अतिथि कालरात्रि तिथि बाँधेर आउँदैन न त ढोलक बजाएर नै आउँछ ।

हाका–हाकीको विशेष रिपोर्ट ‘साउनको त्यो कालरात्रि’ कुनै तिथि मिति नतोकेर आएको अतिथि कालरात्रि थियो । तिथि मिति तोकेर आश्विन शुक्ल अष्टमीमा आउने कालरात्रि पनि १६ गते नै आँउदै छ । सिन्धुपाल्चोकको त्यो कालरात्रिमा १ सय ५६ जनाले ज्यान गुमाए । त्यस कालरात्रिको पूर्वतयारी गर्न सकिएन । त्यस्को पूर्वतयारीमा कसैको चासो रहेन । दसैंको काम कालरात्रिका लागि जसरी देश समाज र सरकारले पूर्व तयारी गर्छ त्यसरी नै अतिथि बनेर आउने कालरात्रिहरूको पनि पूर्वतयारी, पूर्वाभास गर्न सकेको भए जनधनको त्यो नोक्सानी हुने थिएन । बाढी पहिरोले मौसम मिलाएर आउने वायु ‘मनसुन’ सँग हातेमालो गर्छ । प्रत्येक वर्ष यस्ता घटना घट्दछन् । सयौं मानिसले ज्यान गुमाउँछन् । गाउँ डुब्छ । त्यसपछि मनसुन सेलाउँछ । तिथि–मिति बाँधेर चाँडपर्व आउँछन् । दसैं आउँछ । सबै दुःख–कष्ट बिर्साएर जान्छ ।

बाढी पहिरो र झरीकै माझ तिथिमिति तोकेर यो वर्षको तीज आयो । महिनौं अगाडिदेखि तीजको तयारीमा महिला–पुरूष सबै जुटे । चुरा, पोते, गरगहना र लत्ताकपडाका बजार धेरै दिन पहिलेबाट भट्किलो रूपमा प्रकट थियो । तीजको व्रतमा दिनभर निराहार बस्न पूर्वतयारीको रूपमा दर खाने–खुवाउने चलन छ । तीजको तिथिमा दरखान माइत आएकी छोरी र दुई नातिनीसहितलाई पहिरोले खाइदियो पर्वत जिल्लाको कुश्मा नगरपालिकामा । तीजको तयारी पहिल्यै थियो होला तर पहिरो पल्टेला भन्ने हेक्का राख्न भ्याइएन ।

तीजकै बेला सिन्धुपाल्चोकको मांखा गाविस, स्याङ्जाको पुतलीबजार नगरपालिका र म्याग्दीमा ठूलै जनधनको क्षति भयो । तराईका जिल्ला जलमग्न भए । कैयौं गाउँ डुबानमा परे । पुल भत्किए र राजमार्ग अवरूद्ध भयो । तर, तीजको रौनकमा त्यसले केही असर पारेन । दिदी–बहिनी कम्मर भाँची–भाँची नाचे । तीजले परम्परा धानेर गयो ।

बाढी–पहिरो र डुबानले मध्यपश्चिमका धेरै जिल्ला विशेष गरेर दाङ, सुर्खेत, बाँके र बर्दियामा सयौंको ज्यान गयो, सयौं अझै बेपत्ता छन्, हजारौं परिवार विस्थापित भएका छन् । बर्दिया जिल्लामा मात्र ९० हजारभन्दा बढी विस्थापित छन् । विचलित छन् । सुदूरपश्चिममा कृष्णसार संरक्षित क्षेत्रबाट पचासौं कृष्णसार बाढीले बगायो । विपत्तिका व्यथाले सञ्चारमाध्यमलाई छोपिरहेका बेला तिथि मिति बाँधेर भदौ १७ मा गौरापर्व आइपुग्यो । त्यस्को पनि भव्य तयारी थियो । पूर्व तयारीअनुसार नै राजधानीको टुँडिखेलमा देउडा नाचियो । सुदूरपश्चिम र मध्यपश्चिमका माननीय सांसद देउडामा सरिक भए । छापामा छापिए । टेलिभिजनमा टाँगिए । रेडियोमा घन्किए । हामीले साउन १७ लाई बिर्सियौं । चाडपर्वमा नेपाली नरनारीको यो मस्ति देखेपछि हामी राजधानीमा कुनै शराबीको संसारमा पो छौं कि जस्तो भान पर्न थाल्यो । ‘साकी कि हर निगाहपे वलखाके पिगया, रहमतको वात वातमे वहलाके पि गया’ भने झैं राष्ट्रिय विपद्लाई पनि बहलाएर मस्तीमा डुब्ने चरित्र निर्माण हुन थालेको अनुभव भयो । यो कहालिलाग्दो छ । डरलाग्दो छ । यसले सार्वभौम चेतनामा प्रश्न खडा गर्न सक्छ ।

