वायु प्रदूषणको जुन गतिले काठमाडौंलाई प्रहार गर्दैछ, त्यसको परिणति भयावह हुन्छ भन्ने चेत अझै खुलेको अवस्था छैन । कुरा हुँदैछ, काम भएको अनुभूति कतै देखिँदैन ।

प्रदूषणको पर्याय बनेको काठमाडौंमा हामी बसेका छौं । बाँचेका छौं । यहाँको जल प्रदूषित छ । बोतलको पानी किनेर खानुपर्छ । खोला, नाला, धारा, इनार, कुवा वा मूलको पानी पनि सुरक्षित लाग्दैन । सहर, चोक बजार र बाटाघाटामा फोहोरका थुप्रा यत्रतत्र भेटिन्छन् । प्रदूषणले नपिरोलेको सार्वजनिकस्थल बिरलै भेटिन्छ । हामीले स्वास फेर्ने वायु अझ बढी प्रदूषित छ । बेलाबखत छानामा परेको आकाशको पानी थाप्यौं भने कालोझोल प्राप्त हुन्छ । त्यसलाई जम्मा गर्दा अलकत्रे खोटो लेदो हात पर्छ । त्यसैले आकाशको पानी जम्मा गर्ने बेलामा १०–१५ मिनेटको वर्षापछि झर्ने पानीमात्र जम्मा गर्ने गरेको छु । हाम्रो आकाश विश्व प्रदूषण र क्षेत्रीय प्रदूषणका कारण अति मैलो छ । न निलो आकाश देख्न पाउँछौं, न सेतो हिमाल नै हाम्रो नसिबमा छ । प्रत्येक दिन चम्कने गणेश हिमाल लाङटाङ र गौरीशंकर अचेल प्रदूषित हावाको घुम्टोभित्र लुकेर हामीलाई जिस्क्याइरहेको छ । सूर्य विचरा लाचार छ । प्रदूषित वायुमण्डल मुस्किलले छिचोलेर हाम्रो क्षेत्रलाई घमाइलो बनाइरहेको छ । प्रदूषित हुस्सुको बाक्लो तहले त्यही घाम पनि ताप्न धौ–धौ हुन्छ जाडोको याममा, मिनपचासका महिनामा । कचौरा आकारको यो उपत्यकाको आकाश पनि शुद्ध छैन ।

प्रदूषणका कारण
जल, स्थल वायु प्रकाश र आकाशका प्रदूषणमात्र चर्चाका विषय बन्ने गरेका छन् । तिनको व्यवस्थापन, नियमन र नियन्त्रण सम्भव भइरहेको छैन । सन् १९९१ को जनगणनाले १० लाख जनसंख्या बताइरहँदा यस उपत्यकाको सहरी विकासलाई नियमन र नियन्त्रण गर्नुपर्छ भन्ने सरकारी चासो, राष्ट्रिय योजना आयोगको नीति र रणनीति उपत्यकाको विकासका विषयमा बनेका योजना र गुरुयोजना सबै थन्केर बसेका छन् । जेसुकै होस् ‘देखा जाएगा’ भन्ने बानी बसालेर भौतिक विकास र निर्माणलाई तीव्रता दिइँदैछ । यातायातका साधन दिनदिनै थपिँदै छन् । ट्राफिकजाम र धुवाँको मुस्लो बढ्याबढ्यै छ । यी सबै कुराका कहालिलाग्दो अंक र तथ्यांक पनि हावामा नै उडेर प्रदूषणका कणसँग खेल्दैखेल्दै रमाउँछन् । आखिर कहिलेसम्म ? त्यसको लेखाजोखा चासो र चर्चा अझ हुन सकेको छैन । बेवास्ता गरी बस्ने ‘इन्डिफिरेन्स’ को संस्कार काठमाडौंको नियति बनेको अवस्था छ । हामीले सास फेर्ने हावालाई प्रदूषित बनाउने विभिन्न विषादी वायु तथा धुलो धुवाँका कणबारे विश्वका सबै सहर तथा सहरी विकास चनाखो बनिसकेको अवस्था छ । वायु प्रदूषणका ती तŒव के हुन् र कहाँबाट उत्पन्न हुन्छ, सबैलाई थाहा छ । तिनको मूलस्रोत भन्नु नै सवारीसाधन तथा उद्योगधन्धामा प्रयोग हुने इन्धनको खपत हो । पेट्रोल, डिजेल, एलपी ग्यास, कोइला, दाउरा आदि इन्धनबाट ऊर्जा प्राप्त गर्दा प्रदूषणका कण उत्पादन हुन्छन् । तीमध्ये सार्वजनिक चासोमा पर्ने ६ प्रकारका प्रदूषण तŒवहरूलाई पहिल्याउनुपर्छ वायु प्रदूषणलाई बुझ्ने हो भने ।

