चुरे क्षेत्रको जलवायुलाई सन्तुलन राख्न सक्यौं भने त्यसले नेपालको तराई र भारत तथा बंगलादेशको समथर भू–भागलाई पनि सकारात्मक पर्यावरणीय सेवा पु¥याउँछ भन्ने कुरा हामीले बिर्सन हुँदैन ।

मेरो स्मृतिपलटमा कोरिएका चुरेका तस्बिरलाई उघारी हेर्दा, २०२२ सालमा धनगढीबाट डोटी निस्कँदा घना सालको वनले ढाकिएको चारकोसे झाडी र तेलपानी उक्लेपछिको घना सल्लाघारी नजरमा चढ्न थाल्छ । त्यस्तै २०२० सालतिरको चितवनलाई सम्झँदा लोपोन्मुख हुन थालेका गैंडा बचाऊउन्मुख गैंडा गस्ती सैनिक जवान, तिनले बरामद गरेका गाडा र गैंडाका खाग पनि बिर्सिनसक्नु हुन्छ । जताततै वन अतिक्रमणका दृश्य अझै ताजा छन् । फुसका झुपडी एक झुन्डपछि अर्को झुन्ड, फेदमा बोक्रा काटेर गहिरो घाउको गोलो मालाले घेरिएर ठिंग उभिएर सुक्न बसेका विशाल वृक्षका ताँती आँखा बिझाउँदा थिए । उता पूर्वी तराईमा २०२७ सालताका रतुवामाई पच्छ्याँदै चुलाचुलीका घाँचघाँचसम्म पुग्दा घाँसेमैदान घनावन र वनभरि धनेश उडेको पनि सम्झन्छु । चुलाचुलीमा छातेउन्यू, थाकलघारी, सर्पगन्धा बुटी र सुनाखरीको प्रचुरताले वनस्पति कर्मचारीलाई विशेष प्रभाव पार्ने नै भयो ।

समयको फेरबदलमा २०२९ देखि ०३२–३३ सालसम्म प्रत्येक वर्ष राजा वीरेन्द्रको विकास क्षेत्रको भ्रमणमा साथ दिने अवसर मिल्न गयो । त्यो अवसर भनेको हेलिकोप्टर चढेर हवाई दृष्टिले नेपाल हेर्नु र देख्नु पनि थियो । त्यो बेलाका चार विकास क्षेत्रमा सबैभन्दा सग्लो वनले ढाकेको चुरेभावर र तराई सुदूरपश्चिमको भागमा टड्कारो थियो । पूर्वाञ्चलको चुरेभावर भने अतिक्रमणको चपेटामा थियो । जताततै झोराकाण्ड । आजित थिए वन कर्मचारी, वस्ती उठाउँदा उठाउँदै । नेपालको राष्ट्रिय मूलनीति थियो, पूर्व–पश्चिम राजमार्गको उत्तरतिर वन कायम राख्ने, दक्षिणतिर बस्ती बसाउने । त्यही नीतिमा टेकेर आवादी गरी बसेका सुकुम्बासी एवं विभिन्न पञ्चनेताका हुकुमबासीलाई राजमार्ग दक्षिणका वनमा खोजीखोजी बसोबास गराउने क्रम चल्न थाल्यो । फलस्वरूप दक्षिणका वन साफ भइसकेकै थियो र उत्तरतिर पनि अतिक्रमण भए । वन र बसोबास मूल मुद्दा थियो । गिट्टी–बालुवा र रोडाका मुद्दा जन्मिसकेका थिएनन् । वन्यजन्तु संरक्षणका लागि भने जोडतोड थियो । स्थानीय समुदाय र निकुञ्ज कर्मचारी एवं सुरक्षा सैनिकबीचको द्वन्द्व बढ्दै थियो ।

चुरे भावर र मधेस तथा तराईका वन्यजन्तुको सम्पन्न इतिहास हाका–हाकीको साउन अंक (२०७१) मा थोरबहुत चर्चा भइसक्यो । त्यही सम्पन्न इतिहासका अवशेष बोकेर पनि हाम्रा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, संरक्षित क्षेत्र एवं सिमसार अझै विश्वसम्पदा एवं अन्तर्राष्ट्रिय महŒव बोकेका रामसार क्षेत्रका रूपमा सुपरिचित छन् । युनेस्कोको विश्वसम्पदा सूचीमा परेको चितवन राष्ट्रिय निकुञ्ज प्राकृतिक धरोहरको रूपमा र लुम्बिनी सांस्कृतिक धरोहरको रूपमा विश्व परिचित छन् । त्यस्तै विश्वका अति संवेदनशील सिमसारका रूपमा रामसार महाससन्धिअनुरूप रामसार सूचीमा उल्लेखित कोसीटप्पु, बीसहजारी ताल (चितवन), घोडाघोडी ताल (कैलाली), जगदीशपुर जलाशय (कपिलवस्तु) ले नेपालको चुरे क्षेत्रको पारिस्थितिक सेवालाई विश्वभर नै विस्तार गरेको छ । यी सिमसारहरू क्षेत्रफलको दृष्टिले सानै भए पनि तिनले पु¥याउने सेवा ठूलो छ ।

