हिमालय पर्वतराजको निर्माणक्रममा उत्तरी भाग चुलिएर विश्वकै सर्वोच्च पर्वतमाला वन्न पुग्यो । त्यस प्रकृयामा हिमालको काखमा महाभारत र महाभारतको काखमा चरिया अर्थात सिवालिक समानान्तर श्रेणीका रूपमा सिर्जना भए । सवभन्दा होंचो कद भएको चुरे(२५००–३०० मिटर¬) को काँधमा हिमाल र महाभारततिरबाट वाढी,पहिरो,नदी र वर्षाले बगाउँदै, लडाउँदै,गुडाउँदै ल्याएका चट्टान,पत्थर,गोग्रान,वालुवा र माटो थेग्रीएर जमोठ बन्यो । चुरेबाट पनि लड्दै गुड्दै नदीनाला र वर्षासंगै दक्षिण लागेका पाषाणी पदार्थहरू मध्ये ठुलाठुला पत्थर चट्टान धेरै टाढा गुढन सकेनन र फेदिमै थग्रिए । कम ओजनका साना ढुंगा पत्थर अलिक पर पुगेर थाके । मसिना वालुवा र माटो भने तलसम्म पुगेर तराईको समथर भूमि निर्माण गर्न सफल भए । चुरेको फेदीवाट दक्षिणतिर लगभग चारकोशको भूभागमा ठूला पत्थर, गोग्रान जमेर त्यहाँ पनि नजम्ने भाबर क्षेत्र निर्माण भयो । भावर क्षेत्रमा घनावन, घाँसे मैदान लगायत झाडीबुट्यानको बिभिन्न उद्भिद स्थापित भए । त्यस क्षेत्रलाई चारकोशे झाडी भनियो । भावर र तराईमा घना वन र वनस्पतिका साथमा बिभिन्न वन्यजन्तु, पशुपंक्षी, र अन्य प्राणीहरू पनि स्वभाविक रूपले स्थापित भएर जैविक बिविधताको भण्डार कायम रह्यो । सम्म परेको धरातल,पानी र वर्षाको मनसुनी वरदान,उष्ण प्रदेशीय सौर्य शक्ति आदि कारणबाट तराई भावर र चुरे ठूला कदका वन्यजन्तु,(बाघ,हाक्ति, गैडा आदि), ठूलै कदका बृक्षहरू(साल,सिमल, टाँटरी आदि) र उच्च कदका घाँसे मैदान(ढड्डी,नर्कट आदि) का लागि उपयुक्त हुन पुग्यो ।

चरेको उत्तरतिर पनि ठाउँ ठाउँमा समथर उपत्यकाहरू निर्माण भएका छन । जस्तै दाङ–देउखुरी र चितवन । त्यस क्षेत्रमा पनि भावर र तराईकै जैविक बिबिधता स्थापित छन । जैविक बिबिधताको दृष्टिले चुरे, मधेश,भावर र तराई(चुमभात)लाई एक संयुक्त इकाईका रूपमा हेर्न सकिन्छ । तर यस इकाईको मेरुदण्ड भन्नु चुरेनै हो भन्ने कुरा भने भुल्न हुदैन ।

चमभात क्षेत्रको जैविक विविधताको द्योतक प्राणी पाटेबाघ हो । जुन जंगलमा बाघ छ त्यहाँ बाघभन्दा धेरै हरिण, चित्तल, वाह्सिंगा,लगुना आदि तृणाहारी पशु धेरै हुन्छन । तीनै तृणाहारीको सापेक्षमा घाँस र घाँसे मैदान पनि यथेष्ट हुन्छन । घाँसे मैदानमा अघाएपछि सवै वन्यजन्तुलाई रक्षा, सुरक्षा, आराम र अरू दिन चरियाका लागि वन, वुट्यान, सिमसार,धोल र नदी नालाको आवश्यकता पर्दछ ।वन जंगल कायम हुन विभिन्न पशुपंछी, कीटपतङ्ग, कमिला,धमिरा,जुनकिरी, भँवरा, माहुरी,बारुला आदिका समेत भूमिका आवश्यक रहन्छ । त्यस्तै सर्प, विच्छी,अंजिगर, गोही र गोमन पनि वन्य प्राणालीसँगै आवद्ध हुन्छन । तसर्थ बाघ एक तर विविधा अनेक हुने कुरालाई मध्यनजरमा राखेर बाघलाई हेर्नु वान्छनीय हुन्छ । बाघको वखानबाट‘चुमभात’को वैभव उजागर हुन्छ । तराई भूपरिधि जस्ता संरक्षण कार्यक्रमले पनि वस्तुत बाघको वासस्थान विस्तार गर्ने गराउने दिशातर्फ ध्यान केन्द्रीत गर्ने गरेको छ ।

