल्टको जनता सरोकारमा प्रस्तुत गरिएको छ ः

उद्योगहरू गाउँ पु¥याउनुपर्छ
काठमाडौंमा एउटा स्वस्थ्य सहर धान्नसक्ने सीमा नाघेर जनसंख्याको विष्फोट भएको छ । बस्तीहरू लापरवाही हिसाबले बसेका छन् र विकास पनि नियन्त्रण बाहिर गएको देखिन्छ ।
विकासको विकेन्द्रीकरण काठमाडौंको जनसंख्याको उपचार गर्ने पहिलो आधार हो । नयाँ संविधानमा प्रस्तावित प्रदेशमा विकासलाई एउटै स्थानमा खुम्चिनेभन्दा पनि प्रदेशभरि फैलने प्रकृतिको नीति र संयन्त्र बनाएर मान्छेलाई सहरमा झुम्मिनबाट रोक्न सकिन्छ । उद्योग काठमाडौंबाहिर खोल्न प्रोत्साहन गर्ने नीति अवलम्बन गर्नुपर्छ । त्यसका लागि पूर्वाधार विकासमा सरकारले बजेट छुट्याउन आवश्यक छ । उदाहरणका लागि इन्टरनेटमा आधारित उद्योग गाउँबाट पनि सञ्चालन गर्न सकिन्छ । तर, गाउँमा उच्च गतिको इन्टरनेट हुन आवश्यक छ, यसतर्फ सरकारको ध्यान जान जरुरी छ । विकासलाई भौगोलिक समानुपातमा अघि बढाउने सुदृढ र दीर्घकालीन योजना बनाएरकार्यान्वयन गर्नुपर्छ । भवन निर्माणसंहितालाई कडाइका साथ लागू गर्नुपर्छ । घर निर्माणका लागि न्यूनतम क्षेत्रको निर्धारण गर्ने, घर बनाउँदा अगाडि–पछाडि ठाउँ छोड्नुपर्ने नियम बनाउने र कडाइका साथ लागू गर्ने हो भने जहाँतही घर बन्दैनन् ।

सके नगरपालिका आफैँले नसके कुनै निर्माण कम्पनीलाई ठेक्का दिई पहिला सडक, धारा, टेलिफोन, अप्टिकल फाइबरजस्ता पूर्वाधारको स्थापना गरेर मात्र बस्ती विकास गर्ने नीति बनाउन जरुरी छ ।

विकासलाई काठमाडौं बाहिर डाइभर्ट गर्नुपर्छ
सबै सेवा सुविधा र पूर्वाधार राजधानीमा मात्र सीमित भएकाले देशभरिका मानिस राजधानी झुम्मिने गरेका छन् । सरकारले बेलैमा विकेन्द्रीकरण नीतिलाई आत्मसात गर्न नसक्दा अहिले राजधानीमा चाप धान्नै नसकिने स्थिति बनेको हो ।

सरकारको मुटु दह्रो हुने हो भने त अहिनै नै काठमाडौं वा मुल सहर वरिपरिका ठाउँबाट मेट्रो रेल जस्ता तीव्र गतिका यातायातले मूल सडकलाई जोडेर यहाँका मानिसलाई अन्यन्त्र पुनर्वास गराई, सहरमा कामका लागि आउने, बास बस्ने आफ्नै ठाउँमा जाने नीति अवलम्बन गर्न सक्छ । विकासलाई नियन्त्रणभन्दा पनि काठमाडौं बाहिर डाइभर्ट गर्नुपर्ने देखिन्छ । जनसंख्यालाई सहरमुखी नहुन प्रेरित गर्न, विकासलाई विकेन्द्रीकरण गरेसँगै सरकारको प्रशासन कुना कन्दरासम्म पुग्नुपर्छ । ग्रामीण विकासलाई पनि वाणिज्यकरण गर्ने र स्थानीय सहभागिता बढाउने हो भने ग्रामीण क्षेत्रले पनि विकासको लहरमा सामेल हुन पाउँछ ।

