२० वैशाख २०७१ मा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा मध्यरातमा बन्दुक पड्केको आवाज आयो । खोजतलास गर्दै जाँदा मध्यवर्तीको ध्रुव भन्ने ठाउँमा खाग काटिएको मृत गैंडा फेला प¥यो । त्यसअघिसम्म मध्यरातमा गैंडा सिकार गरेको पाइएको थिएन । सिकारीले कि बिहान, कि बेलुकीपख मात्रै गैंडा मार्थे तर उक्त घटना ती सबैभन्दा फरक समय अपनाएर सिकारीले चलाखीपूर्ण तरिकाले सम्पन्न गरे । बिहान–बेलुकाको समयमा गैंडा मारिनसक्ने सम्भावनालाई मध्यनजर गरेर गरिने गस्ती र सुरक्षा प्रबन्धले फेल खायो । अहिलेसम्म उक्त घटनामा संलग्नको सुइँको समेत कहीँकतै पाइएको छैन ।

ड्ड २१ चैत २०६८ गते निकुञ्जको साहिँली माहिली क्षेत्रमा गैंडा म¥यो । केही गर्दा पनि संलग्न सिकारी पत्ता लगाउन सकिएन । नयाँ प्रयोगका रुपमा नेपाल प्रहरीको कुकुर झिकाएर अनुसन्धान सुरु गरियो । कुकुर निकुञ्जको चुरे क्षेत्र काटेर भारतको सिमानासम्म पुग्यो । चितवन राष्ट्रिय निकुञ्ज, नेपाल प्रहरी र सेनाको टोलीले उक्त गैंडा भारतीय सिकारीले मारेको ठोकुवा गर्दै फर्कियो । तीन वर्ष पुग्न लाग्यो, उक्त गैंडा मार्ने सिकारी अहिलेसम्म पक्रन सकिएको छैन ।
ड्ड त्यसको एक वर्ष नपुग्दै २०६९ फागुन ५ गते सौराहाको पारिपट्टि निकुञ्जको पूर्वीक्षेत्रमा अर्को गैंडा म¥यो । त्यसमा संलग्नको पनि केही अत्तोपत्तो लाग्न सकेन ।

नेपालले निकै गौरवका साथ पहिलोपटक ‘शून्य चोरीसिकार वर्ष २०११’ मनाएपछिका यी तीन घटनामध्ये कुनैको पनि सिकारी पत्ता लगाउन सकिएको छैन । निकुञ्ज प्रशासन, सेना र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोसमेत लाग्दा पनि पछिल्ला घटनामा संलग्नको भेउसम्म पाइएको छैन । यहाँसम्म कि २७ वटा गैंडाको कारोबारमा संलग्न इन्टरपोलले रेडकर्नर नोटिस जारी गरेका सार्पसुटर राजकुमार प्रजासहित स्थानीयस्तरका सबै साना–ठूला सिकारी पक्राउ परिसके तर पछिल्ला गैंडा मार्ने कसैको सुइँकोसम्म पाइएको छैन ।

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्का पछिल्ला वर्षमा गैंडा मार्ने सिकारी पत्ता लगाउन नसक्नु आफूहरूका लागि घाँटीमा अड्केको काँडा निकाल्नुजस्तै भएको बताउँछन् । ‘न निल्न सकिन्छ, न ओकल्न, यत्रो समयसम्म पछिल्ला घटनामा संलग्नको सुइँकोसम्म पाउन नसक्नु हाम्रालागि घाँटीमा अड्केको काँडाजस्तै भएको छ,’ उनले हाका–हाकीसँग भने, ‘त्यसैले तत्कालका लागि चेपाङलगायत स्थानीय समुदायको खतरा टरे पनि अरूको खतरा ज्यूँकात्यूँ छ ।’ अभियुक्त पक्राउ परेपछि वयान लिने कार्यमा संलग्न खड्काले अहिलेसम्म पक्राउ परेका र थुनामा रहेका कसैसँग पनि पछिल्ला घटनामा संलग्नसँगको सम्बन्ध नदेखिएको बताए ।

निकुञ्जका अर्का सहायक संरक्षण अधिकृत टीकाराम पौडेलका अनुसार पछिल्लो गैंडा मारिएको तरिका हेर्दा सार्पसुटर सिकारी अझै सक्रिय रहेको अनुमान गरिएको छ । ‘सबैलाई छक्याएर र भइरहेको तरिकाभन्दा फरक मध्यरातमा गैंडा मार्ने सिकारी पक्कै पनि चानचुने होइन,’ उनी भन्छन्, ‘त्यो पक्कै पनि सार्पसुटर नै हो । त्यसैले सिकारीको खतरा घटे पनि टरेको छैन ।’ त्यसबेलासम्म बिहान–बेलुकालाई गैंडा मारिने ‘पिक समय’ मानेर निकुञ्ज र सेनाको गस्ती तथा सुरक्षा व्यवस्था मिलाइएको थियो । यी सबका बावजुद मध्यरातमा गैंडा मारेर सजिलै सिकारी उम्किएपछि चितवन राष्ट्रिय निकुञ्जले त्यसपछि मात्रै रात्रि गस्ती गर्न सुरु ग¥यो ।

