विश्व जलवायु परिवर्तनको उपलक्ष्यमा हाम्रो राष्ट्रिय वातावरणीय अनुकूलनको लक्ष्यप्राप्तिमा हाम्रो प्रयास केन्द्रित गर्नसक्नु आजको माग हो ।

ब्रम्हाण्डभरिका ग्रहगण तारामध्ये जीवात्मा भएका प्राणी र वनस्पतिलाई समेत पालेर बस्ने ग्रह पृथ्वीमात्र हो । आज सम्मको हाम्रो अध्ययन र अनुसन्धानले त्यही भन्ने गरेको छ । यहाँ अनेकौं थरी जीवात्माले बास गर्छन् । जलचर, स्थलचर र नभचर सबैका जीवन आधार आ–आफ्नै बासस्थान हुन् । वातावरण हुन् । चार अर्ब पुरानो यस पृथ्वीको इतिहासले भन्दछ कि यहाँको वातावरण, यहाँको जलवायु र यहाँका बासस्थानमा निरन्तर परिवर्तन आइरहन्छ । परिवर्तनसँग आत्मसात गर्ने प्राणी वा वनस्पति आ–आफ्नो अनुकूलन क्षमताअनुसार विकास हुँदै जान्छन् । विस्तार हुँदै जान्छन् । परिवर्तनसँग परिवर्तन हुन नसक्नेहरू लोप हुन्छन् । अस्तित्वका लागि संघर्ष र संघर्षका विजेताहरू नै आजसम्म बाँचेका छन् ।

विशाल भीमकाय भएका डाइनोसर लोप भएर गए तर तिनकै दौंतरी छेपारा पृथ्वीमा सल्बलाउँदै छन् । जीव अवशेषका अनुसन्धाताले सावित गरेकै कुरा हो कि हामी मानव जाति बानरका बंशबाट परिवर्तन हुँदै आफ्नो प्रकृति र परिवेशसँग अनुकूलको व्यवहार र स्वभाव विकसित गर्दै आजको अवस्थामा आइपुगेका हौं । परिवर्तनको सिलसिला जारी छ तर अब आउँदो परिवर्तनको प्रकृति बेग्लै खालको हुन्छ । परिवर्तनको समयावधि लामो हुँदैन । किनभने हामीले पृथ्वीको वायुमण्डलमा परिवर्तन ल्याउँदैछौं । त्यसको तापमान बढाउँदैछौं र त्यो परिवर्तनलाई नयाँ गति दिँदैछौं । हामीले खपत गर्ने इन्धन र ऊर्जाले वायुमण्डल शिघ्रादी शिघ्र प्रदूषण हुने क्रियाकलाप कम गर्न सकेका छैनौं । रोक्न सकेका छैनौं । फलस्वरूप जलवायुमा परिवर्तन देखिन थालिसकेको छ ।

त्यही परिवर्तनलाई आत्मसात गरेर आफ्नो भविष्य सुनिश्चित र सुरक्षित गर्न विभिन्न उपाय खोज गर्दा अनुकूलनको अवधारणा चर्चामा आउन थालेको छ । र, नेपालले पनि राष्ट्रिय अनुकूलन कार्यक्रम तर्जुमा गरी त्यसलाई कार्यान्वयन गर्दै आएको छ ।

अनुकूलन के हो ?
अनुकूलनलाई परिभाषित गर्दा हामीले भन्नुपर्छ कि आफ्नो परिस्थिति र वरिपरिको वातावरणसँग मिलेर सोहीअनुरूप आफंैले आफूलाई वातावरणसम्मत बनाउने प्रवृत्ति नै अनुकूलन हो । आफ्नो अस्थित्व जोगाउन प्राणीहरूले कस्ता–कस्ता अनुकूलनका उपाय अबलम्बन गरे भन्ने थुप्रै रोचक उदाहरण छन् । अनुकूलनको निरन्तर प्रयासमा अग्लो रुखको डाले घाँस टिप्न सफल भएको उदाहरण लामो गर्धनको विकास गर्ने जिराफले प्रस्तुत गर्छ । गाईवस्तु र हरिणले जस्तै जमिनको घाँसमात्रले पुग्दो हो त जिराफ जिराफ बन्ने थिएन ।