भुइँचालोको बहानामा च्याउसरी उम्रेका एनजिओले, सरकारले कल्पना गरेभन्दा पहिले राहत र मल्हम विकट बस्तीसम्म पु¥याएनन् र ! त्यसैबाट प्रेरणा लिएर विकासका पाटा खोजेर जनसहभागितामूलक विकासलाई हौस्याउनुपर्छ ।

नेपाल देश विकास नभएको व्यवस्थापनमा सक्षम नभएकाले गर्दा हो । काठमाडौंको जनसंख्या बस्ती र विकास पनि एउटा सामान्य कुशल व्यवस्थापनको पर्खाइमा छ ।

कार्यान्वयन पक्ष फितलो
काठमाडौंको जनसंख्या अहिले ह्वात्तै बढेको छ । सरकारले राम्रो नीति अपनाएर लैजान सके राजधानीको जनसंख्या नियन्त्रण गर्न सकिन्छ । सबै चिजलाई व्यवस्थित गर्नका लागि ठोस र बलियो सरकारी नीति हुुनुपर्ने देखिन्छ । त्योभन्दा पनि नीति त सरकारसँग धेरै नै छ तर कार्यान्वयनको पक्ष फितलो छ । मुख्य समस्या नै कार्यान्वयनमा छ । यसलाई सरकारी तवरबाटै जोड दिने हो भने राजधानीको अनियन्त्रिण विकास, वस्ती र जनसंख्या वृद्धिलाई सजिलै व्यवस्थित गर्न सकिन्छ । नत्र भोलिका दिनमा निश्चित रूपमा हामीले ठूलो संकटसँग जुध्नुपर्ने देखिन्छ । उदाहरणका लागि भारतले गरेको अघोषित नाकाबन्दीबाट सबैभन्दा बढी पीडित राजधानीवासी छन् । पाँच लिटर पेट्रोल भर्नका लागि तीन दिनदेखि लाइन बस्नुपर्ने बाध्यता पनि अनियन्त्रित जनसंख्या वृद्धिले देखिएको एक ठूलो समस्या हो ।

विकासमा जनसंख्याको चापको अनुपात मिलाउने
राजधानीको जनसंख्या नियन्त्रण गर्नका लागि निम्न नीतिहरू अवलम्बन गर्न आवश्यक छ । जनसंख्या व्यवस्थापन र सहरकरणसम्बन्धी राष्ट्रिय नीति बनाउने । राजधानीकेन्द्रित जनसंख्याको चाप बढ्न नदिन, बसाइँसराइलाई व्यवस्थित गर्न दीर्घकालीन योजना बनाई प्रभावकारी कार्यान्वयन गर्ने ।

सहरी बस्ती विकास र निर्माण कार्यमा आपसी सामञ्जस्यता कायम गरी ढल, विद्युत, खानेपानी तथा सडक निर्माण गर्दा उचित समन्वय गर्ने ।काठमाडौं उपत्यकाबाहेकका जिल्लामा नयाँ नमुना सहर र बस्ती विकासमा भौतिक पूर्वाधार र जनसंख्या चापको अनुपात मिलाउने । रोजगारीका अवसरलाई राजधानीबाहिरका सहरमा विकास र विस्तार गर्नुपर्छ । राजनीतिक प्रशासनिक, विकेन्द्रीकरण, यातायात, शिक्षा, स्वास्थ्यको पहुँच सबै ठाउँमा हुन जरुरी छ । सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक सबै पक्षलाई ध्यानमा राखी, जनसंख्या र व्यवस्थित बस्ती विकास गर्नु आजको आवश्यकता हो ।

सहरीकरणसम्बन्धी राष्ट्रिय नीति, दीर्घकालीन योजना, प्रभावकारी कार्यान्वयनमार्फत क्षेत्रीय सन्तुलन गर्नुपर्छ । यी मुख्य कुरालाई नै विकेन्द्रीकरण गरेर, राजधानीको जनसंख्या चापलाई कम गर्न सकिन्छ । त्यसका साथै काठमाडौंको बस्ती व्यवस्थापना परियोजना चाँडोभन्दा चाँडो सञ्चालन गर्नुपर्छ ।

