जेम्स गोरम्यान
‘प्रकृतिको अस्तित्वमा रहेको सुन्दर स्तनधारी’ अहिले सकसमा छन् ।

स्मिथसोनियन कन्जर्भेसन बायोलोजी इन्स्टिच्युटमा रेडपान्डाका पाँच बच्चालाई एकै ठाउँमा राखिएको थियो । बोतलको दूध पिउँदै आएका तिनीहरूमा आलस्यपना देखिन्थ्यो, खुट्टामा सामान्य चोटपटक थियो । तिनीहरूको मुखमा मास्क अनि जिउभरि बाक्लो रौं । बिस्तारै आवाज निकालेर तिनीहरू पीडा प्रकट गरिरहेका थिए ।

तिनीहरूलाई बन्दीजस्तै बनाएर राखिएको थियो । इच्छा नलागे पनि खाना खुवाउने बेलामा बाहिर निकालिन्थ्यो । दबिएको अनुहार त्रसित देखिन्थ्यो । वैज्ञानिक, रिपोर्टर र फोटोग्राफरले रेडपान्डाका बच्चा त्यहाँ स्वछन्दरूपमा बसेको महसुस गर्दैनथे ।

वैज्ञानिक लेखहरूमा पनि रेडपान्डा बचाउनेबारे अपिल प्रकाशित गरिएको छ । सन् १८२५ मा पहिलोपटक पश्चिममा यो प्राणीको बारेमा वैज्ञानिक लेख प्रकाशित गरेका फ्रेडरिक क्युभिअरले ‘प्रकृतिको अस्तित्वमा रहेको सुन्दर स्तनधारी’ भनी प्रशंसा गरेका छन् ।

एन्जेला ग्लाट्स्टोनले आफूले सम्पादन गरेको एउटा किताबमा रेडपान्डाबारे उल्लेख गरेकी छन् । उनले यो प्राणीलाई मायालु हाउभाउबाट आकर्षित पार्न सकिने प्रसंग निकाल्दै सौन्दर्य र शालीनताको महान् सिर्जना भनेकी छन् ।

यद्यपि, रेडपान्डा कस्तो हुन्छ भनी शब्दमा ब्याख्या गर्न गाह्रो छ । अभिनेत्री अन्ना केन्डरिकले आफूले अभिनय गरेको चलचित्रमा रेडपान्डाको प्रसंग आएको सम्झिन्छन् । त्यसो त उनले प्रोस्पेक्ट जु ब्रुकलिनमा पान्डा प्रत्यक्ष पनि देखेकी छन् । ‘अवलोकन गर्दा कहिले यो प्राणी फ्याउरो, कहिले भालु, कहिले कुकुर अनि कहिले बिरालो जस्तो देखिन्छ । वास्तवमा, यो सबैखाले मायालु प्राणीको एकीकृत रूपजस्तै लाग्छ,’ उनले भनिन् । यति कुरा त डार्बिनले पनि मज्जाले भनेका थिएनन् ।

यो प्राणीबारे चलचित्र बनेका छन् र तिनीहरूले आनन्ददायी प्रेरणा दिन्छन् । विभिन्न चलचित्रमध्ये ‘कुङ्फु पान्डा’ एक चलचित्र हो । इन्टरनेटमा खोजी गर्दा पान्डाबारे विभिन्न भिडियो पाइन्छन् । तर, भिडियोमा देखिएकोभन्दा बेग्लै कालो ठूलो तथा सेतो रंगका पान्डा पनि छन्, जो सकसमा छन् ।

प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय युनियन (आइयुसिएन) ले यो प्राणीबारे अनुसन्धान गरेको छ । दुई उपजातिमा विभाजित जंगलमा बस्ने यो जन्तुको संख्या १०,००० छ । पश्चिम चीनदेखि नेपालसम्मको भिरालो पहाडी इलाका यो जन्तुको बासस्थान हो । वनफँडानी तथा विभिन्न रोगले यो जन्तुको अस्तित्वमा संकट निम्त्याएको छ । जलवायु परिवर्तनले पनि यसको बासस्थानमा प्रत्यक्ष असर पर्न थालेको देखिन्छ ।

