संविधानमा मधेसका मुद्दालाई नसमेटेको बहानामा भारतले हालै गरेको ‘अघोषित नाकाबन्दी’ का कारण उत्पन्न इन्धन अभावले राजधानीलगायत प्रमुख सहर निकै प्रभावित भए । आयातीत इन्धनमाथिको बढ्दो निर्भरताका कारण मुलुकले यो स्थिति व्यहोर्नु परेको कुरामा दुई मत छैन । यसै सन्दर्भमा परनिर्भरता घटाउन इन्धनका के–के वैकल्पिक उपाय हुनसक्छ भनी निशा ओलीले सर्वसाधारण र विज्ञसँग गरेको कुराकानी यसपटकको सरोकारमा प्रस्तुत गरिएको छ ।

सौर्य ऊर्जा नै विकल्प
नेपालमा अब ऊर्जाका वैकल्पिक स्रोतलाई प्रवद्र्धन गर्नुपर्छ । सौर्यविद्युत प्रविधिबाट अधिकतम फाइदा लिन राज्यस्तरबाट ठूला योजनामा लगानी सँगसँगै घर—घरमा साना—साना सौर्य प्यानल जडान गर्न प्रोत्साहित गर्नुपर्छ । जलविद्युत, वायु ऊर्जा तथा परम्परागत र केही सुधारिएको रूपमा प्रयोग भइरहेका जैविक ऊर्जाबाहेक नेपालमा प्रचुर सम्भावना भएको स्रोत सौर्य ऊर्जा पनि हो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले पहिले प्रदान गर्दै आएका अनुदानभन्दा हालको अनुदान कम भए तापनि अब जडान हुने सौर्य घरेलु प्रणालीमा प्रयोग हुने लिड ल्याम्प प्रभावकारी हुने भएकाले सौर्य विद्युत् शक्ति कम भए पनि आवश्यक ठाउँमा चाहिने प्रकाशको मात्रामा कमी आउँदैन । साधारणतया ३२ लक्ससम्मको प्रकाशको मात्रामा आँखालाई दबाब नदिई पढ्न सकिन्छ । क वर्गको गाविसका लागि दिइने प्रति पिकवाटको अनुदान सुरुमा ५०० देखि घट्दै २०० सम्म दिइएको छ । ५० पिकवाटको सौर्य पाता खरिद गर्दा प्रति पिकवाट अनुदान रु. १४० पाइने तर ६० वाटको सौर्य पाता खरिद भएमा प्रतिपिकबाट रु. १६६ पाइने हुन्छ । यसबाट बढी शक्तिको सौर्य पातालाई बढी अनुदान दिइएको देखिन्छ । साधारणतया बढी अनुदान कम शक्तिको सौर्य प्रणालीलाई दिइने गरिन्छ । पछिल्लो ४÷५ वर्षदेखि अन्तर्राष्ट्रिय बजारमा सौर्य प्यानलको मूल्यमा भारी गिरावट आएको छ । यसले प्यानलको बिक्रीमा प्रतिस्पर्धा बढायो ।

