विषादी प्रयोग हानिकारकमात्र हैन, लाभप्रद कीटपतंग, माहुरी, भँवरा, चराचुरुंगी, पशुपन्छी र हामी आफैंलाई पनि विषको फन्दामा पार्न थालेका छौं ।

हाम्रो जीवन सहअस्तित्वको जीवन हो । आफू बाचौं र अरूलाई पनि बचाऔं भन्ने सिद्धान्तमा अड्न सकेनौं भने हामी आफैं अड्न सक्दैनौं, टिक्न सक्दैनौं– पृथ्वीभित्रको परिवेशमा । यसको उदाहरण कीटनाशक विषादीको अत्यधिक प्रयोग पनि हो । हाम्रो बालीनाली, साग–तरकारी, फलफूल आदि कृषि उत्पादनमा लाग्ने विभिन्न रोगव्याधि, कीरा–फट्याँग्रा , लाभ्रे, झुस्ले, खुम्रे, गवारो, सुलसुलेलाई निर्मूल गर्न नयाँ–नयाँ कडा विषादीको प्रयोग गर्ने कृषि पद्धतिबाट हामीले अरू प्राणीसँगको सहअस्तित्वको कडी कमजोर बनाउँदै छौं । विषादी प्रयोगले हानिकारकमात्र हैन, लाभप्रद कीटपतंग, माहुरी, भँवरा, चराचुरुंगी, पशुपन्छी र हामी आफैंलाई पनि विषको फन्दामा पार्न थालेका छौं । मानिसले सन् १९३९ ताका डिडिटी नामक सर्वथा नयाँ रासायनिक पदार्थ निर्माण ग¥यो, जसले वरदान दियो उसैलाई भस्म गर्छु भन्ने भस्मासुरको रूपमा डिडिटी स्थापित हुन थाल्यो । त्यसको कहालीलाग्दो कहानी सन १९६२ मा उपन्यासकार रासेल कार्सनले उजागार गरिन् । ‘मौन वसन्त’ ९क्ष्भिलत क्उचष्लन० नामक उक्त पुस्तकले अमेरिकी जनमानसमा ठूलो तहल्का मच्चायो । कालान्तरमा सरकारले त्यस रसायनको प्रयोगमा प्रतिबन्ध लगाउनुप¥यो । त्यसका साथै वातावरण संरक्षणका निम्ति छुट्टै निकाय स्थापना गर्न पनि अमेरिकी सरकार बाध्य भयो  ।

रासेल कार्सनको नाटकीय प्रस्तुतिमा भविष्यको वसन्तलाई यसरी प्रस्तुत गरिएको छ– ‘अचम्मलाग्दो सन्नाटा छायो । कहाँ गए होलान् ती चरा ? धेरैले चासो उठाए, कुराकानी गर्न थाले, अचम्म मानेर चिन्ता गर्न थाले । आफ्नै घरपछाडि चरालाई ख्वाउन भनेर अहारा राखिएको ठाउँ उजाड छ, सुनसान छ । यदाकदा देखिने चरा पनि बिरामी परेका छन् । थरथर काँप्छन् मात्र । उड्न सक्दैनन् । कतै कुनै स्वर वा आवाज नसुनिने मौन वसन्तको आगमन भएछ । ढुकुर, धोबी, फिस्टे आदि सयौं चराका सामुहिक चिरबिरले गुञ्जायमान हुने झिसमिसे बिहानीमा सन्नाटा छाएको छ । कतै कुनै आवाज छैन । खेत, बारी, चहुर, वन, पाखा र पानीका सिमसार सबैतिर जताततै मौनताको राज छ ।’

रासेल कार्सनले अमेरिकाको त्यो दर्दनाक वर्णन गरिरहँदा नेपालमा औलो उन्मूलन गर्नका लागि डिडिटीको अत्यधिक प्रयोग भइरहेको थियो । त्यो कार्यक्रम लागु गर्न अमेरिकी सहायता नियोग नै जुटेको थियो । कत्रो विडम्बना !