कोसीटप्पु वन्यजन्तु आरक्ष १७५ वर्ग किमीमात्र छ । तर, त्यहाँ ४ सय ९० प्रजातिका चरा पाइन्छन् । त्यहाँ आउने अतिथि पन्छी साइबेरिया देखि उडेर आउँछन् र श्रीलंकासम्म ओहोरदोहोर गर्छन् । यो उनीहरूको वार्षिकी उभौली–उधौली हो । जाडोमा अति जाडो हुने साइबेरिया र उष्ण जलवायुको टापु श्रीलंका चहार्ने यी पन्छीलाई वर्तमानमा बढ्दै गएको पृथ्वीको तापक्रमले कस्तो प्रभाव पार्छ, त्यो थाहा छैन । जलवायु परिवर्तनको यथार्थ यी बसाइँ सर्ने पन्छीको दैनिकीको कथा र व्यथामा प्रतिबिम्बित हुन्छ भन्नेमा दुईमत नहोला । हाम्रा सिमसारमा यिनको आवागमन र गतिविधि नियाल्यौं भने परिवर्तनका संकेत सजिलै देखिएला ।

प्रजातिको हिसाबले कोसीटप्पु यसै सम्पन्न छ । त्यसका साथै पन्छीका बगालमा अधिक पन्क्षी देखिने ठाउँ पनि कोसी नै हो । पुस माघको जाडो छल्न यहाँ सुइरोपुच्छ«े हाँस दसौं हजारमा आइपुग्छन् । यिनीहरू पानीमा बस्दा पानी ढाकिन्छ र आकाशमा उड्दा आकाशै ढाकिन्छ । सन् १९८१ को फरवरी १६ तारिखका दिन केही अध्येताले ५० हजार हाँसको एकै प्रजाति एकै थलोमा अवलोकन गरे । यसैगरी सिलसिले हाँसको बगालमा हामी पुग्यौं भने तिनले कोलाहल नै मच्चाउँछन् । विभिन्न अरू हाँस प्रजातिको संख्या २० पनि नाघ्छ । तिनमा खोया हाँस पनि पर्न आउँछ । यसले हिमाल नाघेर उडान भर्दा ८००० मिटरभन्दा अग्लो उचाइमा उड्ने क्षमता राख्छ । त्यो उचाइमा अरू जीवात्मा बाँच्ने पनि सम्भावना हुँदैन । त्यस्तै चखेवाचखेवी हजारौं किमिको यात्रा तय गरेर आउँदा जाँदा पनि तिनको जोडी छुट्टिँदैन ।

यस्तै रातो चुच्चो भएको अर्को चखेवा भने जाडोमा होइन वसन्त ऋतुतिर चहार्न आइपुग्छ । पश्चिम नेपालका सिमसार, जहाँ मानिसको आवागमन न्यून हुन्छ, त्यहाँ नकटा हाँस रमाउन पुग्छन्् । गैंडाको नाकमा सिङ पलाएझैं यिनका ठुँडोमाथि कागतीको गेडाजस्तो मासुको डल्लो पलाएको हुन्छ । पोथी हाँसमा त्यो डल्लो हुँदैन । कुनै हाँसको चुच्चो च्याप्टो र माटो खन्ने साबेल आकारको हुन्छ । चरा विशेषज्ञले तिनलाई बेल्चाठुँडे नाम दिएका छन् । हाँसमध्ये फुच्चे हरि हाँस घोडाघडी ताल र जगदीशपुर जलाशयमा आकलझुकल देखिन्छन् । यिनीहरू ज्यादै लजालु र अति डरपोक पनि हुन्छन् । एकपटकमा दुईचार जोडीभन्दा बढी भेटिँदैनन् । जगदीशपुर २२५ हेक्टर (२.२५ वर्ग किलोमिटर) को फुच्चे सिमसार भए पनि ४२ प्रजातिका पन्छीलाई ओहरदोहर गर्ने मध्यवर्ती क्षेत्रको प्लेटफर्मको काम गर्छ । घोडाघोडी ताल त्योभन्दा ठूलो २५६३ हेक्टरमा (२५.६३ वर्ग किलोमिटर) मा फैलिएको छ र त्यहाँ १४० प्रजातिका फिरन्ते पन्छीहरू विचरण गर्छन् । यहाँ विभिन्न प्रकारका माटीकोरे र माछा मार्ने चिल पल्केर बसेका हुन्छन् । तिनका अतिरिक्त विभिन्न प्रजातिका बकुल्ला र जलकौवा बस्छन् । यी सिमसारले ठुल्ठूला गरुड, गिद्ध, काकाकुल र सारस प्रजातिलाई आफ्नो अस्तित्व बचाइराख्न मद्दत गर्छन् । रामसारको सूचीमा परेको चितवनको बीसहजारी तालले जलचर, नभ र स्थलचरलाई संगम क्षेत्रको सेवा प्रदान गर्छ । विश्व जैविक विविधतालाई संरक्षण प्रदान गर्न सफल यी सिमसार चुरेको पानीमा निर्भर छन् । चुरे भावरमा पलाएका पानी नै यिनका जीवनआधार हुन् । चुरे संरक्षण भए यी सिमसारलगायत अरू सयौं सिमसार सुक्न जाने टड्कारो छ ।