आपसी द्वन्द्वलाई समाधान गर्ने अनुकूलनका उपाय पनि प्रसस्त भेटिन्छन् जीवप्राणी एवं वनस्पतिका संसारमा । बेलायतको सामुद्रिक किनारमा बस्ने दुई प्रजातिका जलकौवाको अनुकूलन क्षमता यस्तै रोचक छ । यी दुवै चराले गुँड लगाउने क्षमता पनि उही छ र तिनले चारा छोप्ने क्षेत्र पनि उही छ । तर, तिनमा द्वन्द्व छैन । किनभने एकथरीले अति भिरालो र असजिलो कापमा गुँडको सिपको विकास ग¥यो र त्यो सँग अरूले प्रतिस्पर्धा गर्नसक्ने कुरै भएन । त्यस्तै गरेर एकथरिले पानीभित्र डुबुल्की मारेर समुद्रभित्रको माछा मार्ने सीपको विकास ग¥यो भने अर्कोले सतहमा उफ्रिने माछा टिप्ने विकास ग¥यो । द्वन्द्वलाई टार्दै जाने अनुकूलनकमा उपायहरू यस्तै पशुपन्छीबाट मानिसले सिक्नुपर्छ ।

शत्रुबाट बच्न छेपाराहरू आफ्नो रङ बदल्न सिपालु हुन्छ भन्ने कुरा हामीले सुनेका छौं । देखेको छौं । त्यस्तै धानबालीमा हरियो घाँसको रूपमा बस्ने भुँडिफोर फट्यांग्रा आफै सुरक्षित छ । शत्रुले तिनलाई ठम्याउन गाह्रो पर्छ । त्यस्तै हेर्दा काठकै छेस्का जस्तो देखिने सिटक इन्सेक्टलाई झाडीभित्र कसले ठम्याउने ? वन भित्र चहार्ने पुतलीमध्ये एक प्रजातिको पँखेटा त ठ्याक्कै सुकेको पात जस्तो हुन्छ । जमीनमा बस्दा तीनलाई कस्ले चिन्ने ? प्रकृतिका यी उदाहरणबाट अनुकूलनका पाठ सिक्न सकिन्छ । तर हामीले भुल्न हुँदैन कि उपरोक्त प्राणीलाई अनुकूलनको निम्ति सयौं मात्र हैन हजारौं वर्ष प्राप्त थियो । हामीलाई त्यस्तो दीर्घ अवधी प्राप्त छैन । वर्तमानको परिवर्तन यहि जुनीमा भोग्नपर्ने अवस्था छ । समय छोटो छ र छिट्टै अनुकूलन बन्न सक्ने उपायहरू खोजिनुपर्छ । ढिला गर्नु हुँदैन ।

अनुकूलनको नेपाली पक्ष
नेपाली जनजिब्रोका निम्ति अनुकूलन एउटा नौलो शब्द भए पनि व्यवहारले त्यसो भन्दैन । नेपालीको विभिन्न परिस्थितिसँग जुधेर आफूले आफैलाई वातावरणसम्मत बनाउने क्षमता उल्लेखनीय छ । हाम्रा जनजातिहरूले निर्माण गरेका घरहरू हे¥यौं भने जस्तै जाडो पनि थेग्न सक्ने देखिन्छ । अती वर्षा हुने कास्की तिरका गुरुङका घर र उपत्यकामा बन्ने नेवारका घर वा पूर्वीय क्षेत्रका किराँती घर सबै आ–आफ्नै बान्की र विशेषतामा निर्माण भएका हुन् । घरका छाना हेर्नासाथ त्यहाँ कति पानी पर्दछ भनेर । घरका भित्ताले त्यहाँको तापक्रम बताउँछ । प्रत्येक झ्यालढोकाले हावाहुरी र बतासको वर्णन गर्छ ।