जनसंख्या नियन्त्रण गर्न ढिला भइसकेको छ
विगत १० वर्षयता राजधानीको जनसंख्यामा उल्लेख वृद्धि भएको तथ्यांकले देखाएको छ । २०६८ सालको जनगणनाअनुसार काठमाडौं देशको सबैभन्दा धेरै जनसंख्या भएको जिल्ला भएको देखाएको छ । उक्त जनगणनाले सहरीकरण बढ्दै गएको र कुल जनसंख्याको १७ दशमलव ७ प्रतिशत जनसंख्या सहरी क्षेत्रमा बसोबास गर्ने देखाएको छ । सहरी क्षेत्रमा मात्रै जनसंख्याको बढी चाप हुनु पक्कै पनि राम्रो कुरा होइन । जसलाई नियन्त्रण गर्न ढिला भइसकेको छ, बेलैमा सरकारको ध्यान यसतर्फ नजाने हो भने कालान्तरमा यसले विकराल समस्या निम्ताउनेमा कसैको दुईमत छैन ।

त्यसैले सरकारले अनियन्त्रिण विकास बस्तीका लागि भूउपयोग नीति अवलम्बन गर्ने, व्यवस्थित जग्गा एकीकरण गर्ने, घर बनाउँदा निर्माण नीति पालना गर्ने, वातावरणलाई ध्यानमा राख्दै योजना निर्माण गर्ने, स्रोतको पहिचान गर्नुपर्ने देखिन्छ ।

राजधानीलाई मुलुक सञ्चालन गर्ने ठाउँको रूपमा चिनिन्छ । जसले गर्दा मानिसहरू राजधानीमा बस्न रुचाउँछन् । त्यसैले राजधानी भनेपछि होहल्ला, अधिक जनसंख्या, विकसित, शिक्षित भन्ने बुझिन्छ । राजधानीको अनियन्त्रिण विकास बस्ती र जनसंख्या वृद्धि अहिले सरकारको टाउको दुखाइको विषय बनेको छ ।

मन्दिर नै मन्दिरको सहर कसरी धेरै घरले भरिए भनेर गम्भीर प्रश्नचिह्न खडा भएको छ । राजधानीको हरियाली कसरी हरायो, फराकिलो सडकको सपना कहिले पूरा होला ? देशको छवि बिर्गान काठमाडौंको कति भूमिका छ, यो सबैले सोच्ने विषय हो ।

राजधानीबाहिर पूर्वाधारको विकास गर्नुपर्छ
राजधानीको समस्या सबैलाई थाहा छ । तर, पनि मानिसहरू काठमाडौंमा झुम्मिन मन पराउँछन् । त्यसैले गर्दा सबैभन्दा पहिले एकात्मक, भ्रष्ट र केन्द्रीकृत राज्यसत्ता अन्त्य गरी विकेन्द्रीकरणमा जानुपर्छ ।
वर्षौदेखि मुलुकलाई शासन गर्ने थलो काठमाडौं बनेको छ । नेता, कलाकार, पत्रकार सबैलाई भेट्न राजधानी धाउनुपर्ने बाध्यता छ । एउटामात्र अन्तर्राष्ट्रिय विमानस्थल पनि त्यही राजधानीमा मात्र सीमित छ । ठूला कलेज, अस्पताल, परियोजना, मिडिया हाउस, दूतावास सबै राजधानीमा केन्द्रित भएको हुनाले रोजगारीका अवसर खुल्दै गयो । रोजागार खोज्दै मानिस राजधानी छिर्न थाले । अशुद्ध खानेपानी, भिडभाड, प्रदूषण, महँगी, परनिर्भरता, काठमाडौं पर्यायवाची शब्द भए तापनि रोजगारी, अध्ययन, उपचारलगायत सुविधाका लागि राजधानी आउनैपर्ने बाध्यता छ ।

कम्तीमा हरेक विकास क्षेत्रमा ठूला अस्पताल, शिक्षण संस्था, विमानस्थललगायत पूर्वाधारको विकास गर्नुपर्छ । जसका लागि स्थायी सरकार हुनुपर्छ र योजना तर्जुमा गर्दा दीर्घकालीन सोचका साथ बनाउनुपर्छ ।