वि.सं. २०१७ भन्दा पहिलेको नेपालमा खेतीपाती गर्दा चाहे मधेस होस् वा पहाड जताततै प्रांगारिक मल प्रयोग गरिन्थ्यो र विषादीरहित बाली भिœयाइन्थ्यो । मलप्राप्तिका र खनजोतका लागि किसानहरू पशुपालन गर्थे । कृषिबाली र पशुपालनको अन्योन्याश्रित सम्बन्ध थियो । कालान्तरमा कृषि विकास र पशुपालनको बाटो छुट्टियो । फलस्वरूप आज हामीले खाने तरकारी फलफूलका विषादीले हामीलाई नै खाइरहेको छ । मासु, दूध र अन्डा पनि कृत्रिम रसायन र विषादीमुक्त छैनन् । नयाँ–नयाँ रोग पालेर मानिस थला परेका छन् । किसान आतंकित छन् किनभने उनीहरूलाई देखाइएको विकासको बाटो विषादीको बाटो थियो, उपभोक्ता आतंकित छन् किनभने विष नभएको फलफूल तरकारी बजारमा पाइनै छाड्यो । किसान विषादीसँग खेल्दैछन् र विषादी तिनको जीवनसँग । कीराफट्याँग्रा र तिनका झुस्ले कीरा मार्ने कीटनाशक विषादी, बालीनालीलाई हानि पु¥याउने सबै जीवात्मालाई मार्ने विषादी पेस्टिसाइड, बालीनालीमा रोग ल्याउने ढुसी आदि नष्ट गर्ने फन्जिसाइड, बालीनालीलाई बोटैमा खाइदिने मुसा आदि जनावर मार्ने रोडेन्टिसाइड आदि विभिन्न विषादी हामीले कहिल्यै नसुनेका रसायनिक नाम र तिनका ट्रेडमार्कमा बिक्ने गरेका छन् । डिडिटीकै कुरा गर्दा आज यो शब्द दिदी–बहिनी जस्तै सुनिन्छ । यसको वास्तविक नाम डाइल्कोरो–डाइफिनाइल–ट्राइक्लोरोइथेन हो । यो प्रतिबन्धित विषादीमा पर्न आउँछ तर बजारमा सजिलै किनबेच भइरहेको पाइन्छ । यो कृत्रिम रसायनिक पदार्थ सड्दैन, गल्दैन । यसले कीरा मार्छ तर आफू कहिल्यै नासिँदैन । पशुपन्छीले खाने आहारा, फलफूलबाट विभिन्न प्राणीको शरीरभित्र प्रवेश गर्छ । तिनको दूध र मासुको खपतबाट हाम्रो शरीरमा पनि ती विषादी सञ्चय हुन थाल्छन् । एक जमाना थियो, डिडिटी बोसोमा नभेटिने अमेरिकन अलास्काका इस्किमोजमात्र थिए । वातावरणका एक प्राणीको शरीरबाट अरू प्राणी र वनस्पतिमा स्थानान्तरण हुने तर कहिल्यै नाश नहुने वा नाश हुन लामो अवधि लाग्ने यस्ता प्रदूषणकारी पदार्थलाई पप् अर्थात पर्सिस्टेन्ट अर्गानिक पोलुटान्ट भन्ने अन्तर्राष्ट्रिय मान्यता पाएको छ । सन् १९९५ मा स्वीडेनको स्कटहोममा सम्पन्न सम्मेलनले डिडिटीलगायत १२ वटा विषादीलाई प्रतिबन्ध लगाएको थियो । ती विषादी नेपालमा पनि प्रतिबन्धित छन् । उन्नत बाली, उन्नत बीउ र उन्नत कृषि प्रणालीसँग जोडिएर यस्ता विषादी हाम्रा गाउँ–गाउँमा बग्रेल्ती पाइने अवस्था छ । जहाँ तरकारी पुग्यो, जहाँ व्यावसायिक कृषि पुग्न सक्यो, त्यहाँ विषादी पनि पुगेको छ । रासायनिक मल र कीटनाशक एवं अन्य विषादी प्रयोग नभएको बाली उत्पादन विरलै भइसक्यो ।

रसायन र विषादी प्रयोग नभएको परम्परागत कृषि प्रणालीलाई आज–भोलि अर्गानिक भन्न थालिएको छ । अर्गानिक खेती किसानीको भविष्य राम्रो छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा उक्त कुरालाई निकै महŒवका साथ प्रकट गरे । सिक्किम राज्यलाई नै अर्गानिक राज्यको रूपमा सफलता प्राप्त हुन थालेको प्रसंग नेपालका लागि उत्साह थप्ने उदाहरण हो ।