उभौली–उधौली र लेकबेसीसँग एकै समय आत्मसात गर्ने क्षमता र विषम परिस्थितिसँग जुध्ने क्षमताका कारण रणभूमिमा गोर्खाली सेनाको विशेषता र पर्वतारोहणमा शेर्पाहरूको विशिष्टता जगजाहेर छ । तर गरिबीले थोपरेको विषम परिस्थितिले सिर्जने समस्याले जलवायु परिवर्तनसँग अनुकूलन हुने क्षमतालाई प्रतिकूल प्रभाव पार्ने गरेको छ । यस सन्दर्भमा एउटा पुरानो संझनालाई यहाँ कोट्याउन मन लागेको छ । त्यो भनेको मकालु–वरुण क्षेत्रमा रुखभालुको अध्ययन गर्ने सिलसिलामा एउटा गाउँले केटोको अनुकूलन रणनीतिको सम्झना । लगभग १४÷१५ वर्षको गोठालो केटो । हाम्रो पथप्रदर्शक पनि थिए उनी । झुत्रो उनको टोपी । फाटेको बख्खु । टाँक लगाउन नमिल्ने । गर्दन, हातगोडा, नाडी र पाखुरा मयलको पत्र जमेर कालै देखिने । हेर्दै फोहोरी लाग्ने । त्यस उसले उनलाई नुहाउने सल्लाह दियौं । जंगलको बास । थुप्रै काठ दाउरा । मनग्ये आगो बालेर तातो पानीले हातगोडा धोयौं । उनलाई पनि साबुन दियौं । केटोले नुहाउन त के हात गर्दन सफा गर्न मानेन । उनले भने, नुहायो भने ज्वरो आएर दुई दिनमा मर्छ । शायद निमोनियाको संकेत गर्दै थियो । लेकाली चिसोबाट उसलाई बचाउने काम मयलको पत्रले गरिरहेको बुझ्यौं । उसले नुहाउने ठाउँ त तल वरुण दोभानको औलो क्षेत्रमा पर्दो रहेछ । त्यहाँ जाडो हुँदैन । गर्मी लाग्छ । औलोमा नुहाउने र लेकमा मयल पाल्ने त्यो अनुकूलनको रणनीतिले हामीलाई रणभुल्लै बनायो ।

यिनै गोठाला केटाहरू उच्च लेकाली भागमा भेडा, च्यांग्रा र चौरी चराउँदै हिँड्छन् । भीरपाखामा खोरिया खन्छन् । मकै रोप्छन् । मकै भाँच्छन् । औलो झरेर धानबाली पनि काट्न भ्याउँछन् । पृथ्वीभरिका विभिन्न जलवायुका कटिबद्धहरू (उष्ण, उपउष्ण, समशीतोष्ण, लेकाली र धु्रविय जलवायु) सँग अनुकूलन गर्ने यीनका क्षमता उदाहरणीय क्षमता हो । नेपालमा हामीले अनुकूलन कार्यक्रम संचालन गर्दा नेपालीहरूमा नीहित परम्परागत क्षमतालाई बिर्सेर सर्वथा नयाँ विधि र तरिका भित्राउनु उचित हुँदैन । त्यसले अनुकूलन हैन, प्रतिकूल नतिजा ल्याउन सक्छ । समुदायमा आधारित कार्यक्रमले पारिस्थितीक प्रणाली भित्रको बाध्यतालाई आत्मसाथ गरेर कार्यक्रमलाई अगाडि बढाउनु उचित हुन्छ ।

वर्तमानले संकेत गरेको जलवायु परिवर्तनले जीविकोपार्जन र स्वास्थ्य समस्या मात्र हैन प्राकृतिक प्रकोपको सामना गर्नुपर्ने स्थिति पनि टड्कारो छ । हालैको सुनकोसी बाढी पहिरो, बबईको बाढी र त्यस्तै केही वर्ष पहिलेको सेती तथा महाकालीको प्रकोप, कास्की अर्मलाको भ्वाङ, खुम्बुको हिमताल विस्फोट वा सप्तकोसीको बाढी सबैले सयौंको ज्यान लियो र ठूलो धनजनको नोक्सान भयो । यस्ता प्रकोपजन्य घटना र दुर्घटनाका लागि राष्ट्रले वृहत् क्षमता बढाउनुपर्छ । पूर्वानुमान, पूर्व सूचना प्रणाली, उद्धार व्यवस्थापन, विस्थापितको पुनव्र्यवस्थापन आदि समग्र कुरामा राष्ट्रिय अनुकूलन पद्धतिको विकास गर्नुपर्दछ । विगत १५÷२० वर्षदेखि हरेक जाडोको महिनामा सयौं तराईबासी नेपाली शीतलहरबाट मर्ने गरेका छन् । शीतलहर अनुकूलन व्यवस्थापन गर्नु राष्ट्रिय अनुकूलन कार्यक्रमभित्र पर्नुपर्ने कुरा हो ।

संक्षेपमा भन्नुपर्दा विश्व जलवायु परिवर्तनको उपलक्ष्यमा हाम्रो राष्ट्रिय वातावरणीय अनुकूलनको लक्ष्यप्राप्तिमा हाम्रो प्रयास केन्द्रित गर्नसक्नु आजको माग हो ।
-डा. तीर्थबहादुर श्रेष्ठ
बर्ष १३, अंक १०,कार्तिक२०७१