हाम्रा तराईका तिनवटा राष्ट्रिय निकुञ्ज चितवन, बाँके र बर्दिया तथा शुक्लाफाँटा र पर्सा वन्यजन्तु आरक्षमा संरक्षित स्तनधारी प्राणी विश्वमा नै दुर्लभ छन् । ठूला कदका स्तनधारी हात्ती, गैंडा, गौरीगाई, अर्ना, काँडेभालु, बाह्रसिंगाको संरक्षणमा उल्लेखनीय प्रगति भएको छ । कृष्णसार संरक्षण क्षेत्र स्थापना भएबाट यो सुन्दर प्राणी लोप हुनबाट जोगिएको छ । हाम्रो कानुन र विश्व समुदायले स्थापना गरेको साइटिस अनुुसूची तथा आइयुसिएनले दुर्लभ एवं संकटापन्न कोटीमा राखेका १५ प्रजातिका स्तनधारी, ६ प्रकारका पन्छी (सारस, सेतो सारस र कालो सारस, खरमयुर, सानो खरमयुर र राजधनेश) तथा घस्रने वन्यजन्तुमध्ये अजिंगर, घडियाल गोही र सुनगोहोरो पनि तराई मधेसकै सम्पदा हुन् । विश्वसम्पदा सूचीमा परेको चितवन राष्ट्रिय निकुञ्ज चुरे र महाभारत पर्वत श्रेणीबीचमा अवस्थित मध्यप्रदेश अर्थात मधेस (दुन प्रदेश) भित्र पर्छ । २००७ सालको राजनीतिक परिवर्तन र त्यसलगत्तै औलो उन्मूलन भएपछिका दिनमा पहाडि जनसंख्याको ओइरोमा परेर चितवनबाट बाघ, हात्ती, गैंडाको बासस्थान खुम्चने क्रम तीव्र भयो । चोरी सिकारी तस्करको बिगबिगीले वन, वनस्पति, जडीबुटीलगायत वन्यजन्तु लोप हुनसक्ने स्थितिमा पुगे । वन्यजन्तु एवं प्रकृति संरक्षणमा चासो राख्ने विश्वसमुदायको सुझावयुक्त दबाब र नेपाल सरकारको लगनशीलताले सन् १९७३ (२०३० साल) मा चितवन राष्ट्रिय निकुञ्ज स्थापना भयो र त्यसको १० वर्षपछि सन् १९८३ मा विश्वसम्पदाको मान्यतासमेत प्राप्त ग¥यो । यस निकुञ्जमा गैंडाको संख्या ५०३ र वयस्क बाघको संख्या १२५ (सन् २०११ को तथ्यांक) पुगेको छ । यस निकुञ्जले बर्सेनि लगभग डेढ लाख पर्यटकलाई सेवा प्रदान गर्छ र लगभग आठ करोड रूपैयाँ आम्दानी गर्छ । त्यसको आधा हिस्सा मध्यवर्ती क्षेत्रका जनतालाई उपलब्ध गराउँछ । यो राष्ट्रिय निकुञ्ज पनि चुरेमा आश्रित छ तर यो निकुञ्ज बाँके र बर्दियाजस्तो चुरेको दक्षिणी पानीढलोमा हैन, उत्तरी पानीढलोमा पर्छ ।