नेपाली किसानले बालीनालीको रोग हटाउन स्थानीय परम्परागत तरिका अपनाउने गरेका थिए । ती ज्ञान–विज्ञान र प्रविधि अझै बिलाइसकेका छैनन् । यथाशिघ्र तिनलाई पुनःस्थापित गराउन आधुनिक अनुसन्धानले पहल गर्नुपर्ने अवस्था छ । नेपाल सरकारको कृषि विभागले एकीकृत बाली संरक्षण प्रविधिको प्रचार–प्रसार गर्न थालेको पनि बीसौं वर्ष भइसक्यो तर त्यस कार्यक्रमलाई संस्थागत ढंगले कृषि आन्दोलनकै रूपमा अघि बढाउनुपर्छ । हाम्रो वातावरणमा कृषकका मित्र कीरा पनि थुप्रै छन् । तिनलाई चिन्नुपर्छ । तिनको स्वभावलाई जान्नुपर्छ । माकुरा, बारुला, गाइनेकीरा, आँखा फोडुवा, टिकेकीरा, जूनकीरी, कुमालकोटीलगायत थुप्रै मित्र हाम्रै खेतबारीमा छन् । तिनलाई विषादीबाट बचाउनुपर्छ र बाली नाश गर्ने अन्य कीराफट्याँग्राको नियन्त्रण गर्न प्रयोग गर्नुपर्छ । यस्तै प्रकारले विभिन्नथरिका चराचुरुंगी पनि बाली संरक्षणमा काम आउँछन् । रातमा लाटोकोसेरो र दिनमा चिबे चराले रुंगेको बाली राम्रो हुन्छ । उड्ने कीरा पकड्दै खाने थुप्रै प्रकारका फ्लाइक्याचर चरा नेपालमा पाइन्छ । तिनका अतिरिक्त सर्प, भ्यागुता, गड्यौला आदिले किसानलाई लगाउने गुण पनि बिर्सन हुँदैन । बालीमा कडा रसायनिक विषादी छर्नाले यी विभिन्न जीवात्मालाई हानि–नोक्सानी पु¥याउँदै छ । अन्ततोगत्वा सबैभन्दा बढी नोक्सान मान्छेलाई नै हुन्छ । त्यसैले बालीनाली सुरक्षाका वैकल्पिक तरिका खोज्नु आजको ठूलो चुनौती हो ।

रासायनिक विषादीको विकल्पमा थुप्रै वनस्पति हामीसँग छन् । बूढापाकामा निहीत ती परम्परागत ज्ञानलाई समयमै उपयोग गर्न र तिनको विकास गर्ने दिशातर्फ अनुसन्धानको थालनी हुनुपर्छ । अब ढिलो ग¥यौं भने अर्को पुस्तामा ती ज्ञान र प्रविधि लोप हुने सम्भावना धेरै छ ।

खेतबारी आसपासका फाल्तु जमिनमा हुर्कने रेन्डी (अंडेर) असुरो, करवीर (पहेंलो) केबरा तथा गाउँले वातावरणमा सजिलै हुर्कने नीम वा बकाइनो, कपुर र मसलाका बोट वाली संरक्षणमा प्रयोग हुने गरेका छन् । त्यस्तै खुर्सानीको धुलो, चिउरीको पिना, तितेपाती तथा सूर्तीका पात, बोझोको जरा पनि बाली संरक्षणमा काम लाग्ने हुन्छ । विभिन्न झारपातका खरानी, गाईगोरुको मूत्र तथा सूर्तीको झोल सामान्य प्रयोग हुने घरायसी कीटनाशक पदार्थ हुन् ।

आजभोलि नीमबाट निर्माण भएका प्राकृतिक कीटनाशक औषधि विश्व बजारमा पाउन थालिएको छ । त्यसैगरी पाइरिथ्रम नामक सेतो सूर्यमुखीको फूलबाट पनि अति उपयोगी कीटनाशक औषधि बनेको छ ।

नेपाल सरकार वनस्पति विभागले सम्वत २०२५÷३० सालताका पाइथ्रमलाई जडीबुटीको रूपमा खेती गरिएको थियो । काठमाडौं उपत्यकाको शिवपुरी र मणिचुडका वनस्पति फार्ममा निकै फस्टाएको पनि थियो । यसको फूल सुकाएर त्यसलाई रसायनले प्रशोधन गर्ने प्रविधि पनि स्थापित भइसकेको थियो तर कृत्रिम कीटनाशकको बजारमा यो टिक्न सकेन र त्यसबेलाको कृषि विकासको नजरमा वनस्पति कीटनाशक पदार्थ प्राथमिकतामा आउने अवस्था पनि थिएन । तर, अहिलेको अवस्थामा पाइरिथ्रमलाई पुनः खेती गर्न सकिन्छ । उत्पादन गर्न सकिन्छ ।

अन्त्यमा,
नेपालजस्तो जैविक विविधताले सम्पन्न देशमा बाली संरक्षण गर्न जैविक प्रविधिको सम्भावनालाई पहिल्याउनु पर्छ । किसानले अन्नबाली, तरकारी, फलफूलका साथै बाली संरक्षणमा काम लाग्ने वनस्पतिको खेती गर्नु लाभप्रद हुन्छ । वानस्पतिक कीटनाशक औषधिको व्यावसायिक खेती र औद्योगिक उत्पादनतर्फ उन्मुख हुन एकीकृत वैज्ञानिक अनुसन्धान थालनी गर्न ढिलो गर्न हुँदैन ।

बर्ष १३, अंक ८, भदौ २०७१