चुमभातको वैभव कति विशाल थियो भन्ने अनुमान लगाउन वाघ शिकारका वर्णनहरू पर्याप्त हुन्छन । नेपालको ईतिहासमा श्री ३ जंग बहादुर राणा जस्तो बाघमारा र हाक्ति खेदा अरू कोही भेटिदैन । त्यसकासाथै सुगौली सन्धिपछि नेपालको भूगोलमा एक गज जमिन थप्न सक्ने अरू बहादुर पनि भेटिएको छैन । जंग बहादुरलेनै जोडेको नयाँ मुलुक हालको वाँके, बर्दिया, कैलाली र कंचनपुर जिल्लाका जैविक वैभव उनकै बाघ शिकारका वर्णनहरूबाट उजागर हुन्छ । उदाहरणका लागि वेलायतका प्रिन्स–अफ–वेल्स ‘अल्वर्ट एड्वाडर््स’को शिकार उल्लेख गर्न सकिन्छ । डा. हर्क गुरुङको सन १९६६को यात्रा वृतान्त(सन१९८०)मा सन १८७६ को त्यो शिकारबारे उल्लेख छ । त्यहाँ भनिएको छ प्रिन्सले मात्र १४ वटा वाघको शिकार गरेको थियो । हाल कंचनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्षमा १४ वटा वाघ छैन । सन २००१ मा मात्र ८ वटा वाघ गणना भएको थियो । वन मासियो वाघ विलायो ।

श्री ३ जंगवहादुरको वन्दावस्तिमा सम्पन्न प्रिन्स अफ वेल्स को शिकारवारे पुरुषोत्तम शमशेर जबराद्धारा लिखित श्री ३ हरूको तथ्य वृतान्त नामक पुस्तकको दोस्रो संस्करण २०५९ मा यस्तो लेखिएको छ–‘पे्रmबुअरी २१ ता.देखिनै प्रिन्सको शिकार शुरु भयो । सोही दिन सवेरै प्रिन्सले एक वाघ मारे । सो वाघ ९ फिट ७ ईन्च लामो थियो । सोही दिन वेलुकिपख शारदा नदीको टापुको वनमा ६÷७ वटा वाघलाई ८ सयवटा हात्तिले घेराभित्र पारी राखेको सूचना जंगले पाएबाट प्रिन्सलाई साथ लिई जंग त्यस ठाउँमा पुगे । करिव २ घण्टाको बीचमा ५ वटा वाघ मारे । ८ सय वटा हात्तिले शारदा नदी तरेको दृष्यको अवलोकन करीव आधा घण्टासम्म गरी प्रिन्स मुग्ध भए ।’

हात्तिको यत्रो ठूलो जमात पनि नेपालकै तराई भाबरको उपज हुनुपर्छ । कालोनेल कर्क पाष्ट्रिक( ऋययिलभ िपष्चपउबतचष्अप) ले सन १७९३ को आफ्नो नेपाल यात्रा विवरणमा चितवनको चुरे पहाड सोमेश्वरदेखि पूर्वमा कोशी सम्मको तराई–भाबर क्षेत्रबाट प्रत्येक वर्ष २००–३०० जंगली हात्ति पक्रेर राज्यले आम्दानी बढाउने गरेको कुरा उल्लेख छ । उ वेला झन नेपालको वनमा कत्रो धन थियो होला अनुमान लगाउन सकिन्छ । श्री ३ जंग बहादुरले बि.सं. १९१८, तदनुसार सन १८६१ ई. शिकारमा २१ वटा हात्ति पक्राउमा पारे भने ३१ वाघ, २७ जरायो, १ गैंडा, १ अंजिगर, ११ अर्ना, १० बँदेल, ११ गोही, २२ चित्तल, ४ भालु , ३ चितुवा आदि मारेको विवरण श्री ३ हरूको तथ्य वृतान्तमा पढन पाइन्छ । सोही वृतान्तमा अर्का बाघ माराको रूपमा श्री ३ जुद्धलाई औंलाउन सकिन्छ । उनले सन १९३२ तदनुसार बि.सं. १९८९ सालमा नवलपुरको शिकारमा ४१ बाघ, १३ गैंडा र अरू थुप्रै जनावर मारेको पनि पढ्न पाउँछौं । एकै शिकारमा सवैभन्दा धेरै बाघ मार्ने किर्तिमान अर्का अंग्रजी पाहुना लर्ड लिन्लिथ्गो(ीयचम ीष्लष्तिजनयध) ले स्थापित गरे । उनले १ सय २० बाघ, ३८ गैंडा, १५ भालु, २७ चितुवा लगायत थुप्रै अरू प्राणीलाई पनि आफ्नो निशाना बनाए । मात्र ७५ वर्ष पहिलेको त्यो कुरा आजभोली दन्त्य कथा जस्तो लाग्न थालेको छ । किनभने औलो उन्मूलनपछि अर्थात लामखुट्टेहरूलाई समाप्त गरेपछि सन १९६० को दशकबाट तराई मधेशमा मानिसको ओइरो थाल्यो । झोराकाण्डहरू, बर्मेलीनेपालीको वसोवास,पुनर्वास कम्पनीको बिगबिगी, जनमत संग्रहको विध्वंसकारी कृयाकलाप, भुटानी शरणार्थीका निम्ति क्याम्पहरू, माओवादीका लडाकु क्याम्पहरू, मुक्त कमैया र सुकुम्बासीहरूको चाप आदि कारणबाट तराई–भाबर र मधेशको जैविक विविधता र वन विनाशका कथाहरू र व्यथाहरू मौलाउदै गयो । जैविक विविधताका थोर बहुत नमुना जोगाईराख्नु पर्ने राष्ट्रिय एव अन्तर्राष्ट्रिय राय , सुझाव , सल्लाह र दवाव लगायत अर्थिक एवं प्राविधिक सहयोग समेतबाट केही संरक्षित क्षेत्रहरूको व्यवस्था हुन गयो । शुक्लाफाँटा, बर्दिया, वाँके, चितवन, पर्सा र काशीटप्पुमा संरक्षण कार्यहरू सम्पन्न हुन थाल्यो । त्यस्तै गरेर अन्तर्राष्ट्रिय महत्वका सिमसार पनि ‘चुमभात’ क्षेत्रमा मौजुद भएकाले घोडाघोडी ताल, जगदिशपुर रिजभ्र्वायार, बीस हजारी ताल र कोशीटप्पुका जलाशयहरू पनि संरक्षणका दायरा भित्र पर्न गयो । यि संरक्षित क्षेत्र भित्र र त्यसभन्दा वाहिरका सामुदायिक एवं राष्ट्रिय वनहरू अझै पनि जैविक विविधताले भरिपूर्ण छ । तिनको संरक्षण गरिनुपर्छ ।

