शब्द÷तस्विर ः भरतबन्धु थापा

स्थानीय व्यवसायीको पहलमा ‘समृद्ध मध्यपश्चिम’ अभियान सुरु भएको छ र यसलाई सरकारबाट आवश्यक सहयोग भए त्यो दिन टाढा छैन, जब यो क्षेत्र साँच्चिकै समृद्ध बन्नेछ ।

तस्बिरमा सबैले बाघ देखेकै हुन्छन् तर जंगलमा प्रत्यक्ष बाघ देख्दा कस्तो होला सहजै अनुमान लगाउन गाह्रो हुन्छ । अझ आफ्नै अगाडि बाघ आयो भने कस्तो होला, कति त बेहोस हुन्छन् भने कतिले होसहवास गुमाउने गर्छन् । तर बर्दियाका राजन चौधरी भने आफुले आफ्नै अगाडी बाघलाई दर्जनौ पटक देखेको बताउँछन् । उनी भन्छन्, कोही पनि जनावरलाई क्षति नपु¥याउने हो भने त्यसले हतपत्त आक्रमण गर्दैन । यदि त्यसलाई क्षति पुग्ने तथा असहज हुने काम ग¥यो भने त्यसले आक्रमण गर्ने हो ।

केही वर्षअघि जब हलिउड हिरो लियोनार्दो डि काप्रियोसँग आएको टोलीका एक सदस्यले बर्दियामा आफ्ना चारवटा डमरुसहित पानी खान आएकी बघिनीको तस्बिर आफ्नो क्यामरामा कैद गरे, तब संसारभरि बर्दियामा पाइने बाघको चर्चा भयो । अहिले बर्दिया राष्टिय निकुञ्ज जानु भनेकै बाघ हेर्नलाई जाने भन्ने भएको छ । थारु होमस्टेका मोहन चौधरी भन्छन्, ‘अहिले बर्दियामा बिशेषगरी विदेशी पाहुनाहरू बाघ हेर्ने उद्देश्यले नै आउने गरेका छन् ।’

मध्यपश्चिमको बर्दिया तराईको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो । ९६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो निकुन्ज बाघ हेर्नकालागि सबैभन्दा उपयुक्त स्थान पनि हो । नेपालको सबैभन्दा लामो नदी कर्णाली र बबई नदीको बीचमा निकुञ्जका केही भाग पर्ने भएकाले पनि जनावरका लागि उपयुक्त बनेको हो । निकुञ्जको ७० प्रतिशत भूभाग साल र यसको सहायका प्रजातिका वनले ढाकिएको छ भने बाँकी ३० प्रतिशत घाँसे मैदान रहेको छ । निकुञ्जमा ५४ प्रजातिका स्तनधारी, ४०० प्रजातिका चराचुरुंगी, २५ प्रजातिका घस्रने वन्यजन्तु र ६० भन्दा बढी प्रजातिका माछा पाइन्छ ।

बर्दिया राष्ट्रिय निकुञ्जमात्र नभएर थारु संस्कृतिका लागि पनि निकै प्रख्यात छ । बर्दियाका भादागाउँमा खोलिएको होमस्टेको पनि आन्तरिक तथा बाह्य पर्यटकका लागि थप आकर्षण हो । बर्दिया राष्ट्रिय निकुञ्जनजिकै रहेको ठाकुरद्वारा मन्दिर पनि धार्मिक हिसाबले निकै प्रख्यात छ । मध्यपश्चिमकै धार्मिक स्थलमध्य एक मानिने ठाकुरद्वारा मन्दिरमा लिच्छबिकालीन मूर्तिहरू छन् । विशेषगरी यहाँ माघे सक्रान्तिका बेला मेला लाग्ने गर्दछ । मध्यपश्चिमको प्रवेशद्वार नेपालगन्जबाट दुई घन्टामा सहजै पुग्न सकिने यस निकुञ्ज महेन्द्र राजमार्गको अम्बासबाट जम्मा १३ किलोमिटर टाढा छ ।

अम्बासदेखि राष्ट्रिय निकुञ्जसम्मको बाटो कच्ची भएका कारण पर्यटकलाई समस्या भएको बताउँछन् पर्यटन व्यवसायी एवं थारु होमका सञ्चालक मोहन चौधरी । उनी भन्छन्, ‘अहिले बाटो बनाउने भन्ने कुरा उठेको छ, यो बाटो बनेमा बाह्य पर्यटकमात्र नभएर आन्तरिक पर्यटकमा समेत वृद्धि हुनेछ ।’ त्यस्तै नेपाल वाइल्डलाइफ होटलका भीम शाही भन्छन्, ‘बर्दिया राष्टिय निकुञ्ज सबैभन्दा नजिकै भारत रहेको छ । भारतीय पर्यटकमाझ बर्दियाका आकर्षण लान सकेमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि हुनेछ । यसका लागि राज्यले उचित नीति बनाए राम्रो हुन्छ ।’

बर्दियामात्र होइन, मध्यपश्चिमको मुगुस्थित रारा ताल पनि नेपालीको रोजाइमा पर्ने एक प्रमुख स्थान हो । नेपालको सबैभन्दा ठूलो ताल मात्र भएर होइन, प्राकृतिक सौन्दर्यताले भरिपूर्ण स्थल भएकाले पनि नेपालीको पहिलो रोजाइमा पर्ने गर्दछ रारा ताल । वरिपरि रंगीविरंगी फूलले घेरेको हुन्छ, यो मौसममा रारा ताललाई ।