हाम्रो अर्को महŒवपूर्ण विश्वसम्पदा लुम्बिनी पनि चुरेको पर्यावरणबाट प्रत्यक्ष प्रभावमा पर्ने भूभाग हो । यहाँको रैथाने सारस नेपालमा अन्त कहीं भेटिँदैन । कुनै संरक्षित क्षेत्रभित्र पनि पाइँदैन । संसारभरि उड्नसक्ने चरामध्ये सबभन्दा अग्लो पन्छी यही सारस हो ।

मेरो स्मृति पलटमा २०२० सालतिरको लुम्बिनी भन्नु मायादेवीको मन्दिर, अशोक स्तम्भ, दुईचार पीपलका बोट र बाँकी सबै धानखेतमात्र हो । बुद्धको त्यो जन्मस्थलमा अहिले पर्याप्त वन पनि छ, पानी पनि छ र सिमसार पनि छन् । हरहवा नदी (२१ वर्ग किमी जलाधार) तथा तेल र नदी बुद्ध जन्मस्थलका प्रमुख जलस्रोत हुन् । सन् १९७८ को गुरुयोजनाअनुरूप यहाँ विकास निर्माणका काम हुँदै आएको छ र सन् १९९७ बाट यो क्षेत्र विश्वसम्पदा सूचीमा समावेश छ । त्यसपछिका दिनमा यहाँ पर्यटन प्रवद्र्धन पनि उत्साहपूर्ण रूपले अघि बढ्दैछ । यी सबै काममा जनउत्साह र जनसहभागिताले ठूलो भूमिका खेल्छ । जल, जमिन, जंगल र चुरेलाई संरक्षण गर्नमा लागि परेनौं भने २६३७ वर्ष पहिले जन्मेका शिशु सिद्धार्थ पनि प्यासमा छट्पटिन्छन् ।

चुरेको वनसम्पदाको तथ्यांक र मूल्यांकन विषयक नेपाल सरकार वन अनुसन्धान तथा सर्भेक्षण विभागको प्रतिवेदन (सन् २०१४) अनुसार चुरेको क्षेत्रफल १,८९८,२६३ हेक्टरमध्ये वन क्षेत्रले ७२.३७ प्रतिशत (१,३७३,७४३ हेक्टर) भूभाग ओगटेको छ । त्यसमध्ये १६ प्रतिशत वन संरक्षित क्षेत्रभित्र र ६ प्रतिशत मध्यवर्ती क्षेत्रभित्र पर्न आउँछ । त्यस अर्थमा चुरेको ८० प्रतिशत वन व्यवस्थापनमा जनसहभागिताको टड्कारो खाँचो पर्न आउँछ । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको मूल चुनौती पनि त्यही वन व्यवस्थापनसँग गाँसिएर आउँछ । त्यसका अतिरिक्त नदी नियन्त्रण, सिमसार व्यवस्थापन एवं रोडा गिट्टी बालुवाको अनियन्त्रित दोहनको व्यवस्थापन अझ बढी महŒवपूर्ण चुनौतीको रूपमा खडा छन् ।

जैविक विविधताको गौरवपूर्ण इतिहास बोकेको मधेस चुरे र तराईका वन, वनस्पति र वन्यजन्तु अहिले आएर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षले कोरेको लक्ष्मणरेखाभित्र सीमित हुन थालेको छ । मानवसागरका बीच यस्ता टापुको अस्तित्व सम्भव हुँदैन । तिनलाई विचरण गर्ने प्राकृतिक परिवेश खुम्चियो भने आफ्नो अस्तित्वका लागि आतंक पनि मच्चाउँछन् । पूर्वी नेपालको हात्तीआतंक यसको एउटा सानो उदाहरण हो । अरू निर्धा प्राणी त यसै लोप हुनेबाहेक अरू नियतीतिर उन्मुख पनि हुन सक्दैनन् ।

हाम्रो राष्ट्रिय सम्पदा र विश्वसम्पदा समेतको संरक्षण र सुरक्षा गर्नलाई चुरेको संरक्षण र सम्बद्र्धन अपरिहार्य छ । यस क्षेत्रको जल, जमिन, जंगल र जलवायुलाई सन्तुलन राख्न सक्यौं भने त्यसले दक्षिण एसियाको उर्वरभूमि नेपालको तराई र भारत तथा बंगलादेशको समथर भू–भागलाई पनि सकारात्मक पर्यावरणीय सेवा र टेवा पु¥याउँछ भन्ने कुरा हामीले बिर्सन हुँदैन ।
-डा। तीर्थबहादुर श्रेष्ठ