अब दशैं हाम्रा दैलोमा आइपुगेको छ, ढोलक बजाइ–बजाइ, त्यस्तो पूर्व तयारी अपूर्व तरिकाले हुने गर्छ । भदौ लाग्दालाग्दै राजधानी भित्रिने खसीबोकाको तथ्यांक सार्वजनिक थियो । खरिद बिक्री संघले ४० हजार, माछामासु व्यवसायिले, १२ हजार र खाद्य संस्थानले ३५०० गरि ५५ हजार ५ सय खसीबोका भित्राउने तयारी गरेको रहेछ । राँगा भैसी, च्यांग्रा, भेडा, हाँस, कुखुरा आदिको हिसावै छैन । जे होस यो वर्ष कालरात्रिमा पनि काली प्रसन्न हुने देखियो । लत्ताकपडा, जुत्ता, भाँड (वर्तन र विद्युुतीय माल–सामानका ट्रक सयौंको संख्यामा खासातिर लाम लागेर बसेको अवस्था छ । सुनकोसीबाट विस्थापित गरेर गाउँ–बस्तीका मानिसको पुनस्र्थापनामा भन्दा बढी चासो ट्रयाक खुलाउनमा र बाटो चलाउनमा केन्द्रित देखियो । दसैंलाई लक्षित गरेर काठमाडौंमा बडेमानका विशालबजार भटाभट उद्घाटन हुँदैछन् । मानवसागरै त्यहाँ खनिन थालेको प्रतीत हुन्छ । दसैंको चहल–पहलले बाटो हिँडिसक्नु छैन । सवारी राख्ने ठाउँ छैन । ट्राफिकजाम झन्–झन् बढी रहेको छ । आकाशमा चंगा देखा पर्न थाले । बादल फाट्न थालेको अवस्था छ । टोलटोलमा जिरा–मसला पिँध्ने मेसिनको चर्को आवाज लोडसेडिङ नभएसम्म चलिरहन्छ, रोकिँदैन । मसलाको मगमगी टाढैबाट सुँघ्न पाइन्छ ।

दसैं खर्च र दसैं पेस्कीमा तँछाडमछाड छ । बैंक र एटिएम सबैतिर भिड छ । व्यापारी एवं व्यवसायी दसैं लुट्न तैनाथ छन् । अभाव सिर्जना गर्ने र भाउ बढाउने योजना पूर्वनिर्धारित समयतालिका बमोजिम चल्दैछन् । यी सबै कुरा देखेपछि कसले भन्ला नेपालमा भर्खरैको बाढी–पहिरोको राष्ट्रिय विपत्ति आलै छ भनेर ? कहाँ दुख्छ ती घाउ पत्ता लगाउन पनि गाह्रो छ ।

दसैंपछि तिहार पनि तिथिमिति बाँधेरै आउँछ तर अतिथिको रूपमा आउने अतिवृष्टि, बाढीपहिरो पनि चहाड पर्वजस्तै बर्सेनि आउने गरेकै छ । ऋतुचक्रअनुसार मौसमी वर्षा मनसुनको नामले त्यो आउँछ । कृषिबालीका लागि आउने यो अमृत ठाउँअनुसार मृत्यु बनेर बर्सने गर्दछ । हामी पहिरो र बाढीको प्रकोपमा पर्दछौं तर प्रकोप व्यवस्थापनको हामी पूर्व तयारी गर्न सक्दैनौं । तीज, गौरा, ईन्द्रजात्रा, दसैं र तिहारको पूर्वतयारी भव्यताका साथ गर्न सिपालु हामी नेपाली प्रकोप व्यवस्थापनको पूर्वतयारीमा किन चुक्छौं ? र, प्रकोपपछि राहत कार्यमा दिल खोलेर सहयोग गर्ने संघ, संस्था र व्यक्तिलाई प्रकोप रोकथामको पूर्वतयारीमा संलग्न हुने परिस्थिति किन सिर्जना हुँदैन ? विचारणीय कुरा छ ।