नेपालगन्जबाट ४० मिनेटको हवाईजहाजको यात्रापश्चात पुग्न सकिन्छ मुगुको ताल्चा विमानस्थल । ताल्चा विमानस्थलबाट दुई घन्टाको पैदल दुरीपश्चात सहजै पुग्न सकिन्छ समुद्री सतहबाट २,९९० मिटर उचाइमा अवस्थित रारा । रारा राष्ट्रिय निकुञ्जभित्र पर्ने रारा तालनजिकै एउटा मात्र होटल छ डाँफे लज । रारा तालको पानीको फेरिने रंगलाई होटलको आँगनमा बसेर चियाको चुस्कीसँगै हेर्दा नरमाउने कमै हुन्छन् । १६७ मिटर गहिराइ र पाँच किलोमिटर क्षेत्रफलमा फैलिएको रारा ताललाई एक फन्को मार्न पाँच घन्टाको समय लाग्छ । रारा तालको पुरा आकृति हेर्न समुद्री सतहबाट ४,००० मिटर उचाइमा रहेको मुर्मा टप सबैभन्दा उपयुक्त स्थल हो । मौसम सफा भएमा यो स्थानबाट पाँचवटा जिल्ला देख्न सकिन्छ ।

रारा ताल पुग्ने अर्को विकल्प भनेको जुम्ला हुँदै जाने हो । जुम्लादेखि डोल्पा तथा रारा पदमार्गसमेत छ । जुम्लादेखि तीन दिनको पैदल यात्रापश्चात पनि पुग्न सकिन्छ रारा । समुद्री सतहबाट करिब ३,४०० मिटर उचाइमा रहेको डाँफेको लेक हुँदै जाने पर्यटकको संख्या पनि कम छैन ।

जुम्ला हँुदै जान सकिने मध्यपश्चिमको अर्को आकर्षण हो नेपालको सबैभन्दा गहिरो ताल डोल्पाको फोक्सुन्डो । नेपालगन्जदेखि जुफालसम्म हवाईजहाजमा अथवा जुम्लादेखि पनि डोल्पाको फोक्सुन्डो ताल पुग्न सकिन्छ । यो ताल समुन्द्री सतहबाट ३,६०० मिटर उचाइमा छ । वरिपरि पहाडले घेरिएको यो तालमा कुनै पनि जीव, जनावर तथा जलचर नहुनु यसको प्रमुख विशेषता हो । यति मात्र नभएर यो तालले छिनछिनमा पानीको रंग पनि परिवर्तन गर्ने गर्छ । प्राकृतिक सौन्दर्यको भरपुर आनन्द लिन सकिने यो क्षेत्र जब एरिक भ्यालीले क्याराभान फिल्म बनाए, त्यसपछि मात्र यो क्षेत्रको प्रचार विश्वव्यापी रूपमा भयोे ।

मध्यपश्चिमकै अर्को एक प्रमुख आकर्षणमा पर्छ, विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको मानव बस्ती द्यो तराप । तर, यसको उचित प्रचारप्रसार हुन नसक्दा जति पर्यटकको रोजाइमा पर्नुपर्ने हो, त्यति पर्न सकेको छैन । शे गुम्बा र फोक्सुन्डो तालको नाम मिलाएर बनेको शे फोक्सुन्डो राष्टिय निकुञ्जमा विश्वकै दुर्लभ मानिने हिमचितुवा पाइन्छ । यसको पनि उचित प्रचारप्रसार हुन सकेको छैन । फोक्सुन्डो ताल पुग्नुअगावै नेपालको सबैभन्दा ठूलो झरना अवलोकन गर्न पाइन्छ, जुन फोक्सुन्डो तालबाट निकास भएको पानीको झरना हो ।

त्यस्तै मध्यपश्चिम जाने पर्यटकको रोजाइमा पर्ने अर्को स्थान हो हुम्ला । हुम्ला मानसरोवर जाने यात्रुका कारण रोजाइमा पर्ने स्थान हो । नेपालको सबैभन्दा उच्च स्थानमा पर्ने सदरमुकाम हुम्लाको सिमिकोट हुँदै मानसरोवर जान सकिन्छ । हिन्दुहरूको पवित्र तीर्थस्थल मानसरोवर जानका लागि नेपालगन्जबाट ४५ मिनेटको हवाई यात्रापश्चात पुग्न सकिन्छ हुम्लाको सिमीकोट । सिमीकोटदेखि तीन दिनमा मानसरोवर पुग्न सकिन्छ । हुम्लादेखि रारा तालसम्म पनि पदयात्रा गर्न सकिन्छ तर निकै कम पर्यटकले मात्र यो बाटो प्रयोग गर्ने गरेका छन् ।

यस्ता थुप्रै आकर्षक स्थल रहेको मध्यपश्चिममा पर्यटनको निकै सम्भावना भए तापनि यसको उचित प्रचारप्रसार हुन सकेको छैन । अब भने स्थानीय व्यवसायीको पहलमा ‘समृद्ध मध्यपश्चिम’ अभियान सुरु भएको छ र यसलाई सरकारबाट आवश्यक सहयोग भए त्यो दिन टाढा छैन, जब यो क्षेत्र साँच्चिकै समृद्ध बन्ने छ ।

बर्ष १४, अंक ६, साउन २०७२