विभिन्न देशमा ठूलो प्लान्ट लगाएर सौर्य ऊर्जा उत्पादन गर्ने र विद्युतको मुख्य प्रसारण लाइनमा जोड्ने प्रणाली छ । त्यसमा ब्याट्री प्रयोग गर्नु पर्दैन । त्यसरी उत्पादित सौर्य ऊर्जा भारतमा प्रतियुनिट १० रूपैयाँसम्ममा उपभोग गर्न पाइने व्यवस्था भइसकेको छ । तर, हामीलाई भने सौर्य ऊर्जा उत्पादन गर्न ब्याट्रीसहितको ब्याकअप प्रणाली चाहिन्छ । त्यसबाट उत्पादन लागत बढ्न जान्छ । त्यति हुँदाहुँदै पनि डिजेल, पेट्रोलको प्रयोगबाट ऊर्जा उत्पादन गर्नुभन्दा यो प्रणाली धेरै सस्तो पर्छ । ठूल्ठूला संस्था वा उद्योगका लागि ब्याकअप महँगो पर्ने तथा केही वर्षभित्रै लोडसेडिङ हट्न सक्ने आशाले सौर्य प्लान्ट राख्न हिचकिचाएको देखिन्छ । सौर्यबाट उत्पादित ऊर्जा राष्ट्रिय प्रसारण लाइनमा सीधा जोड्नेबारे कानुनी व्यवस्था स्पष्ट नभएका कारण पनि त्यस्ता प्रयोगकर्तालाई आकर्षित गर्न सकिएको छैन । भोलिका दिनमा जलविद्युत् राम्रैसँग उत्पादन भएछ भने पनि त्यसरी सौर्य प्लान्टबाट उत्पादित ऊर्जा राज्यले किनिदिने निश्चित हुने हो भने खासगरी उद्योग क्षेत्र बढी लाभान्वित हुन्छ ।

जलविद्युत नै पेट्रोलियम पदार्थको विकल्प
विश्वमा जल सम्पदामा पहिलो धनी देशका रूपमा हामी ब्राजिललाई चिन्छौँ र दोस्रो धनीका रूपमा नेपालको नाम लिन्छौँ, यसमा हामीलाई गर्व पनि छ । तर, हामीले गर्व गरेअनुसार पर्याप्त रूपमा रहेका जलसम्पदाबाट सोचेअनुरूप फाइदा हासिल गर्न सकेका छैनौँ ।

हिमाली, पहाडी क्षेत्रमा भएकाले नेपालमा रहेको जलस्रोत आर्थिक तथा उपयोगिताको हैसियतले धेरै नै महŒवपूर्ण मानिन्छ । जसको समुचित प्रयोग नै नेपालको समृद्धताको पहिलो आधार हो । नेपालमा ऊर्जाको प्रमुख स्रोत तथा पेट्रोलियम पदार्थको विकल्पको रूपमा जलविद्युतलाई लिइन्छ । यहाँ स्रोत–साधन परिचालनको दृष्टिले लगभग ८३,००० मेघावाट जलविद्युत निकाल्न सकिने अनुमान विभिन्न खोज तथा अनुसन्धानले गरेका छन् ।

विश्वमा बढ्दो जनसंख्या तथा आधुनिक जीवन शैलीको चाहनाले गर्दा दिनप्रतिदिन वायुमण्डल दूषित बन्दै गएको छ । जसको निरुत्साहन तथा स्वच्छ वातावरणको निर्माणका लागि हामी हरित अर्थतन्त्रको प्रवद्र्धन गर्दै नेपाललाई विश्वमा परिचित गराउन सक्छौँ । पेट्रोलियम पदार्थ तथा अन्य रासायनिक ऊर्जाको प्रयोगबाट निस्कने धुवाँ, धुलो, विस्फोटबाट विश्वलाई नै आज सशंकित गराएको छ भने पृथ्वीमा जीवको अस्तित्वलाई पनि संकटमा पारेको छ । जसको विकल्पको रूपमा हामी अन्य रासायनिक ऊर्जाका स्रोतको सट्टा जलविद्युतलाई वैकल्पिक ऊर्जाको स्रोत मानेर यसको समुचित विकास गरी अगाडि बढ्न सक्छौं ।