हालै रोटर्नडाम जुबाट रिटायर्ड भएकी डा. ग्लाट्स्टोनले वल्र्ड एसोसिएशन अफ जु एन्ड अक्वारियमसँगको सहकार्यमा रेडपान्डाका लागि ग्लोबल स्पेसिस म्यानेजमेन्ट प्रोग्राम चलाएकी छन् । उनले भनेकी छन् कि विश्वभर चिडियाघर छन् । चीनबाहिर पनि चिडियाघरमा ५०० रेडपान्डा राखिएका छन् । जंगली पान्डाको संख्या घटिरहेको सन्दर्भमा यो प्रजातिको जनसंख्या बढाउन प्रजनन्को व्यवस्था पनि मिलाइएको छ । यसरी प्रजनन्बाट जन्मिएका पान्डा आवश्यक परेको अवस्थामा जंगलमा पनि छाड्नसकिने विज्ञहरूको धारणा छ ।

यसरी चिडियाखानामा राखिएका पान्डाको बारेमा नै अनुसन्धाताले विभिन्न अध्ययन गरेका छन् । यदि पान्डा जंगलमा रहेको अवस्थामा अध्ययन त परै जाओस्, अवलोकन गर्न पनि गाह्रो हुन्छ । ‘यिनीहरू रहस्यमय जनावर हुन्,’ जर्ज मेसन युनिभर्सिटीका संरक्षण जीवशास्त्री एवं स्मिथसोनियन इन्स्टिच्युटका सहअनुसन्धाता एलिजाबेथ फ्रिम्यानले भनिन् ।

यो प्राणीको बानीव्यहोरा, स्वास्थ्य र प्रजनन् प्रणालीबारे नयाँ तथ्य उजागर गर्ने अनुसन्धाताको विश्वास छ । यसले चिडियाघर कार्यक्रमलाई मद्दत गर्नुका साथै रेडपान्डाको बारेमा धेरै जानकारी प्राप्त गर्न सजिलो हुन्छ । ‘हामी केवल ज्यादै आधारभूत प्रश्नबारे उत्तर जान्न चाहन्छौं,’ उनले भनिन् ।

स्मिथसोनियन इन्स्टिच्युट उत्तरी अमेरिकामा रेडपान्डाका लागि घरका साथै ठूलो कोलोनी पनि हो । यहाँ ६ बच्चासहित १७ रेडपान्डा राखिएका छन् । यद्यपि, साना पान्डालाई विभिन्न ठाउँका चिडियाघरमा लगिने भएकाले यो संख्या फेरबदल हुनसक्छ । वयस्क पान्डा ठूलो खोरमा बस्छन् । गर्मीयाममा पनि चिसो पार्न सकिने गरी यसको निर्माण गरिएको हुन्छ ।

पान्डाको स्वास्थ्य र बानीबेहोराबारे अनुसन्धातालाई अध्ययन गर्न सजिलो होस् भनेर चीनको छेन्दुमा केन्द्र स्थापना गरिएको छ, जहाँ सयभन्दा बढी रेडपान्डा राखिएका छन् । यसैगरी, ठूला पान्डाका लागि घरसमेत निर्माण गरिएको छ ।

यसको जनसंख्या बढाउने कार्यमा मुख्य चुनौती प्रजनन् व्यवस्थापन हो । यसरी जन्मिएका बच्चामध्ये आधा मात्र बाँच्ने गर्छन् । माउको पर्याप्त दूध नआउनुका साथै राम्ररी हेरचाह नपुग्दा यसरी बच्चा मर्ने गर्छन् । ‘अन्य वन्यजन्तुमा पनि यस्तो समस्या आउँछ कि आउँदैन भन्ने कसैलाई थाहा छैन,’ डा. फ्रिम्यानले भनिन् ।

यो इन्स्टिच्युटमा यस वर्ष पाँचवटा बच्चा छन् । एउटा बच्चालाई चाहिँ माउले नै रेखदेख गरिरहेकी छ । मानिसले पालनपोषण गरेका बच्चालाई बोतलको दूध खुवाउने गरिन्छ र ठूलो ठाउँमा बाराबेरा गरेर तिनीहरूलाई राखिन्छ । यसो गरेमा तिनीहरूले एकअर्कालाई नोक्सान गर्न सक्दैनन् । पाँचवटा मध्ये तीनवटा बच्चा माउलाई रोग लागेपछि यहाँ ल्याइएको हो । बच्चा जन्माएपछि माउ ठिकै थियो । पछि माउलाई वंशाणुगत रूपमै क्यान्सर लागेको पुष्टि भयो । बच्चामा पनि कतै वंशाणुगत यो रोगको लक्षण भेटिने पो हो कि भन्ने आशंका पनि छ ।