निकुञ्जको चोरीसिकार नियन्त्रण युनिट हेर्ने सहायक संरक्षण अधिकृत विष्णु थपलिया बलियो सुरक्षा व्यवस्था हुँदाहुँदै पनि पछिल्लो पाँच वर्षमा विभिन्न मुद्दामा २ हजार ३ सय ४६ जना पक्राउ पर्नु र पछिल्ला गैंडा सिकारीको पत्तो नलाग्नु चिन्ताको विषय भएको बताउँछन् । उनले २०७० सालको अपरेसन युनिकर्निसमा बुद्धि प्रजालगायतको समूह पक्राउ पर्दा पछिल्ला गैंडा मार्ने पक्कै तीमध्ये कोही न कोही हुनुपर्छ भन्ने अनुमान गलत भएको बताए । ‘नेपालले दुईवटा शून्य चोरीसिकार वर्ष मनाउँदा पनि पछिल्लो पाँच वर्षमा चार गैंडा मरे, गैंडा मार्ने सिकारीको पत्तो लागेन र त्यही पाँच वर्षमा विभिन्न मुद्दामा २ हजार ३ सय ४६ मानिस पक्राउ परे,’ उनले भने, ‘त्यसैले कडा सुरक्षा र गस्ती भए पनि चोरीसिकारको जोखिम छँदैछ ।’

यी सबका बावजुद २० वैशाख २०७१ यता गैंडा नमारिएकाले तेस्रो ‘शून्य चोरीसिकार वर्ष’ सम्पन्न गर्न निकुञ्जले सुरक्षा व्यवस्थालाई थप मजबुत बनाएको छ । नियमित एउटा गण र एउटा गुल्मबाहेक त्यसमा सयजना थपिएर विगतमा माघदेखि असारसम्मको लागि अपरेसन हन्ट सञ्चालन गरिँदै आएको थियो । ‘यस वर्ष अब तेस्रोपटक पनि शून्य चोरीसिकार वर्ष मनाउन सकियोस् भनेर सधैंको ६ महिने अपरेसन हन्टलाई दुई महिना बढाएर अपरेसन महाहन्ट सञ्चालन गरिएको छ,’ सहायक संरक्षण अधिकृत थपलियाले भने, ‘माघको सट्टा मंसिरदेखि अपरेसन सुरु गरिएको छ ।’

जसमा नेपाली सेनाको विशेष फोर्स, खासगरी रेन्जर गण, युद्धभैरव गण, नयाँ भैरवी दल गुल्मलगायत तीन सयभन्दा बढी सेनाको संलग्नता छ । तिनीहरूले ३१ वटा अस्थायी पोस्ट लिएका छन् । पहिलेका ५३ र ३१ गरी ८४ वटा पोस्ट कायमै छन् । निकुञ्ज, एउटा मध्यवर्ती क्षेत्र र एउटा वनमा गरेर जम्मा ८४ वटा पोस्ट दिउँसोमा राखिएका छन् । ती पोस्टबीचको ग्याप र शंकास्पद स्थानमा राति एम्बुस टोली राख्ने गरिएको छ । ती सबै गरेर अहिले एक रातमा १२२ पोस्टले निगरानी गरिरहेको छ । त्यसबाहेक मोबाइल टोली पनि मोटरसाइकल र साइकल रातिराति गस्ती गरिरहेको छ । शंका लागेको स्थानमा एम्बुस टोली पनि परिचालन गर्ने गरिएको उनले बताए ।

त्यसबाहेक २१ चैत २०६८ मा मारिएको गैंडा सिकारी खोज्न कुकुरले सहयोग गरेपछि निकुञ्जले वन्यजन्तु अपराधी पत्ता लगाउन निकुञ्जमै दुईवटा तालिमप्राप्त बेल्जियम सेफर्ड कुकुर राखेको छ । कुकुरको तालिमका लागि सेनाको भैरव बाहन गणले सहयोग गरेको छ । त्यस्तै विश्व वन्यजन्तु कोषको सहयोगमा कुकुर राख्ने संरचना तयार गरिएको छ ।

शून्य चोरीसिकार वर्ष मनाउनुअघि २०६७ साल पुस १९ मा मारिएको गैंडासमेत पछिल्लो ५ वर्षमा ४ वटा गैंडा मारिएपछि अहिले निकुञ्जको सुरक्षा स्थिति मजबुत बनाइएको छ ।