विश्वका अन्य मुलुकमा हरित सिटीकोअवधारणा सञ्चालन भइरहँदा पनि हामी त्यही पुरानो ढर्राको पेट्रोलियम पदार्थबाट चल्ने यातायातका साधनलाई प्रोत्साहन दिँदैछौँ । भएका ट्रली बसलाई बन्द गर्दै आधुनिकताका नाममा डिजेलमार्फत चल्ने सवारी साधन भिœयाइरहेका छौं । आत्मनिर्भर बन्नको सट्टा दिन प्रतिदिन परनिर्भर बन्दैछांै । पेट्रोलियम पदार्थको आपूर्तिबाट दिनहुँ बढेको व्यापार घाटालाई निरुत्साहित गर्न कुनै कदम चालेका छैनौँ । स्वच्छ, सफा, स्वस्थ वातावरण निर्माणका लागि यातायातको विकल्पको रूपमा केवल डिजेल, पेट्रोललाई मात्र लिएका छौँ । ब्याट्री विद्युत शक्तिबाट चल्ने यातायातको विकासलाई बेवास्ता गरेका छौँ, त्यसतर्फ कुनै पल सोचेका छैनौँ । हरदिन हरपल परनिर्भरता बढाइरहेका छौँ । आइपर्नसक्ने दूरगामी प्रभावको विषयमा सोचेका छैनौँ ।

जैविक इन्धन विकल्प हुनसक्छ
खाना बनाउँदा बनाउँदै ग्यास सकियो, अफिस जान हतार भएकाले हतार–हतार पसल गएर घरमा ग्यास ल्याइदिन आग्रह गरें तर पसलको दाजुले ग्यास नभएको जानकारी दिनुभयो । मन खिन्न भयो अनि मात्र ऊर्जाको वैकल्पिक उपायबारे सोच्न पुगें ।

ब्रिकेट खेर गइरहेको कागज, भुस, घाँस र बोटबिरुवाबाट वैकल्पिक ऊर्जा उत्पादन गरेर दैनिकी सहज बनाउन सकिने कुरा बल्ल थाहा पाएँ । नेपालका वन जंगलमा दुई सय बढी ऊर्जायुक्त वनस्पति पाइने रहेछन् । तिनलाई मट्टितेल, डिजेल र खाना पकाउने ग्यासको विकल्पका रूपमा प्रयोग गर्न सकिने रहेछ । इन्धन संकटको बेला यस्ता वैकल्पिक ऊर्जामा सबैले ध्यान दिन आवश्यक छ ।

एउटा ब्रिकेटबाट कम्तीमा चार जनाको परिवारलाई दाल, भात, तरकारी तयार गर्न सकिने कुरा थाहा पाएपछि मैले पनि यसलाई प्रयोग गरें । लोडसेडिङका कारण बिजुलीबाट पनि खाना पकाउन सहज छैन । हिटर र राइस कुकर प्रयोग गर्नका लागि बिजुली आवश्यक पर्छ । अहिले बिजुलीका लागि सौर्य ऊर्जा र खाना पकाउनका लागि ग्रामीण क्षेत्रमा गोबरग्यास र सहरमा ब्रिकेटलाई इन्धनको प्रभावकारी विकल्पको रूपमा प्रयोग गर्न सकिन्छ ।

वायोग्यास र सौर्य ऊर्जा विकल्प हुनसक्छ
भारतको नाकाबन्दीले गर्दा विगत केही समयदेखि नेपालमा खाना पकाउने ग्यास अभाव भएको छ । नेपालमा दीर्घकालीन रूपमा इन्धनमा आत्मनिर्भर हुने हो भने विदेशबाट आयातीत तथा अन्तर्राष्ट्रिय राजनीतिमा भइरहने उथलपुथलबाट प्रत्यक्ष प्रभावित ग्यासलगायत पेट्रोलियम पदार्थको विकल्प खोज्नैपर्छ ।

तत्काल नेपालमा पेट्रोलियम पदार्थको सामाधान नभए पनि नेपाल कृषिप्रधान देश भएका कारण गाउँघरका लागि खाना पकाउने ऊर्जाको सबैभन्दा उत्तम विकल्प गोबरग्यास हुनसक्छ, जुन एकपटक लगानी गरेपछि वर्षौंसम्म चलिरहन्छ । हाम्रो देश पनि संसारमा वायोग्यास कार्यक्रम अत्यधिक सफल भएका राष्ट्रमध्ये पर्छ ।