धुलो र धुवाँका कण
विकास–निर्माणका हरेक कामबाट धुलो र धुवाँ उत्पादन हुन्छ । सडक यातायात त्यो पनि विशेष गरेर कालोपत्रे नगरेको सडकबाट सवारीसाधन गुड्दा धुलो र धुवाँ अत्यधिक उत्पादन हुन्छ । भौतिक निर्माणका विभिन्न गतिविधिबाट हाम्रो हावा निरन्तर प्रदूषित भइरहेको छ । सिमेन्टभट्टी वा सिमेन्ट कारखानाको झन् बेग्लै कुरा भयो । सुक्खा मौसमको हावाहुरी र बतासले विभिन्न ठाउँबाट प्रदूषणका कण बोकेर ल्याउँछ । यस्ता कण जति सानो भयो उति हानिकारक हुन्छन् । १० माइक्रोमिटरभन्दा साना कणलाई पिएम १०, अझ त्यसभन्दा मसिनो अर्थात् २.५ माइक्रोनभन्दा पनि मसिनो पिएम २.५ कण बढी हानिकारक मानिन्छ । त्यस्ता सूक्ष्म कणलाई नाकका रौं वा हामीले लगाउने मास्कले रोक्न सक्दैन । सजिलै फोक्सोसम्म पुग्ने हुन्छ । सिँगान वा खकारले तिनलाई त्याग्न मिल्दैन । प्रत्येक स्वासप्रस्वासमा तिनको प्रवेशबाट फोक्सोमा फोहोर जम्न जान्छ । त्यो फोहोर फ्याँक्ने उपाय हाम्रो शरीरको रचना र संरचनाभित्र पनि पर्दैन । तसर्थ धुवाँ र धुलोसँग होसियार रहनुबाहेक अरू विकल्प छैन ।

नाइट्रोजन अक्साइड वायु
हाम्रो हावामा ७८ प्रतिशत नाइट्रोजन हुन्छ र २९ प्रतिशत अक्सिजन हुन्छ । नाइट्रोजनले कुनै हानि गर्दैन । अक्सिजन त प्राणवायु नै भयो । तर, यी दुई वायुको रासायनिक संयोगले बन्ने नाइट्रोजनअक्साइड फोक्सोका लागि ज्यादै हानिकारक हुन्छ । सवारीसाधनमा इन्धन खपत हुँदा एवं उद्योगमा इन्धन प्रयोग हँुदा यो विषादी वायु र यिनका अन्य परिवर्तित स्वरूप उत्सर्जन हुन्छन् । ती ज्यादै खतरापूर्ण तŒव हुन् । जसले हाम्रो स्वासप्रस्वाससँग भित्र–बाहिर गर्छ ।

ओजोन
यो वायु अक्सिजनको विकृत रूप हो । अक्सिजनको प्रत्येक कणमा दुई परमाणु हुन्छन् । रसायन शास्त्रमा त्यसलाई अंकित गर्दा इद्द लेखिन्छ । मानवीय चलखेलका कारण वातावरणीय अक्सिजन विकृत बनेर ओजोनको रूप धारण ग¥यो भने त्यो विषादी बन्दछ । विशेषगरेर नाइट्रस अक्साइडबाट प्रदूषित वायूलाई सूर्य प्रकाशले अन्य हाइड्रोकार्बन रसायनसँग समिश्रण गराएपछि यो विषादी वायुको निर्माण हुन्छ । यसलाई हाम्रो नजरले ठम्याउन सक्दैन । चकमन्न घाम लागेको अवसरमा यसको उपस्थिति धेरै हुन्छ । वायुमण्डलको माथि स्ट्रयाटोस्फियर तहमा ओजोनको ओड्ने ओडेर पृथ्वी सुरक्षित छ । त्यो ओजोन तह नहुँदो हो त पृथ्वीका प्राणी सबै विनाश भइसक्ने थिए । त्यही उपकारी ओजोन पृथ्वी सतहमा भने हानिकारक बन्छ ।

सल्फरडाइअक्साइड (क्इद्द)
पेट्रोल, डिजेल, कोइला आदि इन्धन बल्ने वा बाल्ने काम भएपछि यो विषाक्त वायुको जन्म हुन्छ । विशेष गरेर उद्योगधन्दामा प्रयोग हुने इन्धनबाट सल्फरडाइअक्साइड बन्न पुग्छ । सल्फर भनेको गन्धक हो र गन्धक तŒवमा अक्सिजन मिलेर यो वायु निर्माण हुन्छ । हावामा रहँदा यसले अरू रासायनिक प्रक्रियाद्वारा एसिडको निर्माण गर्छ । अत्यधिक औद्योगिक विकास गरेका क्षेत्रमा त्यहाँको वायुले एसिड वर्षा गराउँछ । केही दशकपहिले युरोपमा एसिड वर्षाले निकै पिरोलेको थियो । धातुले बनेका इमारत वा सालिक यसले बिगार्न थालेको थियो । सुकाएको कपडा पनि प्वाल पर्ने स्थिति आएको थियो । विभिन्न साँस्कृतिक धरोहर नष्ट हुन थालेका थिए । भारतमा एसिड वर्षाको खतराबाट ताजमहल जोगाउन धेरै प्रयास भएको छ । काठमाडौं उपत्यकामा यसको प्रकोप अहिलेसम्म न्यून छ । यहाँका डाँडाकाँडामा सल्बलाउने जुका जुन दिन देखिन छोड्छ, त्यो बेला एसिड वर्षा प्रारम्भ भयो भनेर बुझे हुन्छ ।