हाम्रो पर्वतीय स्वरूप र यस्को धरातल अस्थिर छ भन्ने जगजाहेर छ । मधेस–तराईमा बाढी, पहाडमा पहिरो र हिमालतिर हिमताल विष्फोटको खतराबारेमा कैयौं अध्ययन र अनुसन्धान भइसकेका छन् । सन् १९८० अर्थात् आजभन्दा ३४ वर्षपहिले नै वन मन्त्रालयअन्तर्गत भू–संरक्षण एवं जलाधार व्यवस्थापन विभागले सम्पूर्ण नेपालको भूस्वरूप (ीबलम गलष्तक) र तिनको जलाधार अवस्थाबारे विवरण प्रकाशित गरेको थियो । डि भोन नेल्सनन, पिटर लावान, विष्णुदास श्रेष्ठ र जिपि कँडेलद्वारा लिखित उक्त प्रतिवेदनले भूस्वरूप र भूउपयोगबारे आधारभूत जानकारी प्रस्तुत गर्दछ । यस्तैगरी एलआर एमपी (ीबलम च्भकयगचअभ mबउउष्लन एचयवभअत)ले सन १९८६ मा गरेको भूउपयोगका विस्तृत नक्सा प्रकोप क्षेत्र ठम्याउने महŒवपूर्ण आधार बन्नसक्छ, यदि हामी नेपालको प्राकृतिक प्रकोप जोखिम नक्सा बनाउन चाहन्छौं भने । नेपालको पर्वतीय प्रकोपका सम्भाव्य क्षेत्रको नक्सांकन परियोजना सन् १९७८ अर्थात् आजभन्दा ३६ वर्ष पहिल्यै नमूनाको रूपमा कननी क्षेत्रबाट सुरू गरिएको थियो । त्यसको अवशेष कहाँ छ, अहिले थाहा छैन ।

यसैगरी नेपालको पर्वतीय स्वरूपमा भू–स्थायित्व, भू–क्षय तथा प्राकृतिक प्रकोपबारे थुप्रै अनुसन्धान भइसकेका छन्, भइरहेका छन् । तिनका उपादेयताको असफल र दुखान्त व्यथाको कथा पनि हो, वर्तमानका बाढी–पहिरोका प्रकोप । विज्ञहरूका विचार, रचना र लेखहरू प्रायः अंग्रेजी वा अन्य युरोपेली भाषामा लेखिने र प्राज्ञिक जमातभित्र कुण्ठित हुने गरेको स्थलगत व्यावहारिक कार्यमा त्यस्तो उपयोग हुन कठिन पर्छ । उदाहरणस्वरूप कास्कीको अर्मलामा परेको भ्वाङलाई लिन सकिन्छ । विज्ञहरूले त्यो प्रकोपको भय पहिले नै व्यक्त गरिसकेको भन्ने कुरा विपत्ति परेपछि मात्रै थाहा भयो । हालैको सुनकोसी घटना पनि अप्रत्यासित थिएन भन्ने कुरा प्राध्यापक डा. नरेन्द्रराज खनालको लेखबाट प्रष्ट हुन्छ । विज्ञ र विशेषज्ञको भूमिका अध्ययन–अनुसन्धान र प्रतिवेदनमा मात्र सीमित नगरेर जनस्तरसम्म जनताका पाइलाको संसारसम्म प्रसार–प्रचार हुन आवश्यक छ भन्ने दृष्टान्त साउन १६ को त्यो कालरात्रिले प्रस्ट्याएको छ ।

यस वर्षको बाढीपहिरोको प्रकोपले सरकारलाई अलि बढी संवेदनशील बनाएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा ४१ सदस्यीय बाढीपीडित राहत, उद्धार र पुनस्र्थापना उच्चस्तरीय समिति गठन भएको छ । प्रकोप न्यूनीकरणको दीर्घकालीन योजना कार्यान्वयन गर्न र समग्र नेपालको भूगर्भिक अध्ययन गरेर बस्न नहुने क्षेत्र अध्ययन गरी सम्बन्धित स्थानका जनताको उचित पुनर्बासको व्यवस्था गर्ने छ भन्ने कुरा सार्वजनिक भएको छ । त्यसको अतिरिक्त संसदीय समितिले पनि स्थानीय विकास मन्त्रालयलाई आवासीय क्षेत्र, सेवा, सहरी विकास क्षेत्र, बस बिसौनी, अस्पताल, सडक र बगैंचा कहाँ–कहाँ विकास गर्न सकिन्छ भन्ने यकिन योजना बनाउन निर्देशन दिएको छ । यो विषय ज्यादै जटिल छ र यसको निम्ति प्रभावकारी प्राविधिक एवं वैज्ञानिक संयन्त्र आवश्यक पर्छ । यसलाई सबै गाविसको सहयोग आवश्यक हुन्छ । यसपालिको विजया टीका लगाएलगत्तै केन्द्रीय सरकार तथा प्रत्येक गाविसले आफ्नो पाइतालाको संसार कति सुरक्षित छ र तिनलाई कसरी सुरक्षित राख्ने भन्ने पूर्वतयारी थालनी गर्नुपर्छ किनभने अतिथि कालरात्रि तिथि बाँधेर आउँदैन न त ढोलक बजाएर नै आउँछ । अस्तु ।
-डा. तीर्थबहादुर श्रेष्ठ

बर्ष १३, अंक ९,असोज २०७१