दुइटा बच्चाचाहिँ राम्ररी स्याहारसुसार गर्न नसक्ने माउबाट ल्याइएको हो । उक्त माउले विगतमा पनि बच्चाको राम्ररी स्याहारसम्भार नगरेको पाइएको थियो । कुनै पनि जनावरले मानिसले लालनपालन गर्नु कुनै पनि अर्थमा उपयुक्त हुन सक्दैन । कतिपय अवस्थामा यो चाहिन पनि सक्छ । तर, पान्डाको आमाको भूमिका गर्नु खाली बोतलबाट दूध खुवाउनु मात्र चाहिँ होइन ।

पान्डाको बच्चाले आफू बसेको ठाउँमा दिसापिसाब गर्दैनन् । ती बच्चाले दिसापिसाब गर्ने बेलामा आमाको भूमिकामा रहेका व्यक्तिलाई जनाउ दिने गर्छन् । त्यही भएर उनीहरूको सेवासुश्रुषामा रहेका व्यक्तिहरूले यो कुरा ख्याल गर्नुपर्छ । पान्डाको प्रजनन् प्रक्रिया पनि बेग्लै खालको छ । नयाँ बच्चा जन्मेपछि माउ खुसी हुने गर्छ ।

केन लेङ स्मिथसोनियनका सुपरीवेक्षक जीवशास्त्री हुन् । डा. फ्रिम्यानको निगरानीमा अध्ययनरत जर्ज मेसनका विद्यार्थी जेसिका कोर्डेल पान्डाका बच्चाको निगरानी गरेर तिनीहरूको बानीबेहोरा र स्वभाव अध्ययन गरिरहेकी छन् । लेङले कोर्डेलको भनाइ उद्धृत गर्दै भने, ‘जुन बच्चालाई समय–समयमा खानपानका साथै मायालु खालको व्यवहार गरियो, तिनीहरूको शारीरिक वृद्धि उचित रूपमा भएको पाइयो ।’

प्रजनन् समयमा रेड पान्डाका लागि उचित वातावरण तयार पारिदिनुपर्छ । अलिकति अवरोध भयो भने पनि तिनीहरूको प्रजनन् खलबलिन सक्छ । त्यही भएर नै प्रजनन् कालदेखि नै तिनीहरूको सफल जीवन निर्धारित हुन्छ । लेङका अनुसार रेडपान्डाको शारीरिक विकास क्रम कुकुर वा बिरालोको भन्दा सुस्त हुन्छ र जन्मेको चार महिनापछि बल्ल बच्चाको प्रारम्भिक विकास भइसक्छ ।

रेडपान्डाको वैज्ञानिक अध्ययन जटिल खालको छैन । अध्ययनपछि प्राप्त जानकारी त्यस्ता आश्चर्यजनक छैन, तिनीहरू आधारभूत छन् । सिन्सिन्नेती चिडियाघरमा प्रजनन्का लागि ल्याइएका दुई जोडी वयस्क रेडपान्डा, एउटा बुढी पान्डा र दुई बच्चा छन् । इरिन करी प्रजनन्विज्ञ हुन्, जसले पोलार भालुको प्रजनन्सम्बन्धी काम गरिसकेकी छन् । यसपालि उनले प्रजनन्का लागि ल्याइएका दुई पान्डालाई अल्ट्रासाउन्ड तथा हर्मोन तह सन्तुलित बनाई गर्भधारण गराएकी थिइन् । गर्भधारण अवधि करिब ७० दिनसम्म रहेको थियो । त्यसअवधिमा पाठेघरमा तरल पदार्थको मात्रा पहिचान गर्न ‘अल्ट्रासाउन्ड’ प्रयोग गरिएको थियो । डा. फ्रिम्यान औंल्याउँछिन्, ‘पान्डाहरूले नक्कली तरिकाले गर्भधारण गर्छन् । हामी कहिलेकाही तिनीहरूले गर्भधारणा गरे भन्ने कुरा पनि निश्चित गर्न सक्दैनौं ।’ जब रेडपान्डा जन्मिन्छन्, त्यसबेला तिनीहरूको तौल करिब साढे तीन औंस हुन्छ र तिनीहरूलाई हत्केलामै राखेर नचाउन सकिन्छ ।