कार्बनमोनोअक्साइड (ऋइ)
कार्बनको एउटा अणुसँग अक्सिजनको एउटैमात्र अणु मिलेर यो विषादी वायु बन्न पुग्छ । कोइला, दाउरा वा अन्य इन्धन (ग्यास, पेट्रोल, मट्टीतेल र डिजेल) पूरा भष्म भएर जल्न नपाएको अवस्थाले यो वायु निर्माण हुन्छ । जाडोको महिनामा झ्यालढोका बन्द गरेर कोठमा आगो ननिभाइ सुत्ने मानिस मर्ने गरेको घटना हामी बेलाबखत सुन्ने गर्छौं । तिनको मृत्युको मूलकारण कार्बनमोनोअक्साइड हो । यो वायुको कुनै गन्ध हुँदैन । स्वाद हुँदैन । देख्न पनि सकिँदैन । यसले रक्ततŒव हेमोग्लोबिनलाई असक्त बनाएर मानिसको ज्यान लिन्छ । त्यसैले कोठाभित्र ब्रिकेट बालेर, कोइला जलाएर, ग्यास वा मट्टीतेल हिटर बालेर वा यसै दाउरा सल्काएर सुत्यौं र त्यहाँ झ्यालढोका पनि बन्द भएको अवस्था छ भने सुतेको सुत्यै प्राण जान्छ । त्यसैले होसियारी र चनाखो हुनुपर्छ ।

हाइड्रोकार्बन
प्रदूषणका अन्य वायुमा हाइड्रोकार्बन पदार्थ पनि पर्न आउँछ । पेट्रोलियम, बेन्जिन आदिबाट उत्सर्जन हुने वायुमध्ये हाइड्रोकार्बन पनि पर्छ । हाइड्रोजन र कार्बनको संयोजन भएर पैदा हुने यस्ता पदार्थ खनिज इन्धनको खपतबाट उत्सर्जन हुन्छन् । यिनले स्वास्थ्यलाई निकै हानि–नोक्सानी पु¥याउँछन् । क्यान्सरजस्ता प्राणघातक रोग पनि यिनले निम्त्याउन सक्छन् ।

वायुमा हुने उपरोक्त प्रदूषण तŒवका साथमा त्यहाँ पानीको कण र कार्बनका कण मौजुद हुन्छन् । कार्बन कणको उपस्थितिले वायुमण्डलमा उष्णता बढाउँछ । हाम्रो देशको सन्दर्भमा कार्बनका कणले गर्दा उच्च हिमाली क्षेत्रमा तापमान बढ्न गएको र हिउँलाई यी कणले छिट्टै पगाल्ने गरेको संकेत देखा पर्न थालेका छन् । छिमेकी मुलुकका औद्योगिक विकासले प्रदूषित वायु हाम्रो तराईमा शीतलहर बनेर जनधनको नोक्सान गर्न थालेको छ भने हिमाली क्षेत्रमा ब्राउनक्लाउड बनेर हिमाल पगाल्न तम्सेको अवस्था छ । वायु प्रदूषणका यी संकेत सम्पूर्ण नेपालका लागि खतरापूर्ण छ । काठमाडौंको त कुरै भएन ।

वायु प्रदूषणको जुन गतिले काठमाडौंलाई प्रहार गर्दैछ, त्यसको परिणति भयावह हुन्छ भन्ने चेत अझै खुलेको अवस्था छैन । यसबारे छिटफुट अध्ययन, अनुसन्धान र प्रतिवेदन हुन थालेको तीन दशकभन्दा पनि बढी भइसक्यो । कुरा हुँदैछ, काम भएको अनुभूति कतै देखिँदैन । दाताले डो¥याएको बाटोमात्र हिँड्ने बानी लागेको नेपाली विकासको गतिलाई विश्व उष्णीकरणको चपेटाले गर्दा काठमाडौंको वातावरणतिर सम्बन्धित निकायको ध्यान ओझेल पर्न थालेको छ । क्षणिक श्रृंगारपटारमा अद्भूत चमत्कारी प्रदर्शन गर्न माहिर नेपालीले बेलायती महारानीलाई नेपाल भ्रमणको बेला खुसी पारेकै थियो । दक्षिण एसियाली राष्ट्रको शिखर सम्मेलन सार्कले पनि त्यही चमत्कारिता देखाउला तर काठमाडौं कहिले सप्रिने ?
-डा. तीर्थबहादुर श्रेष्ठ