पछिल्लो पाँच वर्षमा गैंडा मुद्दामा २ सय, बाघमा १३, अन्य वन्यजन्तुमा १ सय ४०, काठमा ३ सय ४२, माछामा १ सय ९६, घाँसमा १ हजार ३ सय ५६, गिट्टी÷बालुवामा ३७ र अन्यमा ६२ जना पक्राउ परेको निकुञ्जले जनाएको छ । सन् २०११ को गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ५ सय ३ वटा गैंडा छन् । सन् २०१३ को गणनाअनुसार त्यहाँ १ सय २० वटा पाटेबाघ छन् ।

चोरीसिकारको जोखिम कम गर्न चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ खटिएको सेनाले नियमित गस्ती र सुरक्षाका बावजुद समुदायस्तरसम्म संरक्षणको अभियान सुरु गर्ने तयारी गरिरहेको जनाएको छ ।

‘वन्यजन्तु अपराध, राज्यका नियम कानुन के के हुन् ? जनावर किन बचाउनुपर्छ ? निकुञ्जको ५० प्रतिशत आम्दानी समुदायमा जान्छ भन्नेजस्ता कुरा समुदायलाई बुझाउन कृति संरक्षण शिक्षालय स्थापना गर्ने प्रस्तावित योजना छ,’ सेनाको श्रीजंग गणका गणपति प्रमुख सेनानी सन्जय देउजाले बताए । त्यसले विद्यालय–विद्यालयमा गएर संरक्षणका कक्षा सञ्चालन गर्ने र सेनाका जवानलाई पनि के गर्ने र के नगर्ने भन्नेबारे राम्ररी तालिम दिने अपेक्षा गरिएको उनले बताए । ‘धेरै सुरक्षा र धेरै गैंडा भएको चितवन राष्ट्रिय निकुञ्ज आफैं जोखिममा देखिन्छ,’ उनले भने, ‘अन्तर्राष्ट्रियस्तरमा खागको बजार बढेर गएका कारण त्यसको आपूर्ति गर्नेक्रममा गैंडा सिकार गरिनसक्ने खतरा त छँदैछ ।’

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट डा. महेश्वर ढकाल चोरीसिकारीको जोखिमसँगै गैंडाको वासस्थान कसरी संरक्षण गर्ने भन्ने समस्या रहेको बताउँछन् । ‘शून्य चोरीसिकार भए पनि, भएका गैंडा जोगाउन र संख्या बढाउन गैंडाको वासस्थान संरक्षण कसरी गर्ने भन्ने कुरामा ध्यान दिनु आवश्यक छ,’ उनले भने, ‘त्यसबाहेक मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण गर्नु उत्तिकै जरुरी छ ।’

अबको बाटो
गैंडाको वासस्थानमा विद्यावारिधि गरेका राष्ट्रिय प्रकृति संरक्षण कोषका गैंडाविज्ञ डा. नरेश सुवेदीका अनुसार चितवन राष्ट्रिय निकुञ्जमा गैंडालाई चोरीसिकारी बाहेक अर्को खतरा माइकेनिया झारको छ । माइकेनिया झारले गैंडालाई प्रत्यक्षरूपमा मार्दैन तर गैंडाले खाने आहारा प्रजाति घाँस र बस्ने वासस्थान विनाश गरिदिन्छ । ‘माइल अ मिनेट’ भनिने यो झारले स–सानादेखि अग्ला र ठूला रुखमा फैलिएर रुखलाई नै सुकाएर मारिदिन्छ । वासस्थान नभएपछि गैंडा बस्नसक्ने अवस्था रहन्न । सजिलै फैलिने भएकाले जति उखेल्ने र डढाउने गरे पनि यो जंगलमा फैलिँदै गइरहेको छ ।

‘त्यसैले अब गैंडा जोगाउन शून्य चोरीसिकारलाई कायम राख्दै माइकेनियाजस्ता मिचाहा झारलाई नियन्त्रण गर्ने दीर्घकालीन नीति ल्याउनु आवश्यक छ,’ उनले भने, ‘किनकि माइकेनिया गैंडाको वासस्थान विनाश गर्ने सबैभन्दा प्रमुख सत्रु हो ।’ उनले गैंडाको संख्या र वासस्थानबारे नियमित अध्ययन÷अनुसन्धान गर्नु आवश्यक रहेको पनि बताए ।

उनका अनुसार चोरीसिकार शून्यमै राखे पनि माइकेनियाजस्ता आक्रामक रूपमा बढ्ने मिचाहा झारको व्यवस्थापन गर्न सकेनौं भने त्यसले गैंडाको करिब आधा वासस्थान मासिदिने खतरा छ । त्यसैले चोरीसिकारसँगै वासस्थान व्यवस्थापनलाई पनि सरकारले ध्यान दिनुप¥यो ।