कृष्ण अधिकारी/नेपालगन्ज
बढ्दो इन्धनको अभाव, वातावरण प्रदूषण र बेरोजगारी अन्त्यका लागि अटोरिक्सालाई प्राथमिकतामा राख्नुपर्ने सुझाव विज्ञहरूको छ ।

नेपालगन्ज भन्नासाथ धेरैले यहाँ चल्ने टाँगालाई सम्झन्छन् तर पछिल्ला दिनमा टाँगाको संख्या घट्दै गएको छ । ब्याट्रीबाट चल्ने रिक्सा त्यसको विकल्प बनेको छ ।
भारतको अघोषित नाकाबन्दीका कारण नेपालमा चल्ने अधिकांश सवारी साधनले आवश्यक मात्रामा पेट्रोलियम पदार्थ अर्थात् डिजेल तथा पेट्रोल पाएनन् । इन्धन अभावका कारण नेपालको यातायात क्षेत्र अस्तव्यस्त भयो । तर, नेपालगन्जमा गुड्ने करिब ५५० वटा अटोरिक्सा (ब्याट्रीबाट चल्ने रिक्सा) भने निर्बाध रूपमा गुडिरहे ।

ती रिक्सा सञ्चालकलाई न डिजेल तथा पेट्रोल सकिएला भन्ने चिन्ता छ न त पेट्रोल पम्पमा घन्टौँ लाइन बस्नुपर्ने बाध्यता । भारतबाट तेल आयात नहुँदा पनि उनीहरूलाई कुनै फरक परेन ।
इन्धन अभावका कारण टेम्पो, माइक्रोबसलगायत इन्धनबाट चल्ने अन्य सार्वजनिक यातायातका साधनको संख्या घट्दै गएपछि उनीहरूको व्यापार भने फस्टाउँदै गएको अटोरिक्सा चालक शंकर चौधरीले बताए ।
डिजेल, पेट्रोल अभाव भएको समयमा यस्ता रिक्साले नेपालगन्जवासीलाई सहरी क्षेत्रमा ओहोरदोहोर गर्न निकै सहज बनाए । यस्ता रिक्सा अहिले नेपालगन्जदेखि सीमावर्ती भारतीय बजार रूपैडिया, कोहलपुर, बासगढी, खजुरा बजारसम्म गुडिरहेका छन् । पछिल्ला दिनमा यात्रुको रोजाइ पनि अटोरिक्सा बन्दै गएको छ ।

बस्नलाई सहज, चार पाँचजना भएपछि गन्तव्यतर्फ गुडिहाल्ने र अन्य सवारी साधनमा भन्दा पैसा पनि कम लाग्ने भएपछि यात्रुको रोजाइमा त्यस्ता रिक्सा पर्न थालेको यात्रु कौशिला थापाले बताइन् ।
काठमाडौंमा तीन पांग्रे विद्युतीय सवारी साधन २०५२ सालमा भिœयाइएको भए पनि नेपालगन्जमा दुई वर्षदेखि त्यस्ता रिक्सा चल्न थालेका हुन् । नेपालमा विद्युतको प्रशस्त सम्भावना रहेका कारण पनि विद्युतीय सवारीसाधनमा जोड दिनुपर्ने पूर्व श्रममन्त्रीसमेत रहेका ब्याट्री रिक्सा व्यवसायी इस्तिहाक राई बताउँछन् ।

बढ्दो इन्धन अभाव, वातावरण प्रदूषण र बेरोजगारीको अन्त्यका लागि अटोरिक्सालाई प्राथमिकतामा राख्नुपर्ने सुझाव विज्ञको छ । प्रदूषित बन्दै गएका काठमाडौँैलगायत समथर भूभाग रहेका सहरी क्षेत्रको वातावरण सुधार्न यस्ता रिक्साले महŒवपूर्ण योगदान पु¥याउन सक्छन् ।

रिक्सा व्यवसायबाट बाँकेमा मात्रै करिब ६ सय जनाले रोजगारी पाएका छन् । एकपटक चार्ज गरेपछि यस्ता रिक्सा ७५ देखि ८० किलोमिटर गुड्ने गरेका छन् । ७५ किलोमिटर गुड्ने यो रिक्साका लागि ४ वटा ब्याट्रीलाई फूल चार्ज गर्नुपर्छ । ब्याट्री फूलचार्ज हुन ६ देखि ८ घन्टा लाग्छ । ती ब्याट्री चार्ज गरेर कम्तीमा ६ महिनासम्म चलाउन सकिन्छ । यस्तो रिक्साले ५६० केजी सहजै बोक्न सक्छ । नेपालमा पाँचजना यात्रु बोक्ने अनुमति दिइएको छ ।

ब्याट्रीको मूल्य र ब्याट्री चार्ज गर्दा लाग्ने रकमसमेत जोडेर एक किलोमिटर रिक्सा गुडाउँदा करिब चार रूपैयाँ खर्च आउँछ । अन्य इन्धनबाट चल्ने गाडीको इन्धन तथा इन्जिनको मर्मतमा लाग्ने खर्चभन्दा यो रिक्सामा लाग्ने खर्च करिब २५ प्रतिशत सस्तो भएको दाबी व्यवसायीको छ ।

अटोरिक्सा गुडाउनका लागि रिक्सामा एउटा सानो मोटर र कन्ट्रोलर भने चाहिन्छ । ती दुवैको मूल्य करिब १०,००० पर्ने भएकाले इन्जिन मर्मतका लागि अन्य इन्धनबाट चल्ने सवारीसाधनलाई जस्तो धेरै रकम खर्च गर्न भने पर्दैन ।

वातावरणीय र आर्थिक हिसाबले समेत नेपालका लागि यस्ता रिक्सा उपयुक्त देखिए पनि देशमा लोडसेडिङको अवस्था रहेको भन्दै यस्ता गाडीको आयातमा सरकारले कडाइ गरेको छ । यस्ता टेम्पो केही व्यवसायी आफैँले चलाएका छन् भने केहीले भाडामा लिएर चलाएका छन् ।

अटोरिक्सा चलाउँदा राम्रै पैसा कमाइ हुने चालक शंकर चौधरी बताउँछन् । चौधरीले अहिले अटोरिक्सा चलाएर दैनिक २,००० रूपैयाँ कमाउँदै आएका छन् ।
यो रिक्सालाई ब्याट्रीसहित २,१५,००० रूपैयाँ पर्छ । ब्याट्रीका लागि करिब ५० देखि ६०,००० पर्छ । यसको बडी चीनबाट आउँछ भने ब्याट्री नेपालमै उत्पादन हुन्छ । व्यवसायीले नेपाल, भारत, जापान र चीनको ब्याट्री प्रयोग गर्दै आएका छन् । अटोरिक्साको आयातमा पनि सरकारले यो वर्षदेखि कर छुट दिएको छ । यस्ता रिक्सा यातायात व्यवस्था कार्यालयमै दर्ता हुने गरेका छन् । दर्ता, नवीकरण, दस्तुर र इन्सुरेन्सका लागि करिब ७,००० लाग्ने व्यवसायी बताउँछन् ।

यस्ता रिक्साका लागि सरकारले सडक करमा भने छुट दिएको छ । यस्ता रिक्सालाई प्रोत्साहन गर्न सके इन्धन अभावबाट छुट्कारा पाउन, बढ्दो वायु तथा ध्वनि प्रदूषण घटाउन केही हदसम्म सहयोग पुग्नेछ ।

बर्ष १४, अंक ७, कार्तिक २०७२