पुनर्निर्माण तत्काल गर्नुपर्छ
राजधानीको अनियन्त्रित विकास, बस्ती र जनसंख्या वृद्धिलाई कसरि नियन्त्रण गर्न सकिन्छ ?
देशभरका ७५ वटै जिल्लाबाट नै राजधानी आएर मानिस बसोबास गरिरहेका छन् । पढाइ, रोजगारी, अन्य सेवा सुविधा वा आरामदायी जीवन जिउने आशा नै किन नहोस्, जुनसुकै बहानामा भए पनि राजधानी छिरेका मानिसको भिडले राजधानीमा चाप बढ्दै गइरहेको छ । यसरी बढ्दै गइरहेको अनियन्त्रित विकास र बस्तीलाई समयमा नै व्यवस्थित गर्नु आवश्यक छ ।

स्थानीय निर्वाचन तत्काल गर्नुपर्छ । गाउँ–गाउँमा युवालक्षित कार्यक्रम सञ्चालन गरेर त्यहीं अवसरका ढोका खुल्नुपर्छ । विकास योजना र बजेट विनियोजनमा सहरलाई भन्दा ग्रामीण क्षेत्रलाई बढी प्राथमिकता दिनुपर्छ । विकेन्द्र्रीकृत शासन प्रणालीलाई कडाइका साथ लागू गर्नुपर्छ । यसो गर्न सकिएमा सहर ताक्ने प्रवृत्तिमा विस्तारै सुधार हुनेछ । साथै सहरमा घर बनाउन, बसोबास गर्न वा व्यवसाय गर्न निश्चित मापदण्ड बनाएर कार्यान्वयन गर्नुपर्छ । भुइँचालोका कारण १४ जिल्ला निकै प्रभावित भएका छन् । ती जिल्लामा तत्काल पुनर्निर्माणका कार्यक्रम लैजाने हो भने पनि सहर व्यस्थित हुन्छ । यी सबै कुराको मूल कुरा भनेको अवसर नै हो । अवसरलाई समानुपातिक रूपमा ग्रामीण क्षेत्रमा विस्तार गर्ने हो भने समस्या समाधान हुनसक्छ ।

जनसंख्या वृद्धिलाई न्यूनीकरण गर्नुपर्छ
अनियन्त्रित बस्तीलाई व्यवस्थित गर्नका लागि सरकारले ठोस कदम चाल्नुपर्छ । सबैभन्दा पहिले सरकारले राजधानीमा बढ्दै गइरहेको अनियन्त्रित बस्ती कहाँ–कहाँ छ, त्यसको पहिचान गरी त्यसलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने विषयमा छलफल चलाउनु आवश्यक छ ।

राजधानीका सबै क्षेत्रमा बस्ती बसाउन नदिएर हुन्छ कि नक्सा पासलगायत प्रक्रियामा नै रोक लगाउने तथा नियमविपरीत बसेका बस्तीलाई हटाएरै भए पनि अनियन्त्रित बस्तीलाई व्यवस्थित गर्न सकिन्छ ।

राजधानीमा विभिन्न सपना देखेर मानिस बसोवास गर्न भित्रिनु स्वाभाविक पनि हो तर अनियन्त्रित बसोवासले राजधानीको संरचनालाई नै कुरूप बनाइदिनुका साथै अन्य विविध समस्या पनि सिर्जना गरिरहेको छ ।

त्यसैले अनियन्त्रित बसोवासलाई गम्भीर रूपमा लिएर नियन्त्रणका लागि ठोस कदम चालिनु आजको टड्कारो आवश्यकता पनि हो । हामी यो पनि भन्न सक्छौँ कि जनसंख्या वृद्धिले नै अनियन्त्रित बसोवास बढिरहेको हो । जति–जति जनसंख्या वृद्धि हुदैँ जान्छ, त्यति–त्यति नै राजधानीमा बसोवास गर्न आउनेको संख्यामा पनि वृद्धि हँुदै जान्छ जसका कारण राजधानीमा अनियन्त्रित रूपमा बसोबास गर्नेको संख्या बढेको छ ।

बर्ष १४, अंक ९, मंसिर २०७२