डा. फ्रिम्यान तथा स्मिथसोनियन इन्स्टिच्युटमा कार्यरत उनकी सहकर्मी एवं प्रमुख पशुविज्ञ कपर एटकेन–पामर मिलेर चीनमा पान्डाको स्वास्थ्य तथा बानीबेहोराबारे सर्वेक्षण गरिरहेका छन् । ‘ठूला पान्डा’सम्बन्धी अनुसन्धान गरिसकेकी डा. एटकेन–पामरले भनिन्, ‘अनुसन्धानपछि त्यहाँका पान्डामा दाँतसम्बन्धी रोग प्रमुख रूपमा देखियो, यसैगरी पुच्छरमा घाउ लागेको भेटियो । अन्य जन्तुले आक्रमण गरेकाले यसो भएको हुनसक्छ । तिनीहरूमा भिटामिन तथा खनिजको मात्रा पनि अस्वाभाविक रूपमा परिर्वतन भएको पाइयो । ‘ के लाई सामान्य अवस्था भन्न गाह्रो छ,’ उनले भनिन् । यसपालिको वसन्त ऋतुमा डा. फ्रिम्यानले अनुसन्धानको निचोड प्रस्तुत गर्दै रेडपान्डाले आफ्नोपनमा बाँच्न खोज्ने तथ्य सार्वजनिक गरेकी थिइन् । रेडपान्डाका लागि अरू जन्तुलाई जस्तो सामूिहक बासस्थान अपरिहार्य भने होइन । मान्छेको जनसंख्या बढेसँगै रेडपान्डाले असुरक्षा महसुस गर्न थाल्छन् । डा. फ्रिम्यानका अनुसार बासस्थानमा भएको नोक्सानी तथा रोगका कारण यो जन्तु प्रभावित हुनसक्छ । यसका साथै घरपालुवा कुकुरले यसलाई आक्रमण गर्नसक्ने भएकाले यसप्रति तिनीहरू ज्यादै शंकास्पद रहन्छन् ।

चीन रेडपान्डा संरक्षणका सन्दर्भमा धेरै पहल भएका छन् । एउटा पश्चिमी संस्था यो जन्तुको संरक्षणका लागि पूर्ण समर्पित छ । मुनाफारहित रेडपान्डा नेटवर्क नामक संस्थाले काठमाडौं र सानफ्रान्सिस्कोमा कार्यालय स्थापना गरेर यो जन्तुको संरक्षणमा काम गरिरहेको छ । डा. ग्लाट्सन नेटवर्कको बोर्ड सदस्य पनि हुन् ।

करिब ७०० सदस्य, ६ कर्मचारी र केही संख्यामा रहेका चिडियाघरले दान दिएको पैसाले यो नेटवर्कले संरक्षणका विभिन्न पक्षमा काम गरिरहेको छ । विकास निर्देशक नान्सी ह्वेलनले भनिन्, ‘हाम्रो समूहले वन अभिभावक कार्यक्रम बनाएको छ, जसअनुसार ५४ स्थानीय मानिसलाई रेडपान्डा अनुगमन तथा सम्भावित खतराबाट बचाउन हेरचाहमा खटाइएको छ ।’ उनीहरूले गाउँमा रहेको सामुदायिक वन उपभोक्ता समूहसँग समन्वय गरेर मात्र काम अगाडि बढाउँछन् । वनविनास रोक्न सुधारिएको चुलो निर्माणमा समेत उनीहरूले काम गरिरहेका छन् । स्थानीय संघसंस्थासँग समन्वय गरेर पूर्वी नेपालको वन्यजन्तु करिडोरमा संरक्षित वन कार्यक्रम लागू गरिएको छ । यसलाई पाँचथर–इलाम–ताप्लेजुङ रेडपान्डा संरक्षित वन भनिन्छ । ‘यो करिडरमा नेपालमा २५ प्रतिशत रेडपान्डा आउजाउ गर्छन्,’ ह्वेलनले भनिन् ।

कतिपय क्षेत्रमा बासस्थान नष्ट भएकाले गर्दा रेडपान्डालाई सुरक्षित राख्न सकिएको छैन । ‘मेरो विचारमा रेडपान्डाको जीवन प्रभावित हुनुमा जलवायु परिवर्तनको भूमिका छ,’ डा. फ्रिम्यानले भनिन्, ‘तिनीहरू हिमाली भेगको जुन क्षेत्रमा बस्दै आएका छन्, जलवायु परिवर्तनको असरले त्यस क्षेत्रको तापक्रम बढिरहेको छ । त्यही भएर यो जन्तुको जनसंख्या अझै अग्लो स्थानमा सर्दै गएको छ । उनीहरूले जलवायु परिवर्तनलाई थेग्नुभन्दाअघि नै बासस्थान गुमाउने स्थिति आएको छ ।’ ठूला पान्डाको तुलनामा रेडपान्डा हिमाली क्षेत्रको पारिस्थितिकीय प्रणाली जोगाउनका लागि पनि अतिआवश्यकीय प्रजाति रहेको उनको भनाइ छ ।

डा. एटकेन पामरका अनुसार रेडपान्डाको अध्ययन तथा संरक्षण गर्ने रणनीति उही हो, जुन ५० वर्षअघि ठूलो पान्डा संरक्षणका लागि तय गरिएको थियो । ‘यो कामले उत्साही बनाएको छ, त्यसो त हामी सुरुको अवस्थामा छौं,’ उनले भनिन्, ‘केही अर्थमा यो एकदमै रमाइलो र उत्साहजनक छ । अर्को रूपले हेर्दा थोरै निराशाजनक पनि ।’
इन्टरनेसनल न्युयोर्क टाइम्स

सत्य–तथ्य
वयस्क रेडपान्डा दुई फिट लामो हुन्छन् । बाक्लो रौंसहित गुच्चाजस्तो घुम्रिएको यसको पुच्छर हुन्छ । चिसो मौसमबाट बचाउन यसले ठूलो मद्दत गर्छ । यसको खुट्टा पनि रौंले ढाकिएको हुन्छ । आइयुसिएनले यो प्राणीलाई जोखिमयुक्त सूचीमा राखेको छ । कतिपय वैज्ञानिकले यसलाई अतिसंकटापन्न जन्तुको वर्गमा राखेको पाइन्छ ।

यो जन्तु ४,६०० देखि १५,००० फिट उचाईसम्मको बाँससहितको मिश्रित जंगलमा बसोबास गर्छ । डा. फ्रिम्यानका अनुसार यो जन्तुले विशेषतः बाँसको बिरुवा खाएर आफ्नो जीवन धान्ने गर्छ । कतिपय अवस्थामा यसले अन्डा, साना चरा र किरा खाने गरेको पनि पाइन्छ ।

यो जन्तुको प्रजाति सम्भवतः लोखर्केसँग मिल्दोजुल्दो हुनसक्छ । तर, २ करोड ६० लाख वर्षपूर्व नै उद्भव प्रक्रियाबाटै पान्डा र लोखर्केको पूर्वज छुट्टिएको कतिपय जीवशास्त्रीको दाबी छ । यसका साथै ठूलोखाले पान्डासँग तिनीहरूको निकट सम्बन्ध देखिँदैन । ठूलो पान्डा भालु परिवारभित्र पर्छ । रेडपान्डाको पारिवारिक संरचना बेग्लै छ ।

यदि रेडपान्डा लोप भयो भने यही परिवारभित्र पर्ने अन्य जन्तुका लागि समेत असर पुग्न सक्ने डा. ग्लाट्स्टोनको भनाइ छ । ‘वंशाणुगत हिसाबले बिरालो परिवारभित्र पर्ने सिंहदेखि घरपालुवा बिरालो पनि यो जन्तुको वृहद् समूहमा छन्,’ उनले भनिन् । यो प्रजातिको ल्याटिन नाम एलुरस फुल्जेन्स हो । यसको अर्थ आगोजस्तो रंग भएको बिरालो भन्ने हुन्छ । इन्टरनेट खोजकर्ताले लोकप्रिय रूपमा यो जन्तुलाई ‘फायरफक्स’ भन्ने गर्छन् ।

यद्यपि, कतिपय अवस्थामा तिनीहरूलाई ‘लेसर पान्डा’ पनि भन्ने गरिन्छ । सन् १८६९ मा ठूलो पान्डा पत्तालाग्नुभन्दा केही दशक पहिले नै रेडपान्डा पत्ता लागिसकेको थियो । ‘तिनीहरू सुरुमा स्वतः पान्डा थिए,’ डा. ग्लाट्स्टोन तर्क गर्छन्, ‘वास्तवमा, ठूलो पान्डा चाहिँ भालु हो र यो जाति मात्र पान्डा हो ।’

बर्ष १४, अंक ७, कार्तिक २०७२