सरकारी योजनामा विद्युत उत्पादन प्राथमिकतामा परे पनि आवश्यकताअनुरूप उत्पादन हुन नसकिरहेको अवस्थामा जनता लोडसेडिङको अँध्यारोमा बस्न बाध्य छन् । नेपाल सौर्य ऊर्जाको प्रचुर सम्भावना बोकेको राष्ट्र हो । करिब–करिब बार्है महिना घाम लाग्ने मधेस तथा पहाडका धेरैजसो स्थानमा सौर्यऊर्जा अत्यन्तै राम्रो विकल्प बन्न सक्छ । सौर्य ऊर्जालाई ताप र विद्युत दुवैरूपमा बढीभन्दा बढी उपभोग गर्न सके नेपालको ऊर्जासंकटबाट पार पाउन ठूलो योगदान हुनेछ । जसका लागी सरकारले जनतालाई सहुलियत दिएर भए पनि घरघरमा स–साना सौर्य प्यानल जोड्न प्रोत्साहन गर्नुपर्छ ।

यसका लागि छिमेकी मुलुक चीनको सहायता लिन सकिन्छ किनकि चीनले सौर्य ऊर्जामा सहयोग गर्न रुचि देखाएको छ र यो सस्तो पनि पर्न जान्छ । राज्यका नीति–निर्माताले सौर्य उर्जाको महŒव र नेपालमा भएको यसको प्रचुर सम्भावनालाई आत्मसात गरेर त्यहीअनुसार नीति तर्जुमा गर्नुपर्छ, जसले नेपाललाई छोटो समयमै वर्तमान संकटबाट पार पाउन मद्दत गर्न सक्छ ।

व्यवस्थित आणविक भट्टी निर्माण नै विकल्प
नेपालजस्तो इन्धनका लागि अन्य देशमा भर पर्नुपर्ने अवस्था र बढ्दो प्रदूषित सहरका लागि एक मात्र विकल्प भनेको व्यवस्थित आणविक भट्टी निर्माण हो । सहरी क्षेत्रबाट अत्यधिक मात्रामा निस्कने फोहोरमैलालाई व्यवस्थित गर्न आणविक भट्टीको माध्यमबाट दुईवटा फाइदा लिन सकिन्छ– १) ऊर्जा उत्पादन गर्न सकिन्छ, २) फोहोरमैला नियन्त्रण गरी वातावरण प्रदूषण हुनबाट जोगाउन सकिन्छ ।

डिजेल तथा पेट्रोलबाट चल्ने औद्योगिक मेशिनरी र यातायातको साधनलाई यी उर्जाबाट चल्ने साधनको प्रयोग गरि बिस्थापित गर्नुपर्दछ । जस्को कारणबाट देश डिजेल पेट्रोलका लागि अरू मुलुकको मुख ताक्नुपर्दैन भने वातावरण प्रदूषण हुनबाट पनि जोगाउँछ ।

आत्मनिर्भर बन्नुपर्छ
नयाँ संविधान जारी भएसँगै देशले अघोषित रूपमा एउटा नाकाबन्दी खेप्यो र बजारमा उपभोग्य वस्तु अभाव भयो । त्यसमा पनि प्रमुख रह्यो– इन्धन । भारतीय नाकाबाट तेल तथा ग्यास नआउँदा देशमा निकै ठूलो समस्या उत्पन्न भयो, जनता अभावको चपेटामा परेसँगै विभिन्न बहस पनि भए त्यसै विषयलाइ लिएर ।

लाइटर नपाए ढुंगा घोटेर आगो पार्ने उपायको प्रयोग गरौं । मतलव वैकल्पिक उपाय खोजौं भन्ने हो । हामीलाई मुख्य समस्या भनेको इन्धनको हुने रै’छ भनेर यो नाकाबन्दीले प्रष्ट पायो । त्यसैले हामीले इन्धनको विकल्प सोच्नु आवश्यक छ । हामीसँगै भएका स्रोत र साधनलाई उपयोग गरेर पनि इन्धन खपत निकै हदसम्म कम गर्न सकिन्छ । त्यसमध्ये एक हो– जलविद्युत । देशमा जलविद्युतको पर्याप्त सम्भावना छ । आवश्यक विद्युत निकालेर ग्यास र तेलको सट्टा विद्युत प्रयोग गर्न सकिन्छ । विद्युतबाट चल्ने मेट्रो तथा लामो दूरीका रेल बनाउन सके इन्धन आपूर्तिमा ठूलो कटौती गर्न सकिन्छ । त्यस्तै, ग्यासको सट्टा हिटर तथा विद्युतीय चुलो प्रयोग गर्ने, ट्रलीबस सञ्चालन गर्नेलगायत कुराबाट आत्मनिर्भरता बढाउन सकिन्छ । यी सबै कुरा सरकारले सोच्नुपर्ने हो । नयाँ सरकार बनेको छ, आशा गरौं राम्रो नीति तथा कार्यक्रम ल्याएर विविध समस्याको समाधान गर्नेछ ।

हामी व्यक्तिगत रूपमा के गर्न सक्छौं त ? निजी प्रयासमा पनि आफ्नालागि गर्न सकिने थुप्रै कुरा होलान् । घरैमा खस्ने बलेसीको कसैलाई खासै वास्ता हँुदैन तर मान्छे जल खोज्दै महासागर पुग्छ । हो, हामीले हाम्रैवरिपरि भएका ऊर्जाका स्रोतलाई खेर फालिरहेका छौं, अनि सँगै खेपिरहेका छौँ ऊर्जा संकट । हाम्रो वरिपरि खेर गइरहेका पातपतिंगर र ससाना काठ प्रयोग गरेर कोइला बनाउन सकिन्छ र खाना पकाउन प्रयोग गर्न सकिन्छ । कोइला उत्पादन गरेर बजारमा बेच्न सके जिविकोपार्जनको माध्यम पनि बन्न सक्छ । यो कोइला लगभग धुवाँरहित हुने भएकाले सहर बजारमा दाउरा प्रयोग नगर्नेले पनि प्रयोग गर्न सम्भव हुन्छ । त्यस्तै गोबरग्यास प्रयोग पनि ग्यासलाई प्रतिस्थापन गर्ने एउटा उत्तम उपाय हुन सक्छ । त्यत्तिकै खेर गइरहेको तथा वातावरण फोहोर पारिरहेको मलमूत्र प्रयोग गरेर पनि ग्यास निकाल्ने हो भने दोहोरो फाइदा हुन्छ ।

स्रोत र साधनको उचित प्रयोग गर्नुपर्छ
हामी निकैै परनिर्भर बनिसकेका छौं । हरेक दिन अन्धकारमा उज्यालोे भविष्यको खोजी गर्नुपरेको छ । जलस्रोतको दोस्रो धनी राष्ट्र नेपालको आफ्नै अस्तित्व लुप्त अवस्थामा छ । अहिलेको अवस्थामा आइपरेको समस्यालाई छोटो अवधिका लागि सुल्झाउने हो भने अँगारलाई प्रयोग गरेर बाल्न मिल्ने चुलो प्रयोगमा ल्याउन सकिन्छ तर दूरदर्शी सोच राखेर विचार गर्ने हो भने नेपालमा रहेको जलस्रोतको सही उपयोग गरेर विद्युत उत्पादनमै जोड दिनुपर्छ ।

हामी आफैँ पनि अब आत्मनिर्भर हुनपर्ने बेला आएको छ । आयातीत एलपिजी ग्यासभन्दा सौर्य ऊर्जा, ब्रिकेट, गोबरग्यासजस्ता वैकल्पिक उपायलाई महŒव दिन आवश्यक छ । हामीसँग स्रोत–साधन कमी भएको पक्कै होइन तर तिनको उचित व्यवस्थापन गर्न नसक्नु मुख्य कमजोरी बनेको छ ।

बर्ष १४, अंक ७, कार्तिक २०७२