चुरे–मधेश–तराई र भावरका वनहरूको विविधतालाई केलायौ भने प्रष्ट रूपमा १० विभिन्न प्रकारका वन भेटिन्छ । ति मध्ये सालको वन, खयरसिसौको वन, हर्रा–वर्राको वन, सिमलको वन, चाँप–टुनी–दवदवेको वन आदि उल्लेखनीय छन । ठाउँ बिशेष अनुसार सालसंग मिश्रित सतिसाल, विजयसाल, साज, पानी साज, कुसुम,कुम्भी, पलाँस, जामुन, वेल , सल्ला, चिलौने, कटुस आदि सवैलाई मिलाएर बृक्ष प्रजातिको संख्या १२५ पुग्न आउँछ । घाँसे मैदान पनि अनेकथरीका भेटिन्छन । कहिं दूवो र सिरु जस्ता होँचा घाँसका मैदान छन भने कहिँ हात्ति डुब्ने ढड्डी र नरकट घारी छन । यस प्रकार १० बिभिन्न प्रकारका घाँसे मैदानमा ५० भन्दा बढी प्रजातिका घाँसहरू तराई भावरमा पाईन्छ । कहिं कुशको प्रचुरता छ भने कहीं खसखसको त कही मोथेको । जडिवुटीको हिसावले पनि ‘चुमभात’ धनी छ । सर्पगन्धा, सतावरी, पिपला, भ्याकुर , वनतुलसी लगायत सयौं औषधियुक्त वनस्पति यस क्षेत्रमा पाईन्छ । तर ति अब दुर्लभ भइसकेको अवस्था छ ।
पुनश्च,

जैविक विविधताको गौरव गाथा श्री ३ जंग बहादुरदेखि श्री ३ जुद्ध शमशेरको शिकार विवरणहरूमा पाउँछौं । र त्यो एकादेशको दन्त्यकथा जस्तो लाग्न थालेको छ । किनभने वातावरण विनाशलाई धेरै अवधि लाग्दैन । सन १९६० को दशकमा जव औलो उन्मूलन भयो र लामखुट्टे निर्मूल भए त्यसपछि २००७ सालले ल्याएको परिवर्तनवाट राजनैतिक, आर्थिक, सामाजिक चलखेलमा जमिन, जंगल र जललाई दाउमा राखेर जनसंख्याको अप्रत्यासित बृद्धितिर राष्ट्र अग्रसर भयो । अवैध शिकार, काठ तस्करी, वन अतिक्रमण तथा अवैध वसोवासले गर्दा तराई, भावर र मधेशको वातावरण विकराल वन्न थाल्यो । त्यसमा थप विकराल चुरे र भावरको ढुंगा, गिट्टी , रोडा र वालुवा ओसार्ने क्रमबाट सिर्जन थालेको छ । यही क्रम कायम रह्यो भने वातावरणीय प्रकोप धेरै टाढा छैन भन्ने बुझे हुन्छ । समय झनै खेरनफालेर सरकारलाई साथ दिन सकेन भने चुरे बिनासको खेल रोकिदैन । त्यसबाट जैविक विविधता र वातावरणमात्र हैन हाम्रै आफ्नो अस्तित्व पनि खतरामा पर्न जान्छ । यो भविष्यवाणि हैन भोलीको वास्तविकता हो ।

बर्ष १३, अंक